परम्परागत चिनिया चिकित्सा पद्दतिले विश्वलाई दिएको अमूल्य उपहार

डा. खेमबहादुर कार्की, (उसी, चीनबाट)

आज भन्दा करिब ४० बर्ष अघि तितेपातीको एक प्रजातिबाट चीनका बैज्ञानिकहरूले पत्ता लगाएको औलो बिरुद्धको औषधि नै अहिलेको औलो रोकथामको प्राण हो। औलोलाई उन्मुलन गर्न सकिन्छ भन्ने विश्वास हो।चिनिया(किङ्गसा) अहिलेको आर्टिमाइसिनिनमा परिणत गर्न चिनियाहरूले गरेको मेहनतको जति प्रसंसा गरे पनि पुग्दैन।

सन् १९६०को दशकमा अमेरिका र भियतनामको भिषण युद्ध भएको थियो। करिब १० वर्षसम्म चलेको युद्धले ३० लाख मानिसको ज्यान लिएको थियो । त्यतिवेला अमेरिकी सेना मात्रै ५८ हजार बढीको मृत्यु भएको बताइन्छ । तर त्योभन्दा बढी सेना र जनताले औलोबाट ज्यान गुमाएका थिए ।

उत्तर भियतनामको जंगलमा भएको त्यतिवेलाको युद्धमा औलोको महामारी भएको थियो । भियतनाम युद्धमा चीनको सेनाले पनि सहयोग गरेको थियो। त्यो बेलासम्म आलोको औषधि  ‘क्लोरोकुइन’ मात्र थियो तर त्यसले काम गरेन।

क्लोरोकुइनले काम नगरेर आफ्ना धेरै सेनाको मृत्यु भएको खबर सुनेपछि चीनले औलोको नयाँ औषधि पत्तो लगाउन ठुलो सख्यामा बैज्ञानिकहरू परिचालित गर्यो।

हुन त  त्यतिबेला चीन भित्रै पनि औलोको प्रकोप डरलाग्दो थियो। नयाँ औषधि पत्ता लगाउने कुरालाई चिनियाहरूले औलो बिरुद्धको लडाईंको रूपमा लिए। चिनिया सरकारले न्युक्लियर हतियार बनाउने र औलोको औषधि खोजि गर्ने परियोजनालाई बराबर लगानी र प्राथमिकता दिए।

सन् १९६७मा शुरू गरेको खोजले तीन बर्षमा नै परिणाम दियो। औलोको प्रभावकारी औषधि पत्ता लाग्यो । तु युयुको नेतृत्वमा चीनमा दुई हजार बर्ष देखि औलोको लागि प्रयोग भइरहेका विभिन्न जडिबुटीहरूमा अनुसन्धान गर्दा तितेपाती समुहको ‘आर्टिमेसिया अनुवा’ बाट औलो बिरुद्धको औषधि निस्क्यो।

औलो रोगको औषधि बनाउन प्रयोग हुने तितेपाती प्रजातिको बनस्पति ‘आर्टिमाइसिया अनुवा’

चिनिया भाषामा ‘किङ्गसाउ’ भनिने बनस्पतिको पातलाई कुटेर झोल बनाएर खाने भनी १६ सय बर्ष अघि लेखिएको कुरालाई तुको टीमले प्रमाणित गरिदियो। चिनियाहरूले प्रायजसो औषधि तातोपानीसंग वा उमालेर खाने गरेकोमा यसलाई चाही चिसोपानीमा खानुपर्छ भन्ने लेखेएकोबाट यो औषधि तातोमा काम नलाग्ने हुनसक्छ भन्नेकुराको पनि बैज्ञानिकहरूले हेक्का राखे। नभन्दै यसको रसायानिक पदार्थ तातोमा उड्ने रहेछ। त्यसलाई बचाउन विशेष प्रकारको रासायनिक समिश्रण बनाए ।

‘आर्टिमाइसिनिन’ नाम दिएको औलो रोगको परजिवीलाई ठाउँको ठाउँ मार्ने शक्तिशाली औषधिलाई शुरूमा धरैले पत्याएका थिएनन् । उता अमेरिकाले पनि ‘मेफ्लाकुइन’ भन्ने औषधि पत्ता लगाएको थियो तर त्यो आर्टिमाइसिनिन भन्दा प्रभावकारी थिएन। ‘आर्टिमाइसिनिन’ औषधि बनेको झन्डै ४० बर्ष पछि सन् २०१५ मा तु युयुलाई नोबेल पुरस्कार प्रदान गरियो। त्यतिवेला तु ले भनेकी थिइन, ‘यो मैले मात्र गरेको होइन, हामी सबैले गरेको हो ।’ उनले त्यसरी आफूसंग काम गर्नेहरुको खुलेर कदर गरिन ।

तर बढो कठिन मेहनत र लगानी गरेपछी प्राप्त बनस्पतिबाट उत्पादन हुने यो औषधिको विश्वमा वितरण गर्ने कुरामा भएको जालझेल सुन्दा अचम्मै लाग्यो ।

त्यसरी पत्ता लागेको औषधिको वितरणमा यस्तो जालझेल

‘आर्टिमाइसिनिन’को प्रयोगले चीनमा औलो नियन्त्रण गर्न सफल भएपछि सन् ८०को दशकमा अन्य मुलुकमा पनि प्रयोग गर्न चीनले विश्व स्वास्थ्य संगठनलाई सुझायो र चीनका औषधि कम्पनीलाई उत्पादन र बिक्रिगर्न अनुमति माग्यो तर सङ्गठनले मानेन।

केहि समयपछि फ्रान्सको एउटा औषधि कम्पनीले आर्टिमाइसिनिन उनीहरूलाई दिन अनुरोध गर्यो। बनस्पतिबाट बनाउने भएकाले महगो पर्ने अनि अरु मुलुकलाई बेच्न पनि नदिने भएपछि चीनले फ्रान्सको कम्पनीलाई औषधि उत्पादन र बितरणको सम्झौता गर्यो।

फ्रान्सको त्यो कम्पनीले औषधि उत्पादन शुरू गर्ने बितिकै विश्व स्वास्थ्य संगठनले आर्टिमाइसिनिनलाई औलो बिरुद्धको औषधिको सुचिमा राख्यो। यसो गर्दा फ्रान्सको कम्पनीले एकलौटी पैसा कमायो अनि चीन हेरेको हेरै भयो।

चीनका बरिष्ठ औलोरोग बिशेषज्ञ प्रा। गो चीले एक प्रसङ्गमा बताए, ‘ जे होस्, विश्वमा औलोको उपचार प्रभावकारी भयो। चीनमा औलो नियन्त्रणमा ठुलो प्रगति भयो । चीनको च्यांग्सु भन्ने प्रान्तमा मात्रै त्यतिबेला एक करोड मानिसलाई औलो लाग्थ्यो।औलो रोगीहरूको संख्या ह्वातै घट्यो।’

समयक्रमसंगै  औलोको परिजिबिले आर्टिमाइसिनिनमा पनि प्रतिरक्षा क्षमत़ा विकास गर्यो।आर्टिमाइसिनिन एक्लैले काम गर्ने छोड्ने अवस्था आयो। तर चिनियाहरूले परपरागत औषधिहरू समिश्रणमा प्रभावकारी हुन्छन् भन्ने सिदान्तलाई पछ्याउदै आर्टिमाइसिनिनसंग मिलाउने अरू औषधि पनि बनाउदै थिए। उनीहरुले ‘लुमेफ्यान्ट्रीन’ ‘पिपराकुइन’ र ‘पाईरोन्यारिडीन’ जस्ता औषधि पत्ता लगाईसकेका थिए।

आर्टिमाइसिनिन र लुमेफ्यान्ट्रीन मिलाएर औषधि बनाए। सन १९९०को दशकमा नै चीनले ‘आर्टिमाइसिनिन कम्बिनेसन थेरापी( एसिटी)’ सुरू गरिसेकेको थियो र यसको परिणाम अत्यन्तै राम्रो थियो।फेरी चीनले एसिटीको प्रयोग गर्न विश्व स्वास्थ्य संगठनलाई अनुरोध गर्यो तर टेरपुच्छर लगाएन। एसिटीको प्रयोग नगर्दा जटिल औलोका रोगीहरू बढिरहेका थिए।एसिटीमा पनि फेरी पुरानै कथा दोहोरियो।

स्विज़रल्याण्डको औषधि कम्पनीले एसिटीको उत्पादन र वितरणको अनुमति चीनलाई माग्यो र चीनले पनि दियो। त्यतिबेलासम्म एसिया र अफ्रिकाका थुप्रै देशबाट औलोरोगले आर्टिमाइसिनिनसंग पनि प्रतिरक्षा क्षमता विकास गरेको तथ्यांक आइसकेको थियो।

फ्रान्सको उक्त कम्पनीले एसिटी सस्तो मुल्यमा उत्पादन गरिदिने कुरा गर्यो र केहि समय पछि (सन् २००६मा) विश्व स्वास्थ्य सगठनले ‘आर्टिमाइसिनिन कम्बिनेसन थेरापी( एसिटी)’लाई मुख्य औषधि मान्ने गरी स्वीकृति दियो। दोस्रो चोटी पनि चीनलाई झुक्याइयो। तर चीनले एकै प्रकारको मात्र समिश्रणले औलोको उपचार हुदैन अनि एकलौटी एउटा कम्पनीको मात्रै उत्पादनलाई वितरण गरिनु हुदैन भनेर अडान लिएपछि विश्व स्वास्थ्य संगठनले मान्यो । अहिले विभिन्न समिश्रणमा औलो बिरुद्धको औषधि पाइन्छ र सरकारले स्थानीय आवस्यकता अनुसार किन्न पाउंछन् ।

यस्तै प्रशंगमा  प्रा. गो चीले दुख मान्दै भने, ‘ हामीलाई  यसरी विकासशील मुलुकले गरेको चमात्कारिक आविस्कार र विश्वका करौडौ मानिसलाई बचाउन सक्ने औषधिको सर्बसुलभ पहुँचमा समेत गिद्देदृष्टि पर्छ।’

औलोको विद्यमान अवस्था 

अहिले पनि विश्वमा प्रति बर्ष नेपालको जनसंख्याको सात गुणाभन्दा बढी (२१ करोड) मानिसलाई औलो रोग लाग्छ ।ती मध्ये ४ लाख २९ हजार भन्दा बढीको ज्यान जान्छ ।औलोका बिरामी र मर्नेहरू मध्ये ९० प्रतिशत अफ्रिकाका मुलुकहरूमा पाइन्छन् ।

पोथी अनोफिलिस लामखुट्टेको टोकाईबाट सर्ने यो रोग विश्वका ९१ मुलुकमा फैलिएको छ । लामखुट्टेको टोकाईबाट बच्ने बितिकै रोकथाम गर्न सकिने औलो विश्वको लागि ठुलो चुनौती बनेको छ ।

त्यसो त औलो लाग्ने संख्या पाँच बर्ष अघिको दाँजोमा २१ प्रतिसतले घटेको अनि मृत्यु २९ प्रतिसतले ।नेपालमा करीब पाँच बर्ष देखि औलोको कारण कसैले ज्यान गुमाउनु परेको छैन।औलोको उन्मुलनको आशा बढाउने काम अहिले प्रयोग गर्दै आएको एसिटी नामको औलोको औषधि नै जगाएको हो ।

चीनले तितेपाती समुहको झारबाट औलोको शक्तिशाली औषधि संसारलाई दिएको छ । यसको सुत्रधार भनेको दुइ हजार बर्ष अघि लेखिएको चिनिया चिकित्सा पद्दतिको ग्रन्थ नै हो ।

नेपालमा यस्ता ग्रन्थ धेरै छन्। बनस्पतिबाट औषधि बनाउने र संसारलाई चकित बनाउने सम्भावनाहरू हामीसंग पनि छन् तर दुर्भाग्य राज्यले कहिले पनि अनुसन्धानमा लगानी गर्न चाहेन।

खोज अनुसन्धानको क्षमता र दक्षता भएको जनशक्ति र प्रणाली विकास भएन। अनुसन्धानका लागि लगानी गर्नसक्ने प्राधिकरणको व्यवस्था भएन । भएका संस्थाहरूलाई पनि नेपालको राजनीतिले नराम्ररी गांजेको छ।  यसको परिणाम, अनुसन्धान गर्ने सक्ने ब्यक्तिहरू विदेश पलायन हुन्छन अनि सधै पराधिनमा बाँच्नु हाम्रो नियति हुनेछ ।

# डा. कार्की नेपाल स्वास्थ्यअनुसन्धान परिषद्का सदस्यसचिव हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *