दुगर्ममा प्रसूति सेवा : चुनौति र कारणहरु

ताप्लेजुंग हिमाली जिल्ला हो । यहाँ हरेक गाउँ पुग्दा उकाली ओराली नगरी सुखै छैन । सदरमुकाम फुङ्गलिङ्ग बजार आउँदा पनि सबैले उकाली ओराली त गर्नै पर्छ । त्यसो त हरेक पहाडी तथा हिमाली जिल्लाको समस्या हुन् उकाली ओराली ।

डा. उत्तम पच्या

विषय प्रवेश गरौँ, गुणस्तरीय स्वास्थ्य सेवाका लागि हामीहरुले के के योजना बनायौ ? के के कार्यक्रम गर्दैछौँ ? के ति कार्यक्रम हरेक जिल्लाका लागि व्यवहारिक रुपमा ठिक छन् त ? कति पटक हामीले यसरी समिक्षा तथा आत्मा समिक्षा गर्यौं ? नेपाल भरि को हरेक जिल्लालाई ब्लान्केट थ्योरीमा टार्गेट दिएर व्यवहारिक होला त ? यो जिल्ला सापेक्षिक हुनुपर्छ । सबै जिल्ला मा एउटै फर्मुला लागु हुँदैन ।

गाउँबाट सदरमुकामसम्म आउने बाटो राम्रो छैन । अझ बिरामीलाई बोकेर ल्याउन कति हो कति गाह्रो । यस्तो अवस्थामा गर्भवती महिलाको ज्यान गयो भनेर ठुलो खैलाबैला हुन्छ । त्यो पनि जहाँ बर्थिंग सेन्टर (सुत्केरी गराउने केन्द्र) छैन, त्यहीकै गर्भवती महिला सुत्केरी हुन नसकेर जीवन गुमाउदा ।

कुनै गर्भवती महिला सुत्केरी हुन नसकेर मर्नु त्यो दुखद घटना हो तर त्यसको रुट कज के हो भन्ने पहिल्ल्याई त्यसको समाधान खोज्नु महत्वपुर्ण हो जस्तो मलाई लाग्छ । यसकारण कि अरु गर्भवती महिलाले सुत्केरी हुन नसकेर ज्यान गुमाउन नपरोस । यसबारे स्थानीय तह देखि केन्द्रिय तहसम्म केहि ठोस कदम चाल्नै पर्दछ ।

बिकासको पहिलो खुड्किलो बाटो रहेछ । त्यसमा पनि मोटर बाटो । ताकि कुनै पनि गर्भवती महिला पारवहनको ढिलाईले गर्दा ज्यान गुमाउन नपरोस । बाटोले स्वास्थ्य सेवा मात्र नभएर हरेक कुरामा सहयोग पुग्छ । शिक्षा ,रोजगार आदि ।

विदेशका कुरा गरौँ न अमेरिकामा सयौं किलोमीटर टाढा रोजगारका लागि मान्छे पुग्ने गर्छन, किन ? त्यहाँ बाटो र यातायातको राम्रो सुबिधा छ । हुन त मैले यहाँ अमेरिकाको सिस्टमसंग दाज्न खोजेको होइन तर बाटो र यातायातका साधनले गर्दा स्वास्थ्यमा मात्र नभई अरु विधामा पनि सहज सुविधा हुन्छ भन्न खोजेको हो ।

अब पुन प्रसङ्ग जोडौँ

ताप्लेजुंग जिल्लाको चाँगे गाउँकी एक गर्भवती महिलाको हो । गाउँघर क्लिनिकमा स्वास्थ्य सेवा दिन जाँदा चाँगे हेल्थ पोस्ट की अनमीले ती महिलाको गर्भवती जांच गर्नु भएछ र बच्चा उल्टो भएको र प्रसव ब्यथा लागि सकेकोले जिल्ला अस्पताल ताप्लेजुंगमा प्रेषण गर्नु भयो । यो करिब दिउसो २ बजेको खवर थियो हामीलाई ।

सुत्केरी पछि प्रफुल्ल मुद्रामा आमासंग

करिब ३/ ४ घन्टामा आइपुग्नु पर्ने अनुमानमा हामी तयारी अवस्थामा बस्यौँ तर ६ बजिसक्यो बिरामी आइपुगेन । ७- ८- ९ हुँदै १० बज्दा समेत बिरामीको अत्तो पत्तो छैन । अब चै पांचथर तिर लगियो होला भनेर क्वाटरतिर लाग्न के थालेका थियौँ ति गर्भवती महिला उनकी आमासंग टुप्लुक्क आइपुगिन ।

किन ढिला गरेको भनेर सोध्दा, आफुहरु आउदा गाडी छुटेको र हिड्दै आएको भन्ने जवाफ दिइन । त्यसरी हिड्दै आउदा ती प्रसव ब्यथा लागेकी महिलालाई कति सकस भयो होला ? कल्पना गर्न सकिन्छ ।

सुत्केरी पुर्व गरिने रगत जाँचको लागि रगतको नमुना तुरुन्त प्रयोगशालामा पठाई अल्ट्रसाउण्ड तुरुन्त गरि बच्चाको स्थिति हेरी अपरेसन कक्षतिर लाग्यौँ । तुरुन्त ढाडमा लगाउने सुइ दिएर सो महिलाको अपरेसन गरी (सिजरियनसेक्सन) बच्चा डेलिवेरी गर्यौं ।

यस सफल उपचारमा साथ दिने डा. रन्जीतराज पाठक, स्टाफ नर्स शर्मिला घलान, सिनियर अनमी ओम कुमारी गुरुङ, एनेस्थेसिया एसिस्टेन्ट जगत राजबंशी साथै प्रयोगशालामा रगतको जांच गर्ने ल्याब एसिस्टेन्ट शिवराज कोइराला हुनुहुन्थ्यो । उहाँहरुको जोश जाँगर र तत्परताले अहिले आमा र बच्चा दुवै स्वस्थ छन् भोलि उनीहरुको डिस्चार्ज हुन्छ ।

अहिले सम्मको मान्यता ३ ओटा ढिलाईले गर्भवती महिलाको मृत्यु हुने देखिएको छ :
१. उपचारको लागि घरमा निर्णय ढिलो गरेर
२. उपचारको लागि अस्पतालमा पुर्याउन ढिलो गरेर
३. अस्पतालमा उपचार गर्न निर्णय ढिलो गरेर

किन हुन्छ उपचारका लागि ढिलो निर्णय ?
१. महिलाको सामाजिक तथा आर्थिक अवस्था कमजोर भएर
२. गर्भावस्थाको समस्या र कहिले स्वास्थ्य सेवा लिने भन्ने कुरा थाहा नभएर
३. मर्नु नै निको भन्ने सोचाई राखेर
४. आफ्नो स्वास्थ्यको उपचारमा निर्णय लिने क्षमतामा व्यवधान भएर

किन हुन्छ अस्पताल पुग्न ढिलाई ?
१. अस्पताल टाढा भएर
२.  पारवाहनको सुबिधा नहुँदा, भएमा पैसाको कमि हुँदा
३. सडकको दुर अवस्था
४. भौगोलिक समस्यास् पहाड, हिमाल तथा नदीनाला

किन हुन्छ अस्पतालमा उपचार गर्न निर्णयको ढिलाई ?
१. कमजोर भौतिक सुबिधा तथा स्वास्थ्य सुबिधा
२. राम्रो तालिम प्राप्त स्वास्थ्यकर्मीहरुमा कमि हुनु
३. प्रेषण प्रणालीमा कमजोर हुनु

नेपाल जनसंख्या स्वास्थ्य सर्वेक्षण २००६ का अनुसार मातृ मृत्यु दर १ लाख जीवित शिशु जन्ममा २८१ जना छर २०१६ को नेपाल जनसंख्या स्वास्थ्य सर्वेक्षणको शुरुवाती रिपोर्टमा मातृ मृत्यु दर बारे उल्लेख गरिएको छैन ।

सायद पूर्ण रिपोर्टमा आउला । अबको दिगो बिकास लक्ष्य २०१५(२०३० सम्ममा यो दर ७० भन्दा कम गर्ने लक्ष्य छर यो लक्ष्य पुरा गर्न यी तीन ढिलाई लाइ अङ्गीकार गरेर त्यसको समाधान तर्फ जाने हो भने अबश्य पनि दिगो बिकास लक्ष्य को मातृ मृत्यु दर ७० भन्दा कम गर्न नसकिने होइन ।

यी तीन ढिलाईलाई बुझेर मातृ मृत्यु दर घटाउन दोस्रो चरणको स्थानीय चुनावमा भाग लिने सम्पूर्ण उम्मेदवारहरुलाई हार्दिक आव्हान गर्न चाहन्छु ।

* डा.  पच्या जिल्ला अस्पताल ताप्लेजुङ्गमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *