निजी मेडिकल कलेजले विद्यार्थी भर्नामा मनोमानी गरेको भन्दै डाक्टरहरुको संगठनद्धारा आपत्ति

काठमाडौँ, ११ असार । योग्यताक्रम (मेरिट लिष्ट) र सरकारद्धारा तोकिएको शुल्कमा विद्यार्थी भर्ना नलिएको भन्दै डक्टर सोसाइटी अफ नेपाल (डीएसओएन)ले निजी मेडिकल कलेजको विरोध गरेको छ । उसले सञ्चालन अनुमति दिएका कलेजहरुले मनोमानी गर्दा समेत निरीह बनेको भन्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान डीन कार्यालय र नेपाल मेडिकल काउन्सिलको चर्को आलोचना गरेको छ ।

त्रिवि अन्तर्गतका केही निजी मेडिकल कलेजहरुले पोष्ट ग्राजुएट्स तहका विद्यार्थी भर्ना लिदै गर्दा योग्यताक्रम नहेरी पैसाको भरमा मनपरी ढंगले भर्ना लिएको आरोप लाग्दै आएको छ ।

सोसाइटीले शनिबार जारी विज्ञप्तीमा त्रिवि अन्तर्गतका केही निजी मेडिकल कलेजहरुले शुल्क र योग्यताक्रम कार्यान्वनयमा ल्याउने विषयलाई विभिन्न बहानाबाजी गर्दै आलटाल गरेको तर डीन कार्यालय र काउन्सिल त्यसमा निरीह बनेको उल्लेख छ ।

त्यसो त आइओएम डीन कार्यालय र काउन्सिलले पटक पटक योग्यताक्रम र शुल्कका विषयमा तोकिएको मापदण्ड अनुसार कार्य गर्न भन्दै सूचना मार्फत निर्देशन दिदै आएका छन् । यद्धपी त्यसको कार्यान्वनय हुनसकेको छैन् ।

सोसाइटीका कार्यबहाक अध्यक्ष डा. कालुसिंह खत्री र कार्यबहाक महासचिव डा. तोसीमा कार्कीद्धारा जारी विज्ञप्तीमा आफैले सम्वन्धन र सञ्चालन अनुमित दिने कलेजहरुलाई आफ्नो निर्देशन पालन गराउन त्रिवि डिन र नेपाल मेडिकल काउन्सिलले यसरी खुट्टा कमाईरहेकोमा आफूहरु सम्पूर्ण शुभ चिन्तक तथा संघ संगठनको साथ लिएर कडा आन्दोलनमा उत्रिने उल्लेख छ । त्यसबेला अप्रिय अवस्था भए त्यसको जिम्मेबारी डिन र काउन्सिलले लिनुपर्ने समेत उल्लेख छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *