स्वास्थ्य संस्थामा जीवनजलसमेत छैन

बाजुरा, २० जेठ । बाजुराको विकट उत्तरी भेगमापर्ने हिमाली गाउँपालिका साविकको बिच्छया स्वास्थ्यचौकीमा सामान्य जीवनजल समेतको अभाव रहेको छ ।

दैनिक झाडापखालाका दशदेखि बाह्रजनासम्म बिरामी आउने भए पनि सामान्य जीवनजलसमेत नभएको स्वास्थ्य चौकीका इन्चार्ज कमल आचार्यले बताए।

छोरालाई झाडापखालाको उपचारका लागि आएकी बिच्छया नेटाकी सुनकला रोकायाले सामान्य जीवनजलसमेत नपाएर रित्तो हात घर फर्किए । उनी जस्तै दैनिक दशदेखि बाह्रजना झाडापखालाको उपचारका लागि आउने बिरामीले सामान्य जीवनजलसमेत नपाउने गरेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा फोनमार्फत खबर गरेको भए पनि जिल्लाबाट नै नआएको इन्चार्ज आचार्यले बताए । बिच्छयामा निजी औषधि पसलसमेत नभएकाले यहाँका बिरामी दुई तीन दिन लगाएर कोल्टी उपचारका लागि जान बाध्य भएका छन् ।

बिच्छया स्वास्थ्य चौकीमा जीवनजल अभाव भएको दुई साता भइसकेको छ । त्यस्तै सिटामोल, आँखा पाक्ने, कान पाक्ने औषधिलगायत एन्टिबाइटिककोसमेत चरम अभाव रहेको छ ।

परिवार नियोजनका साधनको अभाव भएको महिनाँै भइसकेको छ । कण्डम, पिल्स, डिपो लगाउने सिरिन्जलगायतका परिवार नियोजनका साधन अभाव भएको एक महिनाभएको स्वास्थ्य चौकीमा कार्यरत अनमी सीता थापाले बताए ।

दैनिक सात आठजना परिवार नियोजनको साधनका लागि आउने गरेका छन् । यो स्वास्थ्य संस्था सदरमुकाम मार्तडीबाट चार दिनको पैदल दुरीमा रहेको छ । यहाँ सधँैजसो औषधि अभाव भइरहने गरेको छ ।

जिल्लामा पटक÷पटक खबर गर्छौ, थौरै औषधि मात्र पठाउँछन्, त्यो त मन्दिरको प्रसाद बाँडे झै गर्नुगरेको चौकीका इन्र्चाज आचार्यको भनाइ छ । धेरै विकट भएकाले राज्यको पहुँच पनि नहुने गरेको छ । जिल्लाबाट कहिल्यै स्वास्थ्य संस्था अनुगमन नहुने गरेको स्थानीयवासी डबल थापाले बताए ।

स्वास्थ्य केन्द्रमा ३५ प्रकारका औषधि अनिवार्य भए पनि दश बाह्र प्रकारका मात्र रहेको संस्थाले बताएको छ । एकातिर औषधि अभाव अर्कोतिर स्वास्थ्यकर्मीको अभाव रहेको छ । अहिले एक जना अहेब, एकजना जिल्ला करार अनमी र एकजना कार्यालय सहयोगी मात्र रहेका छन् । एक जना एचए, एकजना अहेब, एकजना अनमी रिक्त रहेको छ । दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएकाले उपचारमा समस्या भएकोे छ । बिच्छया मात्र नभई बाजुराका उत्तरी क्षेत्रका रुगिन, वाई, गोत्री, साप्पाटालगायतका स्वास्थ्य संस्थामा औषधिको अभाव रहेको स्वास्थ्यकर्मीले बताउने गरेका छन् ।

औषधि अभाव भएको खबरले क्षेत्रीय स्वास्थ्य निर्देशनालयबाट औषधि माग गरिएको भए पनि क्षेत्रीय कार्यालयमा नै औषधि अभाव रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत रमेश कुवँरले बताए। रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *