नर्सिङ भर्ना प्रक्रियामा अनियमितताको आशंका, सम्पूर्ण कागजात सतर्कता केन्द्रको नियन्त्रणमा

  • सुधिर ढुंगेल

काठमाडौँ, ९ जेठ । नर्सिङ (स्नातकोत्तर तह) भर्ना प्रक्रियामा अनियमिता भएको उजुरी परेपछि राष्ट्रिय सतर्कता केन्द्रले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान(आईओएम)बाट सम्पूर्ण कागजात नियन्त्रणमा लिएको छ ।

प्रवेश परीक्षामा अघिल्लो क्रममा नाम निकाल्न सफल व्यक्तिलाई भर्नाबाट बन्चित गरि पछिल्लो क्रमका व्यक्तिलाई भर्ना लिइएको आरोपमा उजुरी परेपछि सतर्कता केन्द्रले छानवीनका लागि भन्दै सम्पूर्ण कागजात नियन्त्रणमा लिएको हो ।

सतर्कता केन्द्रमा २६ नम्बरमा नाम निकाल्न सफल रितु यादवलाई भर्ना प्रक्रियामा सहभागी नगराई २७ नम्बरमा नाम निकालेकी बबिता बुढाथोकीलाई भर्ना प्रक्रियामा सहभागी गराइएको उजुरी परेको छ ।

केन्द्रका प्रहरी सहायक निरिक्षक इन्द्रबहादुर डाँगीको नेतृत्वमा गएको टोलीले गत आइतबार आइओएमबाट सम्र्पूण कागजात लिएको हो ।

आइओएमले प्रवेश परीक्षामा नाम निकालेकाहरुलाई पहिले २२ बैशाखको दिन काउन्सिलिङको मिति तोके पनि पछि ७ जेठका लागि सारेको थियो । सोही अनुसार गत आइतबार आफू १० बजे नै आइओएम पुगेको तर सोही दिन १२ बजेबाट सुरु भएको काउन्सिलिङमा आफूलाई सहभागी हुन नदिएको यादवले बताइन् ।

‘मलाई गेटबाट छिर्न नै दिइएन र म पछिको व्यक्तिलाई काउन्सिलिङका लागि जान दिइयो । त्यसपछि मैले भर्ना प्रक्रियामा धादली भएको र आइओएमका पदाधिकारीले नियतबस मलाई रोकेको महसुस गरि सतर्कता केन्द्र गुहार्न पुगेकी हुँ,’ यादवले भनिन् ।

आइओएमका डीन प्राडा जगदीश अग्रवालले भने यादव काउन्सिलिङमा ढिला आइपुगेको हुनाले अर्को व्यक्तिले अवसर पाएको बताए । उनले सतर्कता केन्द्रका पदाधिकारी समक्ष पनि सोही बयान दिएका छन् ।

सतर्कता केन्द्रले सबै कागजात लगेपछि नर्सिङ स्नातकोत्तर तहको भर्ना प्रक्रिया स्थगित भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *