अस्पतालतर्फ जाँदै गरेका एम्बुलेन्सले पाएनन् बाटो

 

भक्तपुर, २२ असार । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुखदेखि भान्छे समेत एकै पटक सरुवा भएपछि काटेश्वरदेखि भक्तपुरसम्मको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार कोटेश्वर ट्राफिक कार्यालयका ट्राफिक प्रहरी निरीक्षकको नेतृत्वमा रहेका ४४ जनालाई एकै पटक सरुवा गरेपछि आज बिहानैदेखि यहाँको ट्राफिक व्यवस्थापन बिग्रेको छ । केही महिनायता कोटेश्वर–भक्तपुर सडकमा बढ्दो सडक चाप, जथाभाबी पार्किङलगायत समस्यालाई प्रभावकारीरुपमा समाधान गर्न नसकेको भन्दै महाशाखाले यहाँ कार्यरत सबै ट्राफिक प्रहरीलाई सरुवा गरेको। हो ।

महाशाखा प्रमुख मिङ्मार लामाले प्रभावकारी काम गर्न नसकेकाले कोटेश्वर ट्राफिक प्रहरी प्रभागका सबैलाई सरुवा गरिएको बताए । उनले बाहिरबाट आउने लामो दूरीका यातायातका साधनलाई बसपार्कबाट सञ्चालन गरिने बताउँदै पूर्वबाट आउने लामो दूरीका सवारी साधनका लागि भक्तपुरमा छुट्टै बसपार्क नबनाएसम्म सो समस्या हल गर्न कठिनाइ हुने स्पष्ट गरे ।

नयाँ ट्राफिक प्रहरी टोली कोटेश्वरमा आएपछि यहाँको चाप झन् बढेको छ । आज बिहानैदेखि दिनभरि नै थिमि चारदोबाटोसम्म भक्तपुरबाट काठमाडौँतर्फ जाने लेन चापमा परेको थियो । सडक चापमा परेपछि बिरामी बोकेर काठमाडौँका अस्पतालतर्फ जाँदै गरेका एम्बुलेन्सले समेत ठिमीदेखि कोटेश्वरसम्म जाममा परेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *