थाइराइड रोगबारेका सातवटा भ्रम र बास्तविकता

डा. अंशुमाली जोशी, डिएम इन्डोक्राइनोलोजिष्ट
डा. अंशुमाली जोशी,
डिएम इन्डोक्राइनोलोजिष्ट

१. थाइराइड र खानपिन :

खानपिनको गडबढीले थाइराइड रोग लाग्ने धेरैलाई भ्रम छ । तर यो खानपिनको गडबढीले हुने रोग होइन् । कुनै थाइराइड रोग शरीरको प्रतिरोधात्मक शक्तिको गडबढीले हुन्छ भने कुनै ग्रन्थीले भाइरल इन्फेक्सनले हुने गर्छ । आयोडिनको कमी भएर वा धेरै भएर पनि थाइराइड रोग लाग्न सक्छ । यसका साथै विकिरणका कारण पनि थाइराइड ग्रन्थीको क्यान्सर हुने सम्भावना बढ्छ ।

तर हाम्रो समाजमा खानपिनसम्वन्धी धेरै गलत हल्ला सुनिन्छन् । थाइराइड बन्दा र काउली धेरै खाएर लाग्ने रोग भन्ने सम्मका भ्रम छन् । जुन मात्रामा बन्दा र काउली खाएर ग्रन्थी सुन्निन्छ त्यति परिमाणमा हामी बन्दा र काउली सेवन नै गरेका हुँदैनौँ । थाइराइडाका विरामीलाई मोटोपनको समस्या बढी देखिने हुँदा तौल घटाउन खानामा चिल्लो र गुलिायो कम गर्नुपर्छ ।

आयोडिन बढी भएको खानेकुरा जस्तै समुद्री माछा र जीव भने धेरै खानु हुँदैन । नेपालमा हामी समुद्री खानेकुरा कम मात्रामै सेवन गर्छौँ । दूधमा अधिक मात्रामा क्याल्सियम हुन्छ । त्यसैले थाइराइडको औषधी सेवन गरेको कम्तीमा चार घण्टापछि मात्र दूध सेवन गर्नुपर्छ । यसैगरी आइरन बढी भएको खाना अथवा आइरन चक्कीहरु कम्तीमा पनि दुई घण्टापछि सेवन गर्नुपर्छ ।

thyraid

२. थाइराइड र व्यायम

थाइराइड रोगलाई नै भनेर कुनै प्रकारका व्यायम हुँदैन् । तर थाइराइड रोगमा मोटोपनाको समस्या बढी हुने हुनाले व्यायम जरुरी हुन्छ । जुनसुकै व्यायम गर्न पनि सकिन्छ ।

३. थाइराइड र मधुमेह

थाइराइड रोगले मधुमेह रोग जन्माउने भ्रम अधिकांशमा पाइन्छ । थाइराइडले कहिल्यै मधुमेह जन्माउदैन । मधुमेहले पनि थाइराइड रोग जन्माउने होइन। थाइराइड रोगमा मोटोपनको समस्याले गर्दा मात्रै मधुमेहको सम्भावना बढी हुन्छ तर एक किसिमको थाइराइड रोग हाइपर थाइराइरोडिजममा क्षणिक रुपमा मधुमेह देखा पर्न सक्छ ।

४. थाइराइड र नि:सन्तानपन

नि:सन्तानपनबारे समाजमा ठूलो भ्रम छ । थाइराइड रोगमा नि:सन्तानको समस्या हुनसक्छ भन्ने भ्रम व्यप्त पाइन्छ । तर औषधि नियमित सेवन गरेर सहि उपचार गरेमा थाइराइडले नि:सन्तानपन हुँदैन । समाजमा थाइराइड रोग लागेकासंग विहेबारी गर्न हिचकिचाउने प्रचलन देखिन्छ । यो सरासर गलत हो ।

५. थाइराइड र टन्सिल :
थाइराइडका कारण टन्सिल बढ्ने र दुख्ने समस्या हुन्छ भन्ने धेरैलाई लाग्ने गरेको पाइन्छ । तर थाइराइड रोगले टन्सिल बढने र दुख्ने समस्या हुँदैन । थाइराइड रोग र टन्सिल बीचमा कुनै पनि सम्बन्ध छैन् । थाइराइड रोगमा घाँटीभित्रको श्लेष्मा झिल्ली सुख्खा हुने हुनाले केही अड्किएकोजस्तो हुने वा घाँटी खसखस हुने हुनसक्छ ।

६. जिन्दगीभर औषधी खानुपर्छ :
थाइराइड रोग विभिन्न कारणले हुनेगर्छ । यदि कुनै व्यक्तिमा रोग प्रतिरोधात्मक शक्तिको गडबढीबाट थाइराइड रोग लागेको रहेछ भने त्यो जिन्दगीभरको रोग हो । यसका लागि जिन्दगीभर नै औषधि खानुपर्छ ।

तर यदि भाइरसको आक्रमणबाट थाइराइड रोग भएको रहेछ भने त्यो सामान्य रोग हो । केही समय पछि आफै निको हुन्छ । जिन्दगीभर औषधि सेवन पनि जरुरी छैन ।

७. थाइराइड र मोटोपन :
थाइराइड रोगले गर्दा बढ्ने वजन चार पाँच किलोग्राम भन्दा बढी हुँदैन् । मोटोपन आफैमा रोग हो । खानपिनमा नियन्त्रण गरेर नियमित व्यायम गरेर मोटोपन नियन्त्रण गराउन सकिन्छ । थाइराइड रोग लाग्यो भन्दैमा मोटपन घटाउन नसकिने होइन, त्यसकारण थाइराइड रोगले गर्दा मोटोपन घटाउन सकिदैन भन्नु गलत हो ।

यस्ता केही भ्रम र हल्लाले थाइराइडका विरामीमा ठूलो डर र त्रास पैदा भएको देखिन्छ । थाइराइड रोगको समयमै पहिचान गरेर सही उपचार गरेमा यसले कुनै पनि नकारात्मक असर पार्दैन । त्यसका भ्रमको पछाडी नलागि उपचार तर्फ लागौँ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *