काठमाडौँ उपत्यकालाई छाडेन हैजाले, तीन विरामी फेलापरे

काठमाडौंँ, २० असार  । उपत्यकामा वर्षायामसँगै देखापर्ने हैजा (भिब्रिओ कोलेरा) यस वर्ष पनि देखापरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार ललितपुरका तीन जनामा हैजाको जीवाणु देखिएको हो ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले चापागाउँदोबाटो, सातदोबाटो र खुमलटारका बिरामीमा हैजाको जीवाणु भेटिएको जानकारी दिँदै सर्वसाधरणलाई हैजाबारे सचेत रहन आग्रह गरे ।

गत वर्ष उपत्यकामा १६५ जनामा यस किसिमको हैजाको जीवाणु भेटिएको थियो भने तीमध्ये १२० जना ललितपुरका थिए ।  हैजालाई नियन्त्रण गर्न महाशाखाले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र उपत्यकाका पानी ट्याङ्कर व्यवसायीसँग पनि छलफल गरिरहेको छ । वर्षायाम सुरु भएदेखि नै उपत्यकाका विभिन्न अस्पतालमा झाडापखालाका बिरामीको समेत भीड लाग्ने गरेको छ ।

डा. आचार्यले गत वर्ष उपत्यकामा सबैभन्दा धेरै ललितपुरमा १२०, काठमाडौँमा ४७, भक्तपुरमा एक र ठेगाना नखुलेका चारजना बिरामीमा हैजाका जीवाणु भेटिएको जानकारी दिए ।

घरमा नियमित आउने खानेपानी, जारको पानी, ट्याङ्करबाट किनिएको पानीमा समेत हैजाको जीवाणु भेटिने भन्दै जारको पानी राम्रो होला भन्दैमा त्यतिकै नखान आग्रह गरे । जुनसुकै पानीलाई पनि उमालेर पिउन उनले सुझाव दिए ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले दूषित पानी, राम्रोसँग नपाकेको खाना र तरकारी, माछामासु, राम्रोसँग सफा नगरिएको फलफूलबाट समेत हैजाका जीवाणु सर्ने जानकारी दिए ।मुख्यतया पानीबाटै सर्ने हो डा. पुनले भने, “पानी राम्रोसँग उमालेर पिएको अवस्थामा हैजाबाट बच्न सकिन्छ । ” 

महाशाखा प्रमुख आचार्यले उपत्यकामा १९९० सालको भूकम्पपछि प्रत्येक वर्ष हैजाका बिरामी देखिने गरेको जानकारी दिँदै समयमै उपचार भए हैजाबाट कोही व्यक्तिको पनि मृत्यु नहुने बताए ।

उनले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, खानेपानी ट्याङ्कर व्यवसायी सङ्घ, जार व्यवसायी, रेस्टुराँ व्यवसायीहरूसँग खानेपानीमा पर्याप्त मात्रामा क्लोरिन मिसाएर मात्र सर्वसाधारणलाई वितरण गर्न आग्रह गरे ।

सरुवा रोेग विशेषज्ञ डा. पुनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक १५ जनासम्म झाडापखाला लागेका बिरामी आउने गरेको जानकारी दिए ।

उनका अनुसार प्रायः असोज महिनासम्म हैजाका बिरामी उपचारका लागि अस्पताल पुग्ने गरेका छन् ।

  • आजको गोरखापत्रमा सरोज ढुंगेलको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *