उपचार खर्च जुटाउन नसकेर मिर्गौला प्रत्यारोपण हुन सकेन

काभ्रे, २७ असार । मण्डन देउपुर नगरपालिका वडा नं २, काभ्रेपलाञ्चोकका २० वर्षीय जीवनलाल रञ्जित २०७२ सालमा कक्षा ८ पास भई कक्षा ९ मा भर्ना भएका थिए ।

उनको परिवारको आर्थिक अवस्था कमजोर भएकै कारण पढ्न निकै कठिन थियो । अचानक २०७२ वैशाख १२ गते आएको भूकम्पले उनको घरसमेत भत्कियो । गोरु जोतेर परिवार चलाइरहनुभएका उनका बुबा कृष्णबहादुर रञ्जितले भूकम्पको समयमा कामलाई निरन्तरतासमेत दिन नसकेपछि जीवन पढाइलाई समेत विश्राम दिन बाध्य भए ।

त्यतिबेला १८ वर्षका उनमा घरखर्च जुटाउनुपर्ने जिम्मेवारी पनि थुप्रिएको थियो । केही समयपछि रञ्जित ठमेलस्थित एक होटलमा काम गर्न गए । काम गर्दै जाँदा कमाइ पनि राम्रै भएको थियो तर अचानक गत मंसिर महिनामा काम गर्दागर्दै उनी बेहोस भए र उनलाई उपचारका लागि वीर अस्पताल लगियो । त्यहाँ गइसकेपछि उनको दुईवटै मिर्गौलाले काम नगर्ने उपचारमा संलग्न चिकित्सकले बताए । त्यसपछि उनलाई उपचारका लागि भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा ल्याइयो ।

रञ्जितलाई मिर्गौलाको समस्या भएको थाहा भएपछि परिवारमा समेत ठूलो धक्का लागेको जीवन बताउँछन् । “पहिले त गुजारा गर्न धौ धौ थियो, पछि बुबाले पनि मेरो रेखदेखका लागि बस्नुपरेकाले आम्दानी केही भएन” – जीवनले भने । सुरुमा उपचार खर्चका लागि परिवारमा रकम नभएकाले भएको जग्गाजमिन सबै बेचेर उपचारमा खर्च गरेको जीवनले बताए । “जग्गामा बाँदर अनि बँदेल लागेर उब्जनी हुनै दिँदैनथ्यो, झनै जग्गा बेचिसकेपछि घर भएको घँडेरीबाहेक केही बाँकी छैन” – उनको दुखेसो थियो ।

जीवन पाँच वर्षको हुँदा नै उनको आमाको मृत्यु भएको थियो । बहिनी लक्ष्मी त्यतिबेला भर्खर तीन वर्षकी मात्र थिइन् । पहिलेदेखि नै उनको परिवारको आर्थिक अवस्था कमजोर भएकाले मेलापात गरेर नै गुजारा गर्नुपथ्र्यो । आमाको मृत्यु भइसकेपछि दुई सन्तानको रेखदेखका लागि बाबुले दोस्रो विवाह गर्न बाध्य भए । सानैमा आमाको मृत्यु भए पनि कान्छी आमाको मायाका कारण आफ्नीस् आमा नभएको अनुभव जीवन र लक्ष्मीलाई कहिल्यै गर्नुपरेन ।

कान्छी आमाले आफैँले सन्तान जन्माइनन् । उनीहरुलाई नै सन्तानको दर्जा दिइन् । तर उनका बुबा कृष्ण गोरु जोत्न बाहिर जाने क्रममा आमाको गाउँकै एक केटासँग अवैध सम्बन्ध रहेको खुलासा हुनाका साथै रङ्गेहात फेला पनि पारे उनका बुबाले । त्यसै कारण बाबुले केही समयपछि कान्छीआमासंग सम्बन्धविच्छेदसमेत गरे ।

सम्बन्धविच्छेदपछि जीवनकी बहिनी लक्ष्मी आफ्नी जेठी फपूको घरमा गएर पढ्न थालिन् । एक वर्षपछि उनका बुबाले फेरि अर्को विवाह गरे । तर पनि जीवन र लक्ष्मी खासै दोस्री आमासँगजस्तो राम्रो सम्बन्ध भएन । उनकी कान्छीआमाको एक छोरी छिन् ।

दाजु जीवनको दुईवटै मिर्गौलाले काम नगर्ने भएपछि लक्ष्मीले कक्षा १२ को पूरक परीक्षासमेत दिन पाइनन् । उपचारका लागि बहिनी लक्ष्मीसमेत दाजु र बुबासँगै बस्न थालिन् । सुरुमा जग्गा बेचेर खर्च चलाइरहेको परिवार पछि विभिन्न व्यक्ति तथा सङ्घघसंस्थासँग सहयोगका लागि अपिल गर्न थाल्यो । सरकारले मिर्गौला रोगीका लागि निःशुल्क उपचारको घोषणा गरिदिएपछि उनीहरुमा अब उपचार खर्च जुटाउन सहज होला कि भन्ने सास आयो र सर्वसाधारणबाट पनि सहयोग घटदै गयो । “उपचार गर्न सरकारले खर्च दिए पनि खानलाउन त आफैँले जुटाउनै प¥यो ,” जीवनका बुवा कृष्ण भन्छन्, “छोरा त उपचार गरिसकेपछि बाँच्छ, तर कामै नभएपछि अन्य परिवारलाई कसरी पाल्नु ?” पहिले पनि श्रम गरेर नै जीविका चलाइरहेको परिवार आम्दानीको कुनै स्रोत नभएपछि अहिले निकै समस्यामा छ ।

सरकारले दिने भनेको रकम सिधै आफ्नो हातमा नपरी अस्पतालमा नै बेहोरिदिने र उक्त रकम मिर्गौलाको प्रत्यारोपणपछि नै दिने भएकाले प्रत्यारोपणका लागि नै रकम जुटाउन गाह्रो भएको गुनासो उनले गरे । जीवनका बुबा कृष्णले पहिले नै अरुलाई मिर्गौला दिइसकेको हुनाले जीवनको बहिनी लक्ष्मी मृगौला दिन तयार छिन् । जीवनको मिर्गौला प्रत्यारोपणका लागि खर्च जुटाउन परिवारले विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरुलाई आह्वान गरिरहेको छ ।

चिकित्सकले पनि मिर्गौला प्रत्यारोपणका लागि रु चार लाख रकम जुटाए तत्काल प्रत्यारोपण गरिहाल्ने बताएको छ भन्छिन् बहिनी लक्ष्मी। मिर्गौलाको प्रत्यारोपण गरिहाल्न पाए आफूले जसरी पनि काम गरेर जीविका चलाउने जीवनको भनाइ छ । “मिर्गौला प्रत्यारोपण गरेपछि बहिनीलाई पनि आफैँले पाल्नुपर्छ, त्यसपछि बहिनी र परिवारको पनि रेखदेख गर्छु” – जीवनले भने ।

साथै आफूलाई उपचारका लागि सहयोग गर्न माछापुछ«े बैंकमा रहेको आफ्नो खाता नं ३७–४०–५२४–४८७६८३–०१–८ मा रकम उपलब्ध गराइदिनुहुन र आफ्नो थप सहयोगका लागि ९८२३५६७३६४ र ९८४०५४६४८५ मा सम्पर्क गर्नसमेत उनले आग्रह गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *