‘इथिकल एप्रुभल’ इलामको अनुसन्धान चितवनमा गरिँदै

 

काठमाडौँ, ४ बैशाख । इलाममा अकुपन्चर विधिबाट उच्च रक्तचापको उपचार गर्ने ‘इथिकल एप्रुभल’ लिएर आएका बेलायती चिकित्सकहरुको टोलीलाई नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नयाँ नेतृत्वले चितवन पठाएको छ ।

परिषदका नव नियुक्त कार्यकारी अध्यक्ष डा. अञ्जनीकुमार झाले इलामका लागि कार्यक्रम लिएर आएका बेलायती चिकित्सक डा. लिलानी सहितको टोलीलाई चितवन पठाएका हुन् ।

परिषदका कर्मचारी तथा पूर्व सदस्यहरुले भने अघिल्लो कार्यसमितिले गरेका सम्झौता तथा निर्णयहरु नयाँ नेतृत्वले उल्टयाउने तथा खारेज गर्ने अभियान शुरु भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यस्तो गतिविधिले अनुसन्धान क्षेत्रमा थप समस्या पर्ने बताएका छन् ।

परिषदको अघिल्लो कार्यसमितिले आर्थिक बर्ष २०७१ ७२ देखि नै इलाम तथा धनकुटा जिल्लामा समुदायमा आधारित नसर्ने रोग रोकथाम नियन्त्रण तथा अनुसन्धान कार्यक्रम सुरु गर्ने निर्णय गरेको थियो । सो अनुसार धनकुटाका केही सहित इलामका १२ वटा गाविस छनौट गरि आधारभुत तथ्यांक लिएर कार्यक्रम समेत अघि बढाइ सकेको थियो ।

सो कार्यक्रममा सरकारले लागू गरेको पेन प्याकेज कार्यक्रम संगै व्यवहार परिवर्तन, शिक्षक तथा महिला स्वास्थ्य स्वयंसेविका मार्फत नसर्ने रोग विरुद्ध चेतना अभिबृद्धि गर्ने, केही गाविसमा योग तथा प्राकृतिक चिकित्सा सिकाउने, केही गाविसहरुमा एउटा मात्रै जडिबुटीबाट बनेको आयुर्वेदिक औषधि उत्पादन र प्रयोग गर्ने तथा केही गाविसमा अकुपन्चर विधिबाट उच्चरक्तचापको उपचार गर्ने र यिनीहरुको प्रभावकारीता हेर्ने सहितका कार्यक्रम समावेश गरेको थियो ।

‘अहिले यहि कार्यक्रमलाई डाइभर्ट गर्न खोजिएको हो । दुईवर्ष अघि देखिको कार्यक्रममा ६० प्रतिशत काम सकिएको छ, यिनै कार्यक्रमका लागि पचासौँ लाख रुपैयाँ खर्च भईसकेको छ । तर बीचमा आएर कार्यक्रम एकाएक चितवनतर्फ डाइभर्ट भएको सुनिदैछ । यसले समग्र अनुसन्धानलाई नै प्रभावित पार्छ,’  परिषदका एक कर्मचारीले भने ।

त्यसो त इलामका लागि कार्यक्रम लिएर आएका बेलायती टोली पनि एकाएक नयाँ जिल्लामा कार्यक्रम गर्नुपर्ने भनिएपछि खुशी देखिएका छैनन् । ‘इलामको सबै तथ्यांक अध्ययन गरि कार्यक्रम लिएर आयौँ अव फेरी अर्को जिल्लामा जानुपर्दा एकदमै झन्झट भएको छ । यसले परिषद र दातृ संस्थाबीचको सम्वन्धमा पनि दरार उत्पन्न हुनसक्छ,’ टोलीको नेतृत्व गरेकी डा लिलानीलाई उदृत गर्दै स्रोतले भन्यो ।

परिषद्का कार्यकारी अध्यक्ष डा. झाले भने आरोपको खण्डन गरेका छन् । उनले अरु कार्यक्रम इलाममै चलेको र अकुपन्चरबाट व्लड प्रेशर हेर्ने कार्यक्रम मात्रै चितवन सारिएको बताए । ‘बजेट कम भएको र सो कार्यक्रमका लागि चिनिया टोली समेत रहेकोले इलाम भन्दा चितवन उपयुक्त ठानेर त्यता सारिएको हो । अनुसन्धान कुरा जहाँ गरेपछि हुन्छ । राम्रैका लागि यसो गरिएको हो,’ डा. झाले भने ।

परिषद्का सदस्यसचिव डा. खेम कार्कीले भने एक ठाँउको लागि स्वीकृत भइसकेको कार्यक्रम अर्को ठाँउमा लैजानु राम्रो नहुने तर्क गरे । उनले भने, ‘यो अहिले तय भएको कार्यक्रम होइन, दुईवर्ष देखिनै सुरु भएको कार्यक्रम हो । अनुसन्धान सुरु गर्नु अघि लिनुपर्ने इथिकल एप्रुभल देखि चाहिने जनशक्ति रिसोर्स तथा तथ्यांक लिने काम इलाममा भएको छ । तर अनुसन्धान अर्को ठाँउमा गर भन्नु राम्रो हुदैन् ।’

उनले विदेशी टोलीले इलामको लागि ‘इथिकल एप्रुभल’ लिएकोले चितवनमा तत्काल काम गर्न सुरु गर्न समेत नमिल्ने जिकिर गरे ।

अघिल्लो समितिका कार्यकारी सदस्य सचिव रहेका डा. कार्कीले सो अनुसन्धानका लागि इलाम छान्नुको पछि स्वास्थ्य बीमा, नसर्ने रोग रोकथाम सम्वन्धी अभियान पेन प्याकेज लागू भएको र जनस्वास्थ्यको सूचाङकमा ७४ औँ स्थानमा परेकोले इलाम छनौट गरिएको दावी गरे ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *