औषधि लिइरहेका १७ एचआईभी संक्रमित एक्कासी गायब

बुटवल, २८ जेठ ।  लुम्बिनी अञ्चल अस्पतालको एआरटी (एन्टिरेक्ट्रोभाइरल ट्रिटमेन्ट) केन्द्रबाट सेवा लिइरहेका केही एचआइभी संक्रमित सम्पर्कमा नआएपछि खोजी गरी औषधि नियमित गराउने अभियान सुरु गरिएको छ । केन्द्रबाट सेवा लिएमध्ये १७ जना पूर्ण सम्पर्कमा छैनन् भने ११ जना अनियमित भएका छन् ।

एड्स हेल्थ केयर फाउन्डेसन (एएचएफ) नेपालका क्षेत्रीय संयोजक धर्मराज भट्टराईले १७ जनामध्ये केहीको मृत्यु भएको र केही अन्य जिल्लामा उपचाररत रहेकाले पूर्ण सम्पर्कमा नरहेको बताए । उनले ११ जना अनियमित भएकाले उनीहरूको खोजी सुरु गरिएको बताए ।

नियमित तीन महिना औषधि सेवन गरे जोखिमपूर्ण व्यवहार गरे पनि एचआइभी सर्ने सम्भावना ९६ प्रतिशत नहुने भएकाले सम्पर्कबाट टाढा भएकाको खोजी गर्न थालिएको भट्टराईले जानकारी दिए ।

संक्रमित १७ जनाको अवस्था अज्ञात

एआरटी केन्द्रबाट एचआइभी उपचार सेवा लिइरहेकाको तथ्यांक एक हजार १४ जना रहे पनि उनीहरूको तथ्यांक फेला पार्न नसकिएको अस्पतालले जनाएको छ ।

लुम्बिनी अञ्चल अस्पताल र एएचएफ नेपालको संयुक्त आयोजनामा एचआइभी बिरामीको तथ्यांक अध्ययन गर्दा संक्रमितहरूमध्ये १७ जनाको अवस्था अज्ञात रहेको पाइएको अञ्चल अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मीले बताए ।

उनका अनुसार हाल नियमित एआरटी सेवा लिइरहेका संक्रमितहरूको संख्या ९ सय ९७ मा आइपुगेको छ । जसमा आठ पुरुष र तीन महिला गरी ११ जना अनियमित भएकाले आइतबारदेखि अभियान थालिने रेग्मीले बताए ।

औषधि लिन आउने भाका नाघेका, तर तीन महिना अवधि नकटेका उनीहरूलाई तुरुन्तै खोजी गरी नियमित गराउनुपर्ने अवस्था देखाएकाले लुम्बिनी अञ्चल अस्पताल र एएचएफ नेपालले अभियान सुरु गर्न लागेको हो ।

लुम्बिनी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र सञ्जेल क्षेत्रीले केन्द्र र अस्पतालबाट भइरहेको सेवालाई अझ प्रभावकारी बनाउन लागिपरेको बताए । उपचार लिइरहेका ५३ मध्ये १२ बालक र ३४ बालिका रहेको रेग्मीले जानकारी दिए । उपचार लिएका सातजना वयस्क भइसकेका छन् ।

सात संक्रमित महिलाले सन्तानलाई जन्म दिए
लुम्बिनी अञ्चल अस्पतालमा यस आर्थिक वर्षमा एचआइभी संक्रमित सात महिलाले बच्चा जन्माएका छन् । उनीहरूले पिएमटिसिटी (संक्रमित महिलाबाट बच्चामा संक्रमण रोक्ने पद्धति) सेवामार्फत बच्चा जन्माएको एएचएफ नेपालका संयोजक धर्मराज भट्टराईले बताए ।

लगातार तीन महिना औषधि सेवन गरे यौनसम्पर्क गर्दा पनि संक्रमण नसर्ने सम्भावना भएकाले लुकेका संक्रमितलाई औषधि सेवनको तहसम्म ल्याउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

  • आजको नयाँ पत्रिका दैनिकमा खवर छ
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *