स्वास्थ्यका तीन हजार प्राविधिक कर्मचारी स्थानीय तहमा खटिदै

काठमाडौँ २० असार । स्वास्थ्य मन्त्रालयले नयाँ संरचना अनुसारको स्थानीय तहमा करीब तीन हजार स्वास्थ्य प्राविधिकलाई खटाउने भएको छ । मन्त्रालयले संघीय संरचना कार्यान्वनय गर्ने योजना अन्तरगर्त गाँउ पालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा ती कर्मचारीहरुलाई काजमा खटाउन लागेको हो ।

कर्मचारी खटाउने जिम्मा महानगरपालिकामा स्वास्थ्य मन्त्रालय आफैले लिएको छ भने उममहानगरपालिका देखि तल गाँउपालिकासम्मको जिम्मेबारी जिल्लालाई दिइएको छ । सो अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्लास्थित समन्वय समितिले उपमहानगरपालिका, नगरपालिका र गाँउपालिकामा कर्मचारी खटाउनेछन् ।

स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका उपसचिव बाबुराम खनालले संघीय संरचनालाई कार्यान्वयन गर्न निर्वाचन सम्पन्न भईसकेका स्थानीय तहमा यसै महिना भित्र परिषद सम्पन्न गनुपर्ने र त्यसलाई व्यवस्थापन गर्न प्राविधिक कर्मचारी खटाउन लागिएको बताए ।

‘निर्वाचन भएका स्थानीय तहमा असार भित्रै परिषद सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसमा के कार्यक्रम गर्न सकिन्छ के सकिन्न ? के राख्ने के नराख्ने सबै कुराको निर्णय गर्नुपर्ने हुन्छ । त्यसैको लागि प्राविधिक कर्मचारीलाई खटाउन लागिएको हो,’ खनालले भने । उनले नयाँ स्थानीय तहमा स्वास्थ्य जस्तै अरु प्राविधिक मन्त्रालयबाट पनि कर्मचारी खटिने बताए ।

स्वास्थ्यले गाँउ पालिकामा सम्भव भएसम्म सातौँ तह नभए छैटौँ तहका २ जना कर्मचारी खटाउँदै छ । त्यस्तै नगरपालिकामा सम्भव भएसम्म आठौँ तहको नभए सातौँ वा छैटौँ तहको तर एक जना आयुर्वेद तर्फको अनिवार्य गरी ३ जना कर्मचारी खटाउँदै छ ।

त्यस्तै उपमहानगरपालिकामा जिल्ला भित्र उपलव्ध भएका सकेसम्म नवौँ तहका नभए आठौँ तह वा सातौ तह र आयुर्वेद तर्फको एक जना अनिवार्य गरी ४ जना खटाउन निर्देशन दिएको छ । महानगरपालिकामा भने मन्त्रालय स्वयंले खटाएको छ ।

उपसचिव खनालका अनुसार काठमाडौँ महानगरपालिकामा अहिलेसम्म ४ जना, ललितपुर महानगरपालिकामा ३ जना भरतपुरमा २ जना, पोखरामा २ जना विराटनगरमा १ जना र बीरगञ्जमा १ जना कर्मचारी खटिइसकेका छन् । थप कर्मचारीहरु तत्काल खटाइदै छ ।

नयाँ संरचनामा नगरपालिकामा आयुर्वेद तर्फको कम्तिमा एक जना कविराज भएसम्म सातौँ तह नभए छैटौँ वा पाँचौँ तहको हुनुपर्ने र गाँउपालिकामा सकेसम्म छैटौँ नभए पाँचौँ तहको बैद्यलाई खटाउन भनिएको छ ।

नयाँ संरचनामा प्राविधिक कर्मचारी खटाउनका लागि सरकारले गत माग मन्त्रीस्तरीय उच्चस्तरीय समिति त्यसलगत्तै सचिव स्तरीय सिफारिस समिति गठन गरेको थियो । सोही समितिले मन्त्रालयका सहसचिव भोगेन्द्र डोटेलको संयोजकत्वमा प्राविधिक कार्यदल गठन गरेको थियो ।

सोही कार्यदलले दिएको सुझावको आधारमा कर्मचारी खटाउन लागिएको हो । मन्त्रालयले सोमबार जारी गरेको सूचनामा तीन दिन भित्र कर्मचारी खटाई सो को जानकारी केन्द्रमा उपलव्ध गराउन भनिएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *