आफै पनि थाहा पाउन सकिन्छ स्तन क्यान्सर (तरिका सहित)

प्रा.डा. राजेन्द्र बराल, वरिष्ठ क्यान्सररोग विशेषज्ञ

महिलामा हुने क्यान्सरहरूमध्ये पाठेघरको मुखको क्यान्सरपछि स्तन क्यान्सर दोस्रो स्थानमा आउँछ । स्तन क्यान्सर नेपालमा बढ्दो क्रममा छ । यो क्यान्सर ४०–४५ वर्ष कटेका महिलाहरूमा बढी लाग्ने भनिए पनि पछिल्लो समयमा २५–३० वर्षका युवतीहरूमा पनि देखिन थालेको छ । अहिले जुन किसिमले स्तन क्यान्सरको प्रकोप बढ्दै गएको छ, त्यसलाई हेर्दा अबका केही वर्षमा नै महिलामा देखिने क्यान्सरमध्ये यो पहिलो नम्बरमा आउन सक्छ ।

किन हुन्छ स्तन क्यान्सर ?
जुनसुकै क्यान्सर पनि कोषिकाको अनियन्त्रित वृद्धि हो । स्तन क्यान्सर पनि त्यहाँ रहेका कोषिकाहरूको अनियन्त्रित वृद्धि नै हो । कोषिकाहरू अनियन्त्रित वृद्धि गराउने प्रमुख कारक तत्व सुर्तीजन्य पदार्थ हो ।

त्यसैगरी, मादक पदार्थ, अखाद्य वस्तु, रंगहरू, विषादी मिसाइएको खाद्यान्न सेवन पनि यसका कारण हुन् । यसका साथै वंशाणुगत कारणले पनि स्तन क्यान्सर हुन्छ । त्यसैले हामीले क्यान्सरको परिवारिक इतिहास पनि हेर्नुपर्छ ।

आमा, सानिमा, ठूलीआमा तथा मावलीतिरका हजुरआमाहरूमा क्यान्सर थियो कि थिएन ? थाहा पाउनुपर्छ । यसमा बाबुको वंशतिर जाँदैन, आमाको वंशतिर हेर्नुपर्ने हुन्छ । स्तन क्यान्सर र डिम्बाशयको क्यान्सर ५ देखि १० प्रतिशत वंशाणुगत हुनसक्छ ।

जीवनशैलीको कारण हुने स्तन क्यान्सर
वंशाणुगतबाहेक ठूलो संख्यामा महिलाको जीवनशैलीको कारण पनि स्तन क्यान्सर भएको पाइएको छ । जस्तै :

  • विवाह नगर्ने
  • ढिलो विवाह गर्ने
  • विवाह गर्ने तर बच्चा नजन्माउने
  • ढिलो बच्चा जन्माउने
  • स्तनपान नगराउने
  • मोटो जिउ भएका
  • महिनावारी सानो उमेरमा सुरु भएर ढिलो सुक्ने
  • परिवारमा क्यान्सर भएको
  • अत्यधिक चुरोट र रक्सी सेवन गर्ने
  • विश्वमा भएका विभिन्न अध्ययनले सबैभन्दा धेरै स्तन क्यान्सर बच्चालाई नियमित स्तनपान नगराउँदा भएको छ ।

कसरी थाहा हुन्छ स्तन क्यान्सर ?
स्तन क्यान्सर दुई तरिकाले स्क्रिनिङ (पत्ता लगाउने) हुन्छ ।

म्यामोग्राम :
यो स्तन क्यान्सर पत्ता लगाउने एक्सरे हो । यसले स्तनलाई स्क्यानिङ गरी हेरिन्छ । यसरी हेर्दा स्तनमा गिर्खा भए/नभएको, स्तनमा क्यान्सर भएको सजिलै पत्ता लाग्छ । सोहीअनुसारको उपचार गर्नुपर्छ । क्यान्सर छ या छैन मात्र हैन, निको भइसकेको क्यान्सर अर्कोमा सरेको छ/छैन भनेर प्रत्येक वर्ष जाँच गराउनुपर्छ ।

आफ्नो स्तनको आफैँ परीक्षण गर्ने विधि :
क्यान्सर लाग्नबाट रोक्न सकिँदैन । तर, चाँडै पत्ता लगाउँदा भने त्यसलाई निको पार्न सकिन्छ । स्तन क्यान्सर पनि सुरुकै अवस्थामा थाहा भए पूर्ण रूपमा निको हुन्छ ।

अन्य क्यान्सर जाँच गर्न चिकित्सक र अस्पताल जानु अनिवार्य हुन्छ । तर, स्तन क्यान्सरको लक्षण महिला आफैँले जाँच गरी पत्ता लगाउन सक्छन् । महिलाले स्तनलाई छामेर शंका गर्न सक्छन् । यसरी नियमित आफैँले स्तनको परीक्षण गर्ने हो भने ६० देखि ७० प्रतिशतले सुरुकै अवस्थामा स्तन क्यान्सर शंका गर्न सक्छन् । यदि शंका लागेमा तत्काल चिकित्सककोमा उपचार गर्न जानुपर्छ ।

कहिले जाँच्ने ?
२० वर्ष कटेका प्रत्येक महिलाले आफैँ परीक्षण गर्दा राम्रो हुन्छ । नियमित महिनावारी हुने महिलाले महिनावारी भएको ५ दिनपछि जाँच गर्दा राम्रो हुन्छ । तर, महिनावारी अनियमित छ भने प्रत्येक महिनाको कुनै एक निश्चित गतेलाई तोकेर परीक्षण गर्नु राम्रो हुन्छ ।

कसरी गर्ने ?
यो जाँच ऐनाअगाडि उभिएर वा ओछ्यानमा पल्टिएर गर्न सकिन्छ । यसरी जाँच्दा स्तनलाई पाँच भागमा बाँडिएको हुन्छ ः माथिल्लो बाहिरी भाग, माथिल्लो भित्री भाग, तल्लो बाहिरी भाग, तल्लो भित्री भाग र मध्यभाग (निप्पल भएको) । यी सबै भागलाई क्रमशः बिस्तारै ऐनाअगाडि उभिएर या सुतेर जाँच गर्नुपर्छ ।

ऐनामा उभिएर :
१.  ऐनाअगाडि सीधा उभिएर आफ्ना दुवै स्तनलाई हेर्ने । दुवै स्तनको आकार समान छ-छैन ? वनावट, मुन्टो, छालाको रङ र नरमपना फरक तथा स्तनको कुनै भागमा गिर्खा देखिएको छ-छैन हेर्ने ।

२. दुवै हातलाई माथि उठाएर स्तनमा देखापरेका परिवर्तनलाई ऐनाअगाडि उभिएर हेर्ने ।

३. दुवै हातले कम्मरमा हल्का थिचेर ऐनाअगाडि हेर्ने । यसो गर्दा स्तनमा लुकेर बसेका केही परिवर्तन झनै स्पष्ट देखिन्छ ।
सुतेर

  •  देब्रे काखीको मुनि एउटा तकिया राख्ने र देब्रे हातलाई टाउकोपछाडि राखेर सुत्ने । दाहिने हातको बीचका तीनवटा औँलाको माथिल्लो एकतिहाइ भागले देब्रे स्तन छामेर जाँच गर्ने । स्तनलाई औँला र बुढीऔँलाको बीचमा राखेर छाम्ने । यसरी छाम्ने क्रममा घडी घुम्नेतिर या उल्टो दिशामा क्रमबद्ध रूपमा सबै भागमा जाँच गर्ने ।
  • दाहिने काखीमुनि तकिया राखेर माथिकै प्रक्रियाअनुसार स्तन जाँच गर्ने । अन्तमा स्तनको मुन्टोलाई पालैपालो गरी बुढीऔँला र चोरऔँलाको बीचमा राखेर निचोर्ने । स्तनको मुन्टोबाट रगत या फोहोर पदार्थ आउँछ या आउँदैन ।
  • छुट्याइएको पाँचै भागमा क्रमबद्ध रूपमा छामेर हेर्ने । नुहाएको समयमा पनि यो जाँच्न सकिन्छ । यसरी जाँच्दा देब्रे हातले दाहिने स्तन र दाहिने हातले देब्रे स्तन क्रमशः जाँच्ने ।

क्यान्सर भए यी लक्षण देखिन सक्छन् :

  • गिर्खा भेटिने ।
  • स्तनको छाला सुक्खा भएर आउने ।
  • सुन्तलाको दानाजस्तो प्वाल परेजस्तो हुने ।
  • काखीमा गिर्खा आउने ।
  • दूधको मुन्टाबाट पिप आउने ।
  • यस्तो देखिए शंका गरी अस्पताल जानुपर्छ ।
  • विश्वको तथ्यांक हेर्ने हो भने स्तनपान नगराएको स्तनमा बढी क्यान्सर भएको पाइएको छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *