‘विकिनी किलर’ शोभराजको मुटुको भल्भ फेरिदै

काठमाडौँ, २९ जेठ । ‘मिस्टर जेलर, म अब धेरै बाँच्दिनँ होला, मरेपछि मेरो शव चिरफार नगरिदिनू, दूतावासमा बुझाइदिनू,’ करिब तीन महिनाअघि केन्द्रीय करागारका जेलर वेदप्रसाद खरेलसँग रुँदै वेदना पोख्दा चाल्र्स शोभराजको शरीर सुन्निएको थियो, सास फेर्न गाह्रो थियो । शारीरिक मात्र होइन मानसिक रूपमा पनि उनी निकै कमजोर भइसकेका थिए ।

१३ वर्ष जेल बस्दा उनी सधैँ दम्भी थिए, आफूमाथि ठूलै विश्वास थियो । उनी भाग्न सक्ने डरले मात्र होइन, उनीमाथि हमला हुन सक्ने डरले पनि प्रशासनले शोभराजलाई गोलघरमा राखेको थियो । तर, उनी कैदीबन्दीसँग मात्र होइन, जेलर र प्रहरीसँग पनि सधैँ उच्च मनोबलका साथ कुरा गर्थे ।

सुन्धारास्थित केन्द्रीय कारागारमा पनि अस्पताल छ । त्यसैले सामान्य अवस्थामा उनको स्वास्थ्योपचार त्यही अस्पतालभित्र हुन्थ्यो । तर, जब उनको मुटुको भल्भमा समस्या छ भन्ने प्रारम्भिक रिपोर्ट आयो, थप जाँच गर्न उनलाई गंगालाल अस्पताल लगियो । गंगालालका डाक्टरले शोभराजको अवस्था प्रतिकूल भएको भन्दै छिटै अप्रेसनको तयारी गरे ।

शोभराजले नेपालमा आफूमाथि षड्यन्त्र भएको आशंका गर्दै अप्रेसन गर्न अस्वीकार गरेका थिए । तर, सम्पूर्ण मेडिकल रिपोर्ट आफ्नो मातृभूमि फ्रान्स पठाएर त्यहा“का डाक्टरले पनि अप्रेसन अनिवार्य छ भन्ने पुष्टि गरेपछि मात्र उनी अप्रेसनका लागि तयार भएका हुन् ।

शोभराजको मुटुको अप्रेसन २ असारका लागि मात्र तय भएको थियो । तर, समस्या जटिल हुँदै गएपछि डाक्टरहरूले सोमबार नै उनको अप्रेसनको तयारी गरेका छन् । केन्द्रीय कारागारका जेलर खरेलका अनुसार शोभराजलाई शुक्रबार गंगालाल अस्पतालमा भर्ना गरिएको छ । उनलाई गंगालाल अस्पतालको डिलक्स रुममा राखिएको छ ।

निहिताले दिइन् रगत

अप्रेसनका लागि शोभराजकी ‘श्रीमती’ निहिता विश्वासले रगत दिएकी छिन् । अस्पताल स्रोतका अनुसार निहिताको पनि रगत समूह ओ पोजेटिभ भएकाले उनले शोभराजका लागि रक्तदान गरेकी छिन् । तर, अप्रेसनका लागि थप रगत अस्पतालले पनि व्यवस्थापन गरेको छ ।

निहिता आइतबार आमा शकुन्तला थापासहित शोभराजलाई भेट्न अस्पताल पुगेकी थिइन् । निहिताले लामो अन्तरालपछि मात्र शोभराजलाई भेटेकी हुन् । आठ वर्षअघि शोभराजले जेलमै सिन्दुर हालेर निहितालाई श्रीमती बनाएका थिए । तर, पछिल्लो समय निहिता शोभराजलाई भेट्न जेल जान छाडेकी थिइन् । पछिल्लो समय उनीहरूबीचको सम्बन्ध राम्रो थिएन । यद्यपि, निहिताले अप्रेसनका क्रममा रगत दिएर शोभराजप्रति माया देखाएकी छिन् ।

  • आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *