ब्रोङ्किएलआज्मा अर्थात दम खोकीको समस्या के हो ? कसरी देखा पर्छ ?

डा. निजर बम, छातीरोग विशेषज्ञ

फोक्सोको ठुला श्वास प्रश्वास नलीमा एलर्जीले गर्दा उत्पन्न हुने इन्फ्लामेटरी रेस्पोन्स अर्थात श्वास प्रश्वास नली साघुँरिन गई श्वास प्रश्वास प्रक्रियामा उत्पन्न हुने एक प्रकारको कठिनाईलाई ब्रोङ्किएलआज्मा भनिन्छ । अर्को शब्दमा यसलाई दम खोकीको समस्या भनेर पनि बुझ्न सकिन्छ ।

धुलो, धुवा,  प्रदुषण,  चिसो,  चिल्लो खानपान, धूमपान, फुलबाट निस्कने पराग, बायू प्रदुषण, बर्षातका कण आदिबाट कतिपयको श्वासप्रश्वास नलिमा एलर्जी हुन जान्छ र यसले श्वास प्रश्वास नलिको आयातन साघुँरो पारिदिन्छ अर्थात श्वासप्रश्वास नली खुम्चन थाल्दछ । जसको प्रत्यक्ष असर श्वास प्रस्वास प्रक्रियामा देखिन्छ । नली साघुँरिएका कारण व्यक्तिलाई सास फेर्न कठिनाई उत्पन्न हुन थाल्दछ । यहि अवस्थालाई ब्रोङ्किएलआज्मा अर्थात दम खोकीको समस्या भनेर बुझ्न सक्छौँ ।

ब्रोङ्किएलआज्माका लक्षणहरु :

  •  विरामीलाई बारम्बार रुघा लाग्ने ( बढि जसो चिसो मौसममा)
  •  लामो समयसम्म खोकी लागि रहने ।
  •  छातीमा घ्यार घ्यार आवाज आउने ।
  •  सास फेर्न कठिनाई हुने ।
  • छाती गरुङ्गो हुँदै जाने ।
  • खोकी बढ्दै जाँदा स्याँ स्याँ हुने ।
  • थकाई लाग्ने
  • शरीर चिलउने । आदि हुनसक्छन् ।

त्यसो त ब्रोङ्किएलआज्मा अर्थात दम खोकीको लक्षणहरु र सीओपीडीको लक्षण झण्डै उस्तै देखिन खोज्दछ । तर केही फरक हुन्छ नै । ब्रोङ्किएल आज्मा र सीओपीडीमा लक्षणहरु यसरी फरक हुन्छन् ।

१.  ब्रोङ्किएलआज्मा हुनुको कारक तत्व धूलो धुँवा तथा चिसोको एलर्जी प्रमुख हो भने सीओपीडीमा धूमपान प्रमुख कारक मानिन्छ ।
२.  ब्रोङ्किएलआज्मा सानै उमेर देखिका मानिसहरुमा देखिन थाल्छ भने सीओपीडी प्राय ३५ ४० बर्ष माथिका मानिसमा शुरु हुन्छ ।
३. ब्रोङ्किएलआज्माबाट प्राय महिलाहरु प्रभावित भएको पाइन्छ । साथै वंशाणुगत रुपमा देखिन्छ भने सीओपीडी प्राय धूमपान गर्ने पुरुषमा बढी मात्रामा देखिन्छ ।
४. ब्रोङ्किएल आज्माको दम खोकीको मात्रा मौसम अनुसार परिवर्तन हुने गर्दछ । प्राय चिसो मौसममा मानिसहरु प्रभावित हुन्छन् । तर कहिलेकाँही वा कुनै निश्चित मौसममा यसको लक्षण नै हराउन पनि सक्छ । तर सीओपीडीका विरामीमा प्राय सबै मौसममा खोकी दम स्याँ स्याँको लक्षण रही रहन्छ ।

नेपालमा बढ्दो बायु प्रदुषणले दमका बिरामीहरुको संख्या पनि दिनानुदिन बढ्दै गई रहेको छ । हिजो आज अस्पतालहरुमा प्राय सानै उमेरका बालबालिका पनि लामो समयसम्मको रुघा, खोकी, स्वास प्रस्वासमा कठिनाईका जस्ता समस्या लिएर आउने गरेका छन् । यस्तो हुनुको कारण ब्रोङ्किएलआज्मा नै हो ।

यदि ब्रोङ्किएलआज्माको समयमा निदान, रोकथाम र उपचार भएन भने यसले छातीमा निमोनिया, क्षयरोग जस्ता संक्रमण निम्त्याउने र विरामीको ज्यानै समेत लिन सक्छ ।

ब्रोङ्किएल आज्मा भएको कसरी थाह पाउने ?

विरामीको रोगका लक्षण र एलर्जीको ‘हिस्ट्री’ निर्क्योल गरे पश्चात यो रोगको निदान हुनसक्छ । त्यसलाई थप विश्वसनीय बनाउन रगत परीक्षण, छातीको एक्सरे, ‘पल्मोनरी फङसन टेष्ट’ आदि परीक्षण गर्ने गरिन्छ ।

यो रोग खासगरी धुलो धूवाँ चिसो केही खानेकुरा, धूमपान, फुलका पराग, केही जनावरको एलर्जी, मानसिक तनाव, रक्सी सेवनले हुने एलर्जी जस्ता समस्याले नित्याउछ । कतिपय महिलामा गर्भवतीका बेला हुने एलर्जीको समस्याले समेत यो रोगलाई नित्याउँछ । र बंशाणुत रुपमा पनि यो रोग देखिन सक्छ ।

रोकथामका उपायहरु के के हुन् ?

  • धुलो धुवाँ चिसो तनाव, धूमपान आदि जस्ता एलर्जी बढाउने तत्वबाट जोगिनु पर्छ ।
  • प्रदुषित बाताबरण भएकोले बाहिर निस्कदा सकेसम्म मास्कको प्रयोग गर्नु राम्रो हुन्छ ।
  • घर र वरिपरिको बाताबरण सफा सुन्दर र हराभरा राख्ने । हरियाली कायम गर्ने ।
  • आफ्नो शरीरमा एलर्जी उत्पन्न गर्ने खानेकुरा सकेसम्म नखाने, प्रयोग पनि नगर्ने ।
  • पोषणयुक्त खानपान र प्रोटिन बढी भएका खानेकुरा खाने ।
  • ब्रोङ्किएल आज्मा लामो समयसम्म रहेमा चिकित्सकको सल्लाहमा इन्फ्लुएन्जा र निमोनिया खोप लगाउने ।

कसरी गर्ने उपचार ?
ब्रोङ्किएल आज्माका विरामीहरुले नियमित रुपमा छातीरोग विशेषज्ञसंग परीक्षण तथा परामर्स लिई राख्नु पर्ने हुन्छ । चिकित्सकको सल्लाह विना जथाभावि औषधि सेवन गर्नु हुँदैन । किनभने चिकित्सकले रोगको पहिचान गरी रोगको गम्भीरता हेरिकन औषधि दिने गर्छन् ।

उपचारकै कुरा गर्दा ब्रोङ्किएल आज्माका विरामीलाई अवस्थाको पहिचान गरिकन चिकित्स्कले साल्बुटामोल, फरमेट्रोल जस्ता इन्हेलरबाट शुरु गरी इन्हेल्ड कर्टिकोस्टेराईड जस्ता औषधि समेत रिफारिस गर्न सक्छ । त्यस्तै मोन्टेल्युकास्ट जस्ता खाने चक्की पनि प्रयोग गरिन्छ ।

छातीमा संक्रमणको लक्षण , जस्तै : खकार बाक्लो र पहेलो भएमा ज्वरो आएमा वा छाती धेरै नै घ्र्यार घ्र्यार हुन थालेमा एन्टीबायोटिक जस्ता औषधि पनि दिइन्छ । विरामीलाई ज्यादै कठिनाई भएमा अस्पतालमा भर्ना गरि अक्सिजनका साथै इन्हेलर थेरापी, नेबुलाईजेसन थेरापीमा पनि राखिन्छ ।

चिकित्सकको प्रमुख उदेश्य यो रोगलाई औषधि उपचारको सहयोगले नियन्त्रणम राखी विरामीको जीवनस्तर सहज बनाउनु हो । यो रोगको उपचार जति कम उमेरमा जति छिटो शुरु गरियो त्यतिनै छिटो नियन्त्रण भई निर्मूल हुनसक्छ । अन्यथा यो रोगले दीर्घ रोगको रुप लिई नियन्त्रणमा कठिनाई उपन्न हुन्छ । साथै विरामीले जीवनभर औषधिको सहायता लिनुपर्ने हुन्छ ।

नेपालको सन्दर्भमा कुरा गर्दा ब्रोङ्किएल आज्माको उपचार सहज रुपमा लिन सकिन्छ । यसका लागि चाहिने औषधि उपकरण तथा दक्ष जनशक्ति काठमाडौँ सहितका सहरमा सहज रुपमा पाउन सकिन्छ । त्यसैले शंका लागेमा वा लक्षण देखिएमा तुरुन्त विशेषज्ञ चिकित्सकसंग सम्पर्क गर्नु बुद्धिमानी हुन्छ ।

# डा. बम त्रिवि शिक्षण अस्पताल पल्मोनोलोजी एण्ड क्रिटिकल केयर मेडिसिन विभागका उप प्राध्यापक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *