कसरी हुन्छ मस्तिष्क रक्तश्राब (ब्रेन हेमोरेज)? कारण र उपचार सहित

- नेपाली हेल्थ
डा. प्रवीण श्रेष्ठ, बरिष्ठ कन्सलटेन्ट न्युरोसर्जन prabinshrestha@hotmail.com

टाउको मानब शरीरको एक अति शंवेदनशील अंग हो जसबिना मानब शरीर र मानब जीवनको कुनै कल्पना गर्न सकिदैन ।शारीरिक हिसाबले मात्रै नभई अन्य हिसाबले पनि टाउकोको महत्व बेग्लै छ ।

उदाहरणको लागि सामाजिक र व्यवहारिक हिसाबमा टाउकोलाई सम्मान पूर्वक हेरिन्छ । सम्मानले यस अंगलाई ‘शीर’ पनि भनिन्छ । कसैले राम्रो काम ग¥यो भने उसको शीर ठाडो हुन्छ नत्र शीर झुक्छ भनेर भनिन्छ । कसैलाई सम्मान गर्नु प¥यो भने शीर निहुराएर नमस्कार गरिन्छ । आमाबुबा वा अन्य मान्यजनका अगाडि शीर झुकाएर ढोग गरिन्छ । भगवानको टीका या अन्य फूलप्रसाद टाउको मै राखिन्छ । यी सबै कुराहरुले टाउकोको धार्मिक तथा सामाजिक मूल्य अझ बढी रहेको कुरा स्पष्ट हुन्छ ।

उसो त शरीरका प्रत्येक अंग र तन्तुहरुका आ–आफ्नै विशेषताहरु छन । तर मस्तिस्क सहितको टाउको जतन गर्न सकिएन भने त्यसले भयानक समस्या ल्याउन सक्छ । टाउकोमा देखिने विभिन्न समस्या मध्ये मस्तिस्क रक्तश्राव वा ब्रेन हेमोरेज प्रमुख मानिन्छ ।

के हो मस्तिष्क रक्तश्राब (ब्रेन हेमोरेज) ?
मस्तिष्कका विभिन्न समस्याहरु मध्ये मस्तिष्क रक्तश्राब एक प्रमुख जटिल तथा कहिलेकाहीँ घातक सिद्ध हुन सक्ने समस्या हो । मस्तिष्कघात, जसलाई अंग्रेजीमा स्ट्रोक भनिन्छ, को एक प्रमुख कारण मस्तिष्क रक्रश्राब हो । मस्तिष्क रक्रश्राबलाई अंग्रेजीमा ब्रेन हेमोरेज भनिन्छ जसको अर्थ हो मस्तिष्क भित्रको सानो या ठूलो रक्तनली फुटी मस्तिष्क भित्र रगत जम्नु ।

त्यसो त मस्तिस्कघात हुनका लागि मस्तिष्क रक्तश्राबसंग मिल्दोजुल्दो अर्को समस्या ‘किरेवरल इन्फारेक्सन’ अर्थात मस्तिष्क कोषिका मरण पनि हुन्छसक्छ । यसको नेपालीमा ठेट नामाकरण छैन । तर चलन चल्तीमा यसलाई पनि मस्तिष्कघात भनेरै चिनिने गरिन्छ ।

मस्तिष्क कोषिका मरण भनेको मस्ष्किमा रक्तसञ्चार गर्ने साना रक्तनली जाम हुनु हो । साना रक्तनलीजाम भई मस्तिस्कमा रगत तथा अक्सिजन नपुगेपछि कोषिका र तन्तुको मृत्यु हुन्छ । त्यस्तै मस्तिष्क रक्तश्राब भनेको मस्तिष्कमा रक्तसंचार ज्यादा भएर रक्तनली फुटी रक्तश्राब वा ब्लिडिङ हुनु हो । यी दुबै कारणहरुले गर्दा मस्तिष्कघात, पक्षघात वा प्यारालाइसिस जस्ता समस्याहरु हुन्छन् ।

मस्तिष्क रक्तश्राबका कारण
जसरी बाँधमा पानीको चाप अत्याधिक भएर बाँध फुट्दछ, त्यसरी मस्तिष्कको रक्तनलीमा रक्तचाप उच्च भएमा रक्तनली फुट्दछ । तसर्थ मस्तिष्क रक्तश्राबको एकमात्र कारण हो उच्च रक्तचाप अर्थात ‘ब्लड प्रेसरको हाई’को विरामी हुनु हो ।

रक्तचापको बिमारी जति पुरानो हुँदै गयो, रक्तचाप जति बढ्दै गयो रक्तनलीहरु त्यतिनै पातलो हुँदै खिइँदै जान्छ । फलस्वरुप रक्तनलीमा प्वाल परी फुट्दछ र रक्तश्राब हुन्छ । जसरी पानीको पाइप पुरानो भएपछि पाइपमा प्वाल परी पानी चुहिन्छ, त्यसरी नै रक्तनलीमा पनि प्वाल परी रगत चुहुन्छ । त्यसैलाई मस्तिष्क रक्तश्राब भनिन्छ ।

रक्तचापको रोग कहिले ननिभ्ने आगो जस्तो हो । जसरी आगो नियन्त्रण गर्न पानी हालिराख्नु पर्दछ त्यसरी नै उच्च रक्तचापभएपछि औषधि खाई राख्नुपर्छ । जसरी आगो निभ्यो होला भनी पानी नराखेमा अचानक आगो दन्किने र आगलागी हुने सम्भावना हुन्छ ।

रक्तचाप नियन्त्रण भयो भनेर औषधि छोडेमा रक्तचाप अचानक उच्च हुन पुगी नशा फुटी मस्तिष्क रक्तश्राब हुन्छ । त्यसैले उच्च रक्तचापलाई नियन्त्रण गर्न नियमित औषधि खानु पर्र्दंछ ।

मस्तिष्क रक्तश्राबका प्रकारहरु

१. इन्ट्रा सेरेबरल हेमरेजः
यस्तो प्रकारको मस्तिष्क रक्तश्राबमा गिद्धी भित्र रगत जमेर हुन्छ । धेरै जसो मस्तिष्क रक्तश्राब यसै प्रकारको हुन्छन् । यस्तो रक्तश्राब मस्तिष्कका विभिन्न भागहरुमा विभिन्न साइज, मात्रामा हुन सक्दछ ।

रक्तश्रावले मस्तिष्कको कुन भागमा कस्तो र कत्रो छ असर गरेको छ भन्ने कुराले विरामी ठिक हुन्छ कि हुदैन भन्ने थाह हुन्छ । यस्तो प्रकारको रक्तश्राब प्राय सानो नशा फुटेर हुन्छ ।

२. सब अराक्नोइड हेमरेज :
यसमा नशाको ठूलो भाग फुट्छ र अचानक रक्तश्राब हुन्छ । यस्तो रक्तश्राब मस्तिष्कको गिदी भित्र नभई मस्तिष्कको सतहमा हुन्छ । यस्तो प्रकारको रक्तश्राब ठूलो रक्तनली फुटेर हुने गर्दछ ।

धेरै लामो समय सम्म उच्च रक्तचाप भएको् कारणले वा अन्य कारणले मस्तिष्क भित्रको ठूलो रक्तनलीको एक भाग बेलुन फुले जस्तै फुल्दै आउँदछ । यसरी फुल्ने क्रममा यसले सानो बेलुनको आकार लिन थाल्दछ जसलाई एन्यूरिजम भनिन्छ । यही बेलुन अर्थात एन्यूरिजम फुटेपछि यस प्रकारको रक्तश्राब हुन्दछ ।

३.सबडुरल- एक्स्ट्राडुरल हेमरेज:
उच्च रक्तचापको कारणले यस प्रकारका मस्तिष्क रक्तश्राब प्राय हुँदैन । यस्ता रक्तश्राब टाउकोमा लाग्ने विभिन्न खालका चोटले गर्दा हुन्छ । यस्ता रक्तश्राब मस्तिष्कघात भित्र प्राय पर्दैनन् । यद्यपी यी पनि मस्तिष्क रक्तश्राबकै सूचीमा पर्दछन ।

मस्तिष्क रक्तश्राबका लक्षणहरु :
मस्तिष्क रक्तश्राब एक आकस्मिक अवस्था हो । यो समस्या अचानक आउँदछ र यसले क्षण भित्रै गम्भिर अवस्थाको श्रृजना गर्दछ । सामान्य शारीरिक कृयाकलाप गरिराखेको मानिसलाई अचानक टाउको दुख्नु, बेहोस हुनु, बान्ता हुनु, शरीरको एक पाखा नचली पक्षघात हुनु आदि यसका लक्षणहरु हुन् ।

साथै क्षारेरोगको कम्पन हुनु, बोली नखोल्नु, आँखा, मुख टेँडो हुनु, दिशापिसाब अचानक फुस्किनु आदि पनि यसका लक्षणहरु हुन् । तर लक्षणबाट मात्रै यो समस्या रक्तश्राब हो कि कोषिका मरण हो या ब्रेन ट्यूमर हो भन्न सकिँदैन ।

त्यसको लागि सि.टि. स्क्यान अथवा एम.आर.आइ. को जरुरत पर्दछ जसले किटानका साथ त्यस्ता रोगहरुको निदान गर्दछ । तसर्थ माथि उल्लेखित समस्याहरु भएमा सम्भावित मस्तिष्कघातको शंका गरी तुरुन्तै अस्पतालमा गएर जाँच गर्नु जरुरी हुन्छ ।

मस्तिष्क रक्तश्राबको उपचार
मस्तिस्क रक्तश्राबको उपचार के गर्ने र कसरी गर्ने भन्ने कुरा केही तथ्यहरु माथि भर पर्दछ । जस्तै रक्तश्राबको मात्रा कति छ अर्थात सानो छ कि ठूलो छ ? रक्तश्राबको स्थिति कहाँ छ अर्थात रक्तश्राप मस्तिष्कको कुन भागमा अवस्थित छ ? बिरामीको अवस्था कस्तो छ अर्थात बेहोसी अवस्थामा छ कि, होस राम्रो नै छ कि, पक्षघात छ कि ? आदि ।

माथिका यी प्रश्नहरु सि.टि. स्क्यानमा राम्रो सित देखिन्छ र एक योग्य स्नायु शल्यचिकित्सक न्यूरोसर्जन ले यी कुराहरुको मूल्यांकन राम्रो सित गरी उपचारको सही कदम उठाउन सक्दछ । सि.टी. स्क्यान अथवा स्नायूरोग विशेषज्ञ नभएको अस्पतालमा यस रोगको सही उपचार सम्भव हुँदैन ।

यदि रक्तश्राब सानो छ र यसको मात्रा २०–३० मि.ली भन्दा कम छ भने र बिरामीको अवस्था राम्रो छ, बेहोसीपन धेरै गहिरो छैन भने शल्यक्रिया नगरी औषधी उपचारले मात्रै पनि ठीक हुन सक्दछ ।

तर यदि रक्तश्राब धेरै ठूलो छ र यसको मात्रा ३० मि.ली भन्दा धेरै छ र बिरामीको अवस्था पनि नाजुक भई गहिरो बेहोसी अवस्थामा छ भने औषधी उपचारले मात्रै ठीक नभई शल्यक्रिया नै गरी जमेको रगत निकाली उपचार गर्नु पर्ने हुन्छ ।

यसै सन्दर्भमा बिरामीको बेहोसीपनको मापन गर्ने एक वैज्ञानिक तरिका, जुन संसारको हरेक अस्पतालमा प्रयोग गरिन्छ, को थोरै सानो चर्चा गर्नु राम्रो हुनेछ । सामान्य तया एक पूर्ण होसमा भएको हातखुट्टा सबै राम्ररी चल्ने मानिसलाई १५ नम्बर दिइन्छ । त्यस्तै मृत अवस्थामा भएको अथवा मरिसकेको मानिसलाई ३ नम्बर दिइन्छ । तसर्थ यस नम्बर जति कम हुदैँ गयो उति जोखिम ज्यादा हुन्छ भन्ने बुझिन्छ । यस्तो नम्बर दिएर बिरामीको होस या बेहोसीपनको मापन गर्ने तरीकालाई ग्लास्गो कोमा स्केल (जीसीएस) भनिन्छ । जिसिएस ८ भन्दा माथि भएको राम्रो हुन्छ । यदि जिसिएस ८ भन्दा कम भयो भने त्यस्तोलाई कोमा भनिन्छ जुन राम्रो होइन । त्यो भन्दा तल जिसिएस घट्दै गयो भने त्यस्तोलाई गहिरो बेहोसी अथवा डिप कोमा भनिन्छ ।

रक्तश्राबले गर्दा बिरामीको अवस्था कोमामा गयो भने अथवा जिसिएस सामान्य भन्दा कम भयो भने शल्यक्रियाको आवश्यकता पर्दछ । यसरी रगतको ढिक्का निकाले पछि त्यसले पु¥याउन सक्ने क्षतिबाट मस्तिष्कलाई बचाउन सकिन्छ तर त्यतिले मात्रै नपुगे शल्यक्रियाका थप उपायहरु पनि गर्नु पर्ने हुन्छ । जस्तै रगतको ढिक्का निकाले पछि मस्तिष्क शान्त हुनुपर्दछ तर त्यसो नभएको खण्डमा मस्तिष्क भित्रको चापलाई अझ नियन्त्रण गर्न टाउको या खप्परको थप हड्डि, खप्परलाई अझै धेरै खोल्नु पर्ने हुन्छ ।

मस्तिष्कको रक्तश्राबको नतिजा
मस्तिष्क रक्तश्राब भएपछि अन्तमा यसले मानब शरीरलाई क्षति पु¥याई ज्यान सम्म जाने सम्भावना हुन्छ तर समयमै सही उपचार गर्न सकियो भने ज्यान बच्न सक्ने सम्भावना पनि हुन्छ । तर एकचोटी मस्तिष्कमा असर परी सकेपछि कसैकसैमा शारीरिक दुर्बलता अर्थात पक्षघात पनि हुनसक्छ । यद्धपी उपचारपछि बिरामी राम्रो भई पूर्व अवस्थामा फर्केका उदाहरण पनि प्रशस्त छन् ।

मस्तिष्क रक्तश्राब र शल्यक्रिया
शल्यक्रिया मस्तिष्क रक्तश्राबको एक राम्रो उपचार विधि हो । सही समयमा उपचार गरेर यस रोग लागी गम्भिर अवस्थामा पुगेको बिरामीलाई बचाउन सकिन्छ । तर सही समयमा सही शल्यक्रिया नगर्ने हो भने बिरामीको ज्यान उच्च जोखिममा पर्न सक्दछ ।

तसर्थ शल्यक्रिया हामी सबैको लागि एक आवश्यकता तथा बाध्यता हो रहर होइन । रक्तश्राबको शल्यक्रिया भन्नाले अपरेशन गरेर मस्तिष्क भित्र रहेको रगतको ढिक्कालाई निकाल्ने भन्ने बुझिन्छ ।

शल्यक्रियाको मुलतः दुईवटा उद्देश्यहरु हुन्छन् । पहिलो, बिरामीको ज्यान बचाउने, दोस्रो बिरामीको शरीरिक क्षतिलाई कम गरी दुर्बल र अपांग हुनबाट बचाउने । तसर्थ शल्यक्रिया देखि नडराऔँ सही समयमा सही उपचार गरी आफ्नो ज्यान जोगाऔँ ।

 

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *