झाडापखालाको औषधि बिक्री वितरण सुरु

धनगढी, १५ जेठ । नेपाल औषधि लिमिटेडले गत वैशाखदेखि उत्पादन गर्न थालेको झाडापखालाको उपचारका लागि प्रयोग हुने जीवनजल ७ नं प्रदेशबाट बिक्री वितरण गर्न थालेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लिमिटेडका महाप्रबन्धक डा रोबसकुसुम सुवेदीले कम्पनीले पहिलो चरणमा जीवनजल उत्पादन गरी पहिलो बिक्री वितरण साविक सुदूरपश्चिम ७ नं प्रदेशबाट सुरु गरेको जानकारी दिए ।

स्वास्थ्य उपचार गर्न पाउने नेपालीको संवैधानिक हक अधिकारको प्रत्याभूति गराउन र कुनै पनि नेपालीले औषधिको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने मनसायले कम्पनीले औषधि उत्पादन गरी बिक्री वितरण सुरु गरेको सुवेदीले बताए ।

कम्पनीले उत्पादन गरेको जीवनजल प्रतिप्याकेटको बिक्री रु नौ कायम गरिएको छ । बजारमा पाउने अन्य कम्पनीको जीवनजल प्रतिप्याकेटको मूल्य रु १० रहेको जनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले कायम गरेको कुशल उत्पादन प्रक्रियाको मापदण्ड पालन गर्न नसक्दा लिमिटेडको औषधि उत्पादनको काम गत सात वर्षदेखि बन्द रहेको थियो ।

उद्योग मन्त्रालयको विशेष पहलमा गएको वैशाखदेखि औषधि उत्पादन सुरु गरिएको कम्पनीका सचिव टीकाराम अर्यालले बताए ।

लिमिटेडले दोस्रो चरणमा सिटामोल, एमजिप्सलगायतका नन्पेन्सिलिन ट्याब्लेट उत्पादन गर्न लागेको र यी उत्पादनसमेत आगामी साउनसम्म बिक्री वितरण हुने बताइएको छ ।

विसं २०४०मा शाही औषधि लिमिटेडका नाममा स्थापना भएको यो कम्पनीको नाम परिवर्तन गरी हाल नेपाल औषधि लिमिटेड राखिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *