छात्रा बेहोस हुँदा डाक्टर निषेध गरी धामीको भेला

काठमाडौँ, २० बैशाख । छात्राहरू बेहोस हुन थालेपछि जुम्लाका केही अभिभावकले डाक्टरलाई निषेध गरेर धामीझाँक्रीबाट उपचार खोजेका छन् । जिल्लाका विभिन्न विद्यालयमा छात्राहरूमा टाउको दुख्ने, शरीर काम्ने र बेहोस हुने समस्या बढेपछि विज्ञ डाक्टरबाट उपचार गर्नुको साटो अभिभावकले धामी भेला गराएका हुन् ।

तातोपानीस्थित हिमशिखर माध्यमिक विद्यालयमा एकैदिन १५ छात्रा बेहोस हुँदा दुईपटक डाक्टर बोलाइए पनि उनीहरूलाई उपचार गर्न नदिएर १५ वैशाखमा धामी भेला भएको थियो । प्रधानाध्यापक राजु केसीले दुईपटकसम्म अभिभावक र बिरामी आफैँले डाक्टरबाट छात्राको उपचार गर्न अस्वीकार गरेको बताए । ‘विद्यालयनजिकै मन्दिर र रूख थियो, भत्काएर विद्यालय बन्यो । त्यसपछि बेहोस हुने छात्राहरूले डाक्टर होइन, मन्दिर र रूख चाहिन्छ भनेका छन्,’ प्रधानाध्यापक केसीले भने ।

डाक्टरबाट उपचार गर्न नमानेपछि १५ वैशाखमा धामी भेला गरिएको थियो । प्रधानाध्यापक केसीका अनुसार भेलामा जिल्लाका विभिन्न ठाउँका ६ धामी बोलाइएका थिए । तर, एक धामीले काम गरेका थिए । ‘जिल्लामा सबैले मानेको मुख्य धामी भेलामा आउनुभएको थियो, काम गर्नुभएको छैन । उहाँले पूरै ठीक पार्ने बताउनुभएको छ,’ प्रधानाध्यापक केसीले भने । छात्राहरू बिरामी भएपछि विद्यालयसमेत बन्द गर्नुपरेको थियो ।

यस वर्ष धेरै समस्या
जिल्ला शिक्षा अधिकारी कुलबहादुर फडेराले यस वर्ष छात्राहरू बढी बिरामी भएको जानकारी दिए । गर्मीको समयमा यो समस्या बढी देखिने उनको भनाइ छ । धार्मिक आस्थाका कारण छात्रा बिरामी हुँदा धामीझाँक्री जुटाउने गरेको उनले बताए ।

स्रोतव्यक्ति रामबहादुर चापागाईंले कक्षा ५ सम्म मात्रै पढाइ हुने विद्यालयमा पनि छात्राहरू काँप्ने, बेहोस हुने समस्या रहेको जानकारी दिए । धार्मिक आस्थाका कारण कतिपय अभिभावकले डाक्टरबाट उपचार र औषधि दिँदा स्वीकार नगरेको उनले बताए ।

जिल्लाका छात्रा र उनीहरूका अभिभावकले डाक्टरभन्दा धामीझाँक्रीमा धेरै विश्वास गर्ने गरेको चापागाईंले जानकारी दिए । चेतनाको कमीले पनि केही समस्या भएको उनको भनाइ छ ।

रजश्वला हुँदा किताब पनि छुँदैनन्
जुम्लाका कतिपय छात्राले रजश्वला हुँदा किताब नछुने र विद्यालय नै नजाने समस्या रहेको स्रोतव्यक्ति चापागाईंले बताए । कतिपय छात्रा रजश्वला भएका वेला मन्दिर भएको बाटोबाट समेत हिँड्दैनन् ।

शिक्षिका भगवती श्रेष्ठले ‘छुइछाइ’ भएर काम्ने गरेको भन्ने चलनसमेत रहेको बताइन् । धामीझाँक्रीलाई तालिम दिने र विद्यार्थीलाई परामर्श दिएमा समस्या समाधान गर्न सकिने उनको भनाइ छ ।

जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा रहेको छात्रा शिक्षा सञ्जालसँगको बैठकमा कतिपय विद्यालयमा रजश्वला भएका वेला महिला शिक्षक नै विद्यालयमा नआउने गरेको गुनासो आएको थियो । सामाजिक क्षेत्रमा कार्यरत सीता शर्माले छात्राहरू रजश्वला हुँदा डरले मन्दिर छेउबाट नहिँडेर अर्को बाटो हिँड्ने गरेको बताइन् ।

  • आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *