बाँदरे ज्वरो (मंकी फिभर) के हो ? कसरी बच्ने ?

डा. शेरबहादुर पुन

किसानले लगाएको बाली नाली बाँदरले आएर नष्ट गर्नु कतिपय स्थानका लागि नौलो होइन । जंगल छेउका हाम्रा गाँउ बस्तीमा हेरयौँ भने अहिले पनि बाँदर धपाउन र अन्नबाली जोगाउन खेतबारी छेउमा छाप्रो नै बनाएर बसेको देखिन्छ ।

यसको अर्थ कतिपय अवस्थामा कतिपय व्यक्तिको जम्काभेट बाँदरसंग हुनसक्छ । गाँउका कुरा छाडीदिउँ यही काठमाडौँका कुरा गरौँ न पशुपति, स्वयंम्भू तथा थापाथलीमा बाँदर र मानिसको भेट मिनेट मिनेटमा हुन्छ ।

मैले यहाँ के कुरा उठाउन खोजेको भने बाँदरसंग यसरी भेट हुने क्रममा उसले गर्न सक्ने प्रत्यक्ष आक्रमणको डर त छदैछ, त्यसबाहेक अप्रत्यक्ष रुपमा कुनै रोग सार्दिएर जान्छ कि भन्ने पनि हो ।

किनभने जंगली बाँदरसंगको सामिप्यताबाट मानिसमा विभिन्न प्रकारका रोगहरु सरेको विश्वका विभिन्न अध्ययनहरुले देखाएको छ । हुनपनि अफ्रिकामा देखिएको इवोला भनौँ वा कुनै समय प्राणघातकको संज्ञा पाएको एचआईभी एड्स मानिसमा प्रवेश गराउने माध्यम बाँदर नै थियो । अहिले अर्को रोग जो बाँदरबाट नै सर्छ मंकी फिवर अर्थात बाँदरे ज्वरो देखा परेको छ ।

के हो मंकी फिवर( बाँदरे ज्वरो ) ?

बाँदरलाई धेरै रोगहरुको सेल्टर अर्थात बासस्थान मानिन्छ । बाँदरमा सेल्टर लिएको रोग मानिससम्म पुरयाउन त्यससंग सापिप्यता राख्ने किर्ना, भुसुना, लामखुट्टे आदिले मध्यस्तकर्ताको भूमिका खेल्दछ । त्यस्तै मध्यको एक मंकी फिवर अर्थात बाँदरे ज्वरो ।

बाँदरमा हुने किर्नाको टोकाईबाट मानिसमा सर्ने एक प्रकारको भाइरस हो मंकी फिवर । यसलाई क्यसानुर फोरेस्ट डीजिज(Kyasanur Forest Disease ) पनि भनिन्छ। हाल यसले छिमेकी देश भारतमा व्यापक रुपमा प्रभाब पारिरहेको छ।

पहिलो पटक सन् १९५७ मा भारतको कर्नाटक राज्यको क्यसानुर जंगलमा पहिलो पटक पत्ता लागेकोले यसको नाम क्यसानुर फोरेस्ट डीजिज रहन गएको हो।

तत् पश्चात भारतमा हरेक बर्ष ४०० देखी ५०० जनामा संक्रमण हुने तथ्यांकहरुले देखाउँछ। भारतको महाराष्ट्रमा गएको ७/८ महिनामा मात्रै ३२० जना संक्रमित भएको र २० जनाको मृत्यु भएको देखिन्छ।यसको मृत्युदर ५५ सम्म हुने भनिएता पनि भारतको महाराष्ट्रमा हाल देखिएको मंकी फिभरको मृत्युदर ६५ भन्दा बढी छ ।

मानिसमा कसरी सर्छ मंकी फिवर ? लक्षण के के हुन् ?

यो खासगरी बिरामी वा भर्खरै मृत्यु भएको बादरबाट किर्नाको मध्यमबाट मानिसमा सर्ने गर्दछ । गाई, भैसी, भेडा बाख्रामा पनि यो भाइरस हुने भएता पनि यी जनावरबाट सर्ने सम्भावना भने अतिनै दुर्लब मानिन्छ ।

संक्रमण भएको झन्डै एक हप्ता पछि लक्षणहरु देखा पर्ने पर्दछ। शुरुमा उच्च काम ज्वरो आउने, टाउको दुख्ने हुन्छ भने, यसको ३(४ दिनपछि अत्यधिक मांशपेशीका दुख्ने, पेटको समस्या देखिने र रक्तश्राप हुनसक्दछ।

एक दुइ हप्ता पछि बिरामी आफै ठिक हुन् सक्दछ तर झन्डै २०५ जतिलाई तेस्रो हप्तामा यो रोग फर्केर ऑउदछ। र यो समयमा स्नायु प्रणाली र दृष्टिमा समस्या आउन सक्दछ।

समयमा नै रोग पहिचान र उपचार नगरे बिरामीको मृत्यु समेत हुन् सक्दछ। हाल भारतको महाराष्ट्रमामा मंकी फिभरले मानिसको मृत्यु गराई रहेकोले स्वास्थसंग सम्बन्धित निकायहरु गम्भीर भएर स्वस्थ शिबिर नै खडा गरी संक्रमितहरुको उपचार गरिरहेका छन्।

नेपाल पनि सतर्क हुँन जरुरी छ

माथि उल्लेख गरे झैँ हाम्रो गाँउघरमा बेला बखतमा हुने बादर आतंक वा नजिको सामिपत्य हुने भैरहेकोले यो रोगको अवस्था के छ भनेर भारतमा देखिएको अनुभबबाट भएपनि सिक्नु पर्ने बेला आइसकेको पर्दछ।

गत बर्ष किर्नाबाट सर्ने स्क्र्ब टाईफस नामको रोग नेपालको बिभिन्न जिल्लाहरुमा व्यापक रुपमा फैलिएको अवस्थमा, यो भाइरस पनि किर्नाबाट नै सर्ने भएकोले मंकी फिभरको सम्भावनालाई पनि नकार्न सकिदैन। यसको लागि यो भाइरस निदान गर्ने प्रयोशाला सामग्री पनि हुनु अति आवस्यक हुन्छ।

यो गाँउघरको मात्र समस्या नभई शहरहरुमा रहेको मठ मन्दिरहरुको बादरहरुमा समेत यो रोगको अवस्थ के छ भनेर सम्बन्धित निकायले ध्यान पुराउने पर्ने अवस्था आइसकेको छ। अब पनि ज्वरो आए टाईफाईड हो भनेर मात्र उपचार गर्ने हो भने बिरामीहरुमा स्वस्थ जटिलताहरु अरु बढ्ने छ ।

र ज्यान नै गुमाउन पर्ने अवस्था समेत शृजना हुन् सक्ने छ, भने जनस्वास्थको नजरले पनि यो रोग फैलिएमा समयमा नियन्त्रण गर्न बाट हामी चुक्नेछौ।

यसको लागि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय जनस्वास्थ केन्द्रिय प्रयोगशाला तथा एपीडेमियोलोज़ी महाशाखा मिलेर यसको अगुवाई गर्न सक्दछ। अबको नविनतम सरुवा रोगहरुको चुनौतीलाई समयमा नै सम्बोधन गर्न यो समन्वय अति जरुरी नै भैसकेको छ।

  • डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पताल टेकुका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *