कान्ति अस्पतालका नयाँ आसियू बेड प्रयोगमा नआउदै खत्तम

कान्ति अस्पतालको नयाँ आसियूमा राखिएका बेडहरु

काठमाडौँ, १ असार । कान्ति बाल अस्पतालमा खरिद गरिएका आइसियू र पिआइसियूका बेडहरू कामै नलाग्ने अवस्थामा पुगेका छन् । कमजोर गुणस्तरका बेड भएपछि चिकित्सकहरूले थप गरिएका २२ बेड सञ्चालनमा ल्याउन सकेका छैनन् । बच्चाहरूलाई गुणस्तरीय सेवा दिने उद्देश्यले बेड थप गरेको पाँच महिना बितिसक्दा पनि गुणस्तरहीन भएका कारण सञ्चालनमा आएका छैनन् ।

अस्पतालका निर्देशक डा. गणेश राईले चाँडै बेड परिवर्तन गरिने बताए । केही बेडहरू केही दिनभित्रै हेरफेर गरिने उनले जनाए । पूर्वस्वास्थ्यमन्त्री गगन थापाले कान्ति अस्पतालमा आइसियू र पिआइसियूमा रहेका ३० बेडलाई बढाएर ५२ पुर्याएका थिए ।

नाम नखुलाउने सर्तमा एक कर्मचारीले  भने, ‘आइसियू र पिआइसियूका लागि ल्याएका बेडहरू असाध्यै कमसल पायौँ । यी बेडहरू आइसियूका लागि ल्याएको होइन भन्ने हाम्रो ठम्याइ र¥यो । आइसियू र पिआइसियूका भन्दा फरक प्रकारका बेड आए । त्यसैले यस्ता बेडमा बच्चाको उपचार गर्न मिल्दैन ।’ कान्ति बाल अस्पतालको सेवा विस्तार गर्न नेपाल सरकारको पाँच करोड र जापान सरकारको १५ करोड सहयोगमा थप ३४ शड्ढयाको सघन उपचार कक्ष निर्माण गरिएको छ ।

कर्मचारी पुगे, तर बेड कामै नलाग्ने
थप आइसियू र पिआइसियू सञ्चालका लागि कर्मचारी, चिकित्सक तथा नर्सको अभाव देखाएर पाँच महिना बेड चल्न सकेनन् । अस्पतालका तत्कालीन निर्देशक डा. अजित रायमाझीले ७० जना कर्मचारी आवश्यक पर्ने र पदपूर्ति भएपछि सबै बेड सञ्चालनमा आउने बताएका थिए । सोहीअनुसार १५ दिनअघि आइसियूमा आवश्यक पर्ने सबै किसिमका कर्मचारी राखिएका छन् ।

‘कर्मचारी पूरा भएका छन्’ अर्का एक चिकित्सकले भने’ ‘तर, बेडहरू कामै नलाग्ने भएको भन्दै चलाउन मानेनन् । यसले आइसियूमा राखेर उपचार गर्नुपर्ने बच्चाको स्वास्थ्यमाथि ठूलो खेलबाड भएको छ ।’

बेड नहुँदा रिफर
चिकित्सकहरूका अनुसार आइसियू र पिआइसियूमा बच्चालाई राखेर उपचार गर्ने बेडहरू गुणस्तरीय हुनुपर्छ । आइसियूमा कार्यरत चिकित्सकले अधिकांश बेड सामान बोक्ने ट्रलीजस्ता भएको आरोप लगाएका छन् ।

‘ट्रलिवाला बेडमा बच्चा राख्दा ठूलो जोखिम मोल्नुपर्ने हुन्छ । ट्रलि गुड्ने हुँदा बच्चा लड्ने सम्भावना भएकाले थप गरिएका कुनै पनि बेडबाट सेवा दिन सकिँदैन’ ती चिकित्सकले भने । बेडको अभावमा बिरामीहरूलाई अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता रहेको कर्मचारीहरू बताउँछन् ।

गत तीन महिनामा एक सय २६ जना बिरामी रिफर भएका छन् । अस्पतालको तथ्यांकअनुसार माघमा जम्मा बिरामी संख्या नौ सय ७४ जनामध्ये ३४ जना बिरामी आइसियूका लागि अरू नै अस्पतालमा रिफर गरिएको थियो ।

फागुनमा एक हजार एक सय ३६ जना बिरामीले सेवा लिएका छन् । यसमध्ये ४१ जना बिरामी आइसियूका लागि बाहिर पठाइएको छ । चैतमा एक हजार दुई सय ६७ जना बिरामीले सेवा लिएकामा ५१ जना बिरामी रिफर गरिएको अस्पतालले जनाएको छ ।

बेड मात्रै समस्या होइन  : निर्देशक डा. राई
अस्पतालका निर्देशक डा. गणेश राईले आइसियूका बेड मात्रै नभई बेडमा लगाउने कपडा र बिरामीले लगाउने कपडाको समेत अभाव भएको बताए । उनले सामान किन्ने बजेट सकिएको भन्दै त्यसका लागि अर्थ मन्त्रालयसँग छलफल भइरहेको जनाए ।

‘हामीसँग आइसियूका लागि आवश्यक सामान नै छैनन् ।’ राईले भने, ‘यसको व्यवस्थापन चाँडै गरेर थप बेड सञ्चालनमा ल्याउने छौँ । ५२ वटै बेड सञ्चालनमा ल्याउन भने केही समय लाग्न सक्छ ।’ उनले अरू बेड आउनेबितिक्कै सट्टापट्टा गर्न सकिने भएकाले बेडका विषयलाई ठूलो समस्याको रूपमा लिन नहुने बताए ।

‘बेड किन्दा बच्चा राखेर उपचार गर्ने र एक ठाउँबाट अर्को ठाउँमा लैजाने किसिमका पाइयो । आइसियूमा बच्चाहरू धेरै राख्नुपर्ने भएकाले हाललाई भएका बेडमा स्टेन लगाएर चलाउने छौँ’ राईले भने, ‘तर सधैँ यस्ता बेडबाट सेवा दिन समस्या हुने भएकाले अन्य बेडहरू थप्नेछौँ ।’

  • आजको नयाँ पत्रिकामा अर्जुन अधिकारीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *