जुम्लामा पनि अब ‘मिडवाइफ्री’ विषयको पढाई हुने

काठमाडौँ, २ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा यसै वर्षदेखि मिडवाइफ्री (प्रसूति विद्या) को अध्यापन सुरु हुने भएको छ । प्रतिष्ठानले आगामी मंसिर देखि अध्यापन सुरु गर्ने लक्ष्यका साथ पाठ्यक्रम तथा भौतिक पूर्वाधारको काम अघि बढाएको छ ।

नेपालमा पेसागत मिडवाइफ (प्रसाविका) को विकास गर्न लागि सन् २००६ मा नेपाल सरकारले दक्ष प्रसूतिकर्मी नीति ल्याएको थियो । त्यसमा मिडवाइफ्री जनशक्ति तयार गर्न लागू गरिएको छुट्टै पाठ्यक्रम नेपाल स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स)को वीर अस्पताल नर्सिङ क्याम्पस र काठमाडौँ विश्वविद्यालय धुलिखेलमा १६ जनाले अध्ययन गरिरहेका छन् ।

कर्णालीमा दक्ष चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा गर्भवती, सुत्केरी र शिशुको मृत्युदर उच्च रहेकाले मिडवाइफ्री एजुकेशनलाई जोड दिइएको उपकुलपति प्राडा राजेन्द्र वाग्लेले बताए ।
उनले भने, “गर्भवती र नवजात शिशुको अकालमा हुने मृत्युदर रोक्न मिडवाइफले ठूलो भूमिका खेल्ने भएकाले नेपालमा यसको आवश्यकता छ भने कर्णाली क्षेत्रमा अझै यसको जरुरत छ ।”

मिडवाइफ्री सोसाइटी अफ नेपालका अध्यक्ष प्रा किरण बज्राचार्यले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मिडवाइफ्री शिक्षा अनिवार्य रहेको बताइन। उनले भनिन्, “अहिले पनि ठूलो सङ्ख्यामा गर्भवती घरमै सुत्केरी हुने भएकाले आमा र नवजात शिशुको मृत्युदर रोक्न सकिएको छैन । त्यसकारण मिडवाइफको खाँचो हरेक गाउँ र स्वास्थ्यको पहुँच नपुगेका स्थान अझ बढी छ ।”

तीन वर्षमा उत्पादन हुने मिडवाइफका लागि स्वास्थ्य संस्थामा छुट्टै दरबन्दी सिर्जना गरी व्यवस्थापन गर्ने जिम्मेवारी मन्त्रालयको भएकाले ढुक्क भएर अध्ययन गर्न विद्यार्थीलाई मिडवाइफ्री सोसाइटी अफ नेपालले आग्रह गरेको छ ।
अहिले पनि गाउँमा दक्ष चिकित्सकको उपलब्धता नहुने विद्यमान रहेकाले एउटा दक्ष मिडवाइफले स्वास्थ्यको पहुँच नपुगेका महिलालाई ठूलो राहत पु¥याउन सक्ने विश्वास लिइएको छ ।
मिडवाइफ्री अध्ययनका लागि हाललाई स्टाफ नर्सलाई अध्ययन गर्न लगाइएको बताइन्छ । यसका लागि तीन वर्षमा करिब रु तीन लाख खर्च लाग्छ ।
पछिल्लो समय पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पनि मिडवाइफ्री शिक्षा अध्यापन गर्ने तयारी भइरहेको बताइएको छ ।रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *