औषधिमा आत्मनिर्भर हुन सक्छौँ भन्नु गलत हो र ?

– प्रज्वलजंग पाण्डे , कोषाध्यक्ष : नेपाल औषधि उत्पादक संघ

नेपालमा स्वदेशी औषधिको अवस्था के छ ? स्वदेशी औषधिले कति प्रतिशत बजार हिस्सा ओगटेको छ ?
औषधिको खपतको कुरा अर्थात ‘मार्केट साइज’लाई हामीले विश्लेषण गरेका छौँ । हाम्रो विश्लेषण अनुसार अहिले हामी लगभग ४६ प्रतिशतको हाराहारीमा छौँ । अर्थात नेपाली औषधि उद्योगले मागको ४६ प्रतिशत हिस्सा ओगटेको छ । अरु सबै अर्थात ५४ प्रतिशत हिस्सा विदेशी कम्पनीका औषधिले नै लिएको छ । त्यसमध्येको ८० प्रतिशत हिस्सा चाही भारतीय औषधि कम्पनीले नै रिर्जब गरेको छ । अरु दश बीस प्रतिशत भारत बाहेकका मुलुकबाट आँउछ ।

औषधिमा कुल खपतको ४६ प्रतिशत नेपाली उद्योगले परिपूर्ति गर्दै गर्दा त्यसको ‘कभरेज’ दर कति प्रतिशत छ ? अर्थात नेपालीलाई आवश्यक सबै औषधि नेपालमा बनेका छन त ?
यसलाई यसरी बुझौँ । नेपालमा उत्पादित ४६ प्रकारका औषधिले सबै प्रडक्ट कभर गर्दैन । नेपाली कम्पनीका औषधिले नेपालीलाई चाहिने कुल औषधिका प्रकारमध्ये ६०/६५ प्रतिशत कभर गर्छ भन्ने हाम्रो अनुमान छ । बाँकी ३५/ ४० प्रतिशत प्रडक्ट अहिले पनि बाहिरबाट नै ल्याउनुको विकल्प छैन । जस्तै : एन्टी क्यान्सरको औषधि, सुईजन्य औषधिहरु हाम्रोमा अहिले पनि बनिसकेको छैन् । त्यसैले झण्डै आधी प्रडक्ट भन्दा केही बढी मात्रै हाम्रो उत्पादनले कभरेज गर्छ जस्तो लाग्छ मलाई ।

जे होस् नेपाली औषधिले बजार हिस्सा बढाउँदै लगेको रहेछ हगी ?
बजार हिस्सा बढेको त छ तर विगत १५ बर्षको दर हेर्ने हो भने अनुपात एकदमै कम छ । त्यो भन्दा अघिको दशकमा भने ‘कभरेज’ दर अनुपात अलि बढेको थियो । पछिल्लो समय त्यो खपतदर अलि कम छ ।

किन त्यस्तो भयो त ?
प्रतिस्पर्धाको बजार भएर पनि हुनसक्छ । अथवा बजारमा नयाँ ‘मोलिक्युल’ नयाँ रोग वा अनुसन्धानको कमी भएर पनि हो की ? फेरी यतिवेला नयाँ प्रडक्टमा जाने काम पनि नेपाली कम्पनीले सुरु गरेका छन् । त्यसले तत्काल उपलव्धी नदेखिएपनि अव आउने दिनमा त्यसको दर अवश्य बढछ ।

अर्को के कुरा बुझ्नु परयो भने, नेपाली औषधि मात्रै यस्तो औषधि हो जो ७५ वटै जिल्लामा पुगेको छ । हाम्रो मान्यता प्रत्येक जनताले गुणस्तरीय औषधि उचीत दाममा पाउनुपर्छ भन्ने हो । त्यसैले उपलव्धतालाई ठूलो मानियो । जसरी हामी औषधिमा गुणस्तरको कुरा गर्छौ भनेजस्तै प्रयोग र उपलव्धता पनि उत्तीकै महत्वपूर्ण हो । त्यसैले अधिकतम नेपाली कम्पनीले केन्द्रमा मात्रै छैनौँ ‘सिम्पल मोलिक्युलहरु गाँउसम्म पठाएका छौँ । साधारण सिटामोल देखि जुकाको औषधिसम्मलाई ध्यान दिएका छौँ । त्यसले गर्दा त्यो रोगका औषधिहरु नयाँ प्रविधिका औषधिहरु भित्रयाउने गर्दछन् । नेपाली उद्योगहरुले आवश्यकता अनुसारका औषधि उत्पादन गर्ने काममा सुरु भएको छ । यहाँ विदेशबाट महंगा औषधिहरु पनि आउन थाले वा यहि सबै पाउनुपर्ने मागका कारणलले पनि होला । यहि उत्पादन सुरु हुँदैछन् । नयाँ प्रविधिमा नेपाली औषधि उद्योगहरु जाँदैछन् ।

पछिल्लो दशकमा नेपाली औषधि उद्योगमा लगानी पनि कम भएको हो  ?
त्यो पनि हो , किनभने लगानीको लागि बाताबरण बन्दै जानुपर्छ । त्यो बाताबरण बन्दै गयो भने लगानी र प्रविधि संगसंगै भित्रदै जानेछन् । बीचमा राजनीतिक अस्थिरताका कारण ग्रोथ रेट अलि कम भएको हो । बाहिरको लगानी त परै जाओस भित्री लगानी गर्न समेत डर भयो ।

प्रतिफलका लागि लगानी गर्ने हो तर प्रतिफलको सुनिश्चितता भएन । चरम लोडसेडिङ, नाकाबन्दी आदिले अप्ठेरो भएको थियो । अबको दिनमा अलिकति स्थिरता र औषधि उद्योगलाई अलिकति सुविधा दिन सकियो भने त्यसले पक्कै पनि सकारात्मक नतिजा ल्याउँछ ।

शिक्षा, प्रविधि बढदै गएर पनि यस्तो भएको हुनसक्छ । नेपालमा दशबर्ष अघि प्रविधि अभाव थियो । जनशक्ति अभाव थियो तर अव त्यो छैन । विदेशबाट सिक्नुपथ्र्यो , टेक्निसियन मगाउनु पथ्र्यो । तर अब त्यस्तो छैन । औषधिमा पनि नयाँ प्रविधियुक्त मान्छेहरु भेटिन थालेका छन् । यो हामी नेपालीका लागि राम्रो कुरा हो ।

नेपाली औषधिको गुणस्तरका बारेमा बेला बखतमा प्रश्न उठने गरेका छन् ? तपाईँ एउटा फार्मासिस्ट अनि उत्पादक पनि हुनुहुन्छ, बास्तविकता के हो ?
हामीसंग अहिले ५५ वटा औषधी उद्योग छन् । बाहिरबाट झण्डै ३ सय बढी औषधि कम्पनीले नेपालमा औषधि निर्यात गर्दछन् । मैले माथि नै भने हामी आधा भन्दा अलि कम हिस्सा ओगटेका छौँ बाहिरबाट आउनेले आधाभन्दा केही बढी हिस्सा ओगटेका छन् ।

यसरी हेर्दा हामीसंग प्रत्येक व्याचका औषधि राम्रा हुन्छन् तर कहिले काँही कुनै व्याच फेल हुनसक्छ । प्रविधिको कुरा हो संसारका सबैभन्दा विकसित भनिएका देशबाट उत्पादिन औषधि पनि फेलियर हुन्छन र त्यस्तो अवस्थामा समाधान गर्न रिकल गर्ने ‘प्रोसिडियुर’ छ । त्यो सबै औषधि उत्पादकले मान्नुपर्ने हुन्छ । यदि रिकल गर्ने नीति प्रभावकारी ढंगले लागू गरेन भने त्यो चाहि बदमासी हो ।

हाम्रा उत्पादनमा समस्या आयो भने हामीले यो यो कारणले समस्या आयो र हामीले औषधि रिकल गरेका छौँ भनेर सम्वन्धीत निकायमा जानकारी गराउँछौँ पनि । यो अन्तराष्ट्रिय प्रक्रिया नै हो । त्यसैले बजारमा पठाइने सबै औषधि अन्तराष्ट्रिय प्रविधि र गुणस्तरमा आधारित नै हुन् ।

प्रसंग बदलौँ, पछिल्लो पटक औषधि आयातकर्ता संघ र नेपाल औषधि उत्पादक संघबीच केही दरार उत्पन्न भएजस्तो देखिन्छ नि खास कुरा के हो ?
पहिलो कुरा त औषधि उत्पादक संघ सरकारले ल्याएको नीति नियम भित्र रहेर काम गर्ने संस्था हो । हामी राज्यप्रति जिम्मेबार छौँ । नीति नियममा रहेर काम गर्नु हाम्रो कर्तव्य पनि हो । अर्को कुरा औषधि जस्तो सम्वेदनशील कुरामा सरकारले राष्ट्रिय हित हुने गरी नीति नियम ल्याउँछ भने त्यसमा नेपाल औषधि उत्पादक संघले साथ दिनै पर्छ र दिने गर्छ ।

रह्यो प्रश्न, आयातकर्ता संघसंग दरार उत्पन्न भएको भन्ने कुरा । उहाँहरु(आयातकर्ता)संग हाम्रो कुनै खालको ‘कन्फ्रन्टेशन’ छैन् । न सरकारले ल्याएको नीतिबारेमा उहाँहरुसंग छलफल भएको छ ।

सरकारले पुरानो नीतिलाई कार्यान्वनयमा ल्याउने जमर्को गरयो । जस्तो कि २०५१ सालको नीति जो देशर्लाइ आत्मनिर्भर तर्फ लैजानु पर्छ भन्ने छ । अहिले त्यसैको कार्यान्वनय गर्ने प्रक्रिया अघि बढेको हो कि जस्तो लाग्छ । पहिलेको नीतिमै टेकेर सरकारले केही प्रडक्टमा यहि बनाउन सक्छौ भने तिमीहरु नै बनाउ भनेको मात्रै हो ।  कसैलाई निशेध गर्ने भन्दा पनि देशमै बन्छ भने किन नबनाउने भनेर बाताबरण सिर्जना गर्न खोजेको हो जस्तो लाग्छ । त्यो कुनै अनुचित निर्णय हो जस्तो पनि लाग्दैन ।

यसले उत्पादक संघ र आयातकर्ता साथीहरुबीच कुनै ‘डिसकम्फर्ट’ भएवा अनन्तुष्टि छ जस्तो लाग्दैन र छ भने पनि हामी आयातकर्ताका साथीहरुसंग बसेर छलफल गरेर सहकार्यमा मै अघि बढन तयार नै छौँ । हामीले कहिले पनि अरुको भाग खोसेर वा अरुलाई नराम्रो गरेर आफू सक्षम हुन्छौँ भनेर सोचेनौँ र गरेनौँ पनि ।

आयातकर्ताहरुले आफूहलाई प्रतिस्पर्धामा जानबाट रोक्ने काम भयो, हामीलाई यसरी बन्देज नलगाइयोस भनेर भन्ने गरेका छन् नि ?
उत्पादक संघले कसैलाई बन्देज गर्नुपर्छ भनेर बोलेकै छैन । अब कसैको उदघोषलाई पुष्टी गर्नु आवश्यकता पनि छैन र जरुरी पनि हुँदैन कोही व्यक्तिगत धारणा राख्छ भने । कुनै पनि कुरामा अप्ठेरो भएको छ भने त्यसलाई हामी बार्ता गरेरै पनि समाधानमा जान सक्छौँ र त्यसो गर्नुपर्छ भन्ने पक्षमा छु म ।

नेपालमै आत्म निर्भर हुने केही औषधिलाई बाहिरबाट नल्याउन भन्दै सरकारलाई सुझाव त दिएको छ नि उत्पादक संघले होइन र ?
हामीले यो भनेका छौ, केही औषधिमा हामी आफू बनाउन सक्छौँ , हाम्रो क्षमता छ, हामी आत्मनिर्भरको बाटोमा जानसक्छौँ भनेका हौँ । त्यो पुष्ठी गर्नु अश्वभाविक पनि होइन । त्यसको आधारमा सरकारले कस्तो नीति ल्याउँछ । के नयाँ प्रविधि र नियम ल्याउँछ ? त्यसले यदि हामीलाई राम्रो हुने नीति ल्याउछ भने त त्यसमा खुशी हुन्छौँ । त्यो स्वभाविक हो । नेपाली उत्पादकले नयाँ अवसर पाए भने त त्यो खुशीको कुरा हो ।
क्षमता छ भन्नु नराम्रो होइन । र हाम्रोमात्रै राम्रो अरुको नराम्रो भनेर हामी कहिल्यै बोलेको पनि छैनौँ ।

आयातकर्ताहरुले नेपाली औषधि भन्दा सस्तो दरमा अन्तराष्ट्रिय गुणस्तरको औषधि उपलव्ध गराउँछौँ, नेपालीले किन महंगो खाने भन्ने प्रश्न पनि उठाउनु भएको छ, के भन्नु हुन्छ ?
तपाईँले नेपाली औषधिको मूल्य र गुणस्तरको बारेमा प्रश्न गर्नुभयो । यसलाई सजिलोसंग बुझन सकिन्छ । नेपालको कुल खपतमा ४६ प्रतिशत नेपाली उद्योगको औषधि खपत हुन्छ । यदि यो बढी मुल्यको वा गुणस्तरहीन थियो भने कसरी यति ठूलो मार्केट लियो ?

नेपाली औषधिले आयातित बजारसगै प्रतिस्पर्धा गरेर यो साइजमा आफ्नो बजार विस्तार गरेको छ भने त्यो भन्दा बढी विस्तार गर्नका लागि हामीले कसरी गुणस्तरमा कप्रमाइज गर्छौ होला । वा हामी कसरी बढी मूल्य लिन्छौँ होला ? यो नभुलौ कि नेपाल विश्वमै सबैभन्दा कम लागतमा औषधि बनाउने एक राष्ट्र हो । त्यसैले हाम्रा औषधि महंगो हुने भन्ने प्रश्नै हुँदैन ।

केही अपवाद होला तर त्यसलाई लिएर समग्र औषधि बढी मुल्य र गुणस्तरहीन भन्न मिल्दैन । किनभने औषधि पनि प्रतिस्पर्धाकै बजार त हो नि यो पनि । बढी मुल्य लिएर कसरी बजार लिन सकिन्छ ?

स्वदेशी कतिपय उत्पादकको जीएमपी लिएर पनि नविकरण हुनै सकेनन भन्ने पनि छ नि ?
औषधि व्यवस्था विभाग हाम्रो निरीक्षण गर्ने निकाय हो । उहाँहरुले नै जीएमपीको प्रक्रिया अघि बढाउने हो । तर कहिले काँही उहाँहरुमा देखिएको जनशक्तिको अभावले गर्दा समयमै निरीक्षण हुन नसकेको साँचो हो । उहाँहरुले नियमित रुपमा आएर हाम्रो अडिट गर्ने हो समयमै भने यो सबैकुराको समाधान हुन्छ । बर्ष बर्षमा गरिने अडिट समयमै आएर गरिदिनुभयो भने यो सबै कुरा समाधान हुन्छ ।

जीएमपीको नविकरणको कुरा समयमै आएर अडिट गरिदिने हो भने सजिलै समाधान हुन्छ । जीएमपी भनेको एक सर्टिफिकेसन प्रोसेस हो र रिन्यु भनेको त्यसलाई निरन्तरता दिने भन्ने हो । त्यो भनेर जिएमपी भएन भन्न मिल्दैन ।

फेरी अर्को प्रसंङ्ग जोडन चाहन्छु, तपाईँ एउटा युवा उद्यमी हुनुहुन्छ अवको १० बर्षमा नेपाली औषधि उद्योग कुन अवस्थामा पुग्छ होला ? हामी के के गर्न सक्छौँ ?
मैले देखेको, एउटा फार्मासिस्ट, एउटा शिक्षक ( म पढाउँछु पनि ) र एउटा उद्यमी पनि भएको नाताले म के भन्न सक्छु भने प्रविधिमा हामी धेरै माथि आइरहेका छौँ । अव हामी प्रविधिका लागि चाहिने जुन जनशक्ति हो त्यो पनि बढी रहेको छ । अहिले पनि हेर्ने हो भने फार्मेसी अध्ययनका लागि थुप्रो मान्छे बाहिर गइरहेको छ त्यो रोक्ने हो भने प्रविधि अझ बढ्छ यहाँ र उद्योग पनि प्रत्येक बर्ष दुई तीन वटाका दरले खुलि रहेका छन् । यसका पनि केही सीमा त होला तर बढेका छन् ।

१० बर्ष पछिको भिजन हेर्ने हो भने नेपालमा अहिले ५५वटा औषधि उद्योग छन् केही नभएपनि त्यो संख्या बढेर ७० पुग्नेछ । र दुई तीनवटा राम्रा प्रविधिका नयाँ औषधिहरु उत्पादन सुरु हुन थाल्छन् । निजी क्षेत्रले सरकारसंग सहकार्य गर्न पायो र अनुकुल नीति आयो भने अहिलेको स्वदेशी बजारलाई ६५ देखि ७० प्रतिशतसम्म पुग्ने मेरो अनुमान छ । र यो भनेको एकदम उल्लेखनीय कुरा पनि हो । यसमा सबैको साथ, प्रोत्साहन र हामी सक्षम छौँ भन्ने भावना हुनुपर्छ । नेपाली सक्षम छौँ भन्ने भावना आउनुपर्छ यो सम्भव छ । यसपछि कम्तीमा थप २० हजार बढी व्यक्तिलाई रोजगार दिन सक्छौँ ।

अहिले नेपालले बार्षिक कति रकमको औषधि उत्पादन गर्छ ?
कुल ३५ अर्वको औषधि खपत हुँदा स्वदेशी उद्योगले १७ अर्वको औषधि उत्पादन गछौँ । केही नेपाली कम्पनीले विश्वका विभिन्न देशमा औषधि निर्यात गर्न पनि सुरु गरेका छन् । एसियन र अफ्रिकन देशहरुमा हामी औषधि पठाउन थालेका छौँ । निर्यातका लागि बन्दरगाहा नहुँदा हामीलाई केही कठिनाई भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *