कालाजारको प्रकोपबाट सर्लाहीमा ८ को मृत्यु, १३ जना सिकिस्त

सर्लाही ३० चैत । सर्लाहीको ईश्वरपुर राइटरखोरमा कालाजार रोगबाट ८ जनाको मृत्यु भएको काठमाडौंबाट गएको स्वास्थ्य टोलीले पुष्टि गरेको छ ।बिरामी परेका १३ जनाको उपचार जिल्ला अस्पताल मलंगवामा भइरहेको छ ।

मृत्यु हुनेमा ६० वर्षीय मखन माझी, उनका ३० वर्षीय छोरा मेघो माझी, २५ वर्षीया बुहारी जहरी माझी छन् । ४ जनाको परिवारमा तीन जनाको मृत्यु भएपछि १३ वर्षीय नाति दिपेशलाई पनि रोगले च्यापेका कारण अस्पतालमा भर्ना गरिएको छ ।

त्यसैगरी, मृत्यु हुनेमा सोही टोलका ५० वर्षीय नथुनी माझी, उनका २३ वर्षीय छोरा विक्रम माझी रहेका छन् । विक्रमकी २० वर्षीया श्रीमती पानबती माझीलाई पनि रोगले सिकिस्त बनाएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

रोगले थलिएका विलास माझी र भुट्टा माझीको उपचार अभावमै केही दिनपहिले गाउँमै मृत्यु भएको थियो । उपचारका लागि अस्पतालमा ल्याइएकी राम दुलारी माझीको पनि सोमबार साँझ मृत्यु भएको छ ।

१० घरधुरीको मुसहर बस्तीमा रोगले महामारीको रूप लिएपछि प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेललाई स्थानीयले जानकारी गराएका थिए । मर्ने सबैमा एकै प्रकारको लक्षण देखापरेको छ ।

उनीहरूलाई पेट फुल्ने, टाउको फुल्नेलगायत लक्षणले साह्रो पारेको थियो । प्रजिअको पहलमा सर्लाही अस्पतालमा दीपेश माझी, राजेश माझी, परीक्षण माझी, सन्नी माझी, रिंकु माझी, दशैं माझी, रविन माझी, रविन मल्लिक, सञ्जय मल्लिक, कशमिरा थापा मगर, मानो माझी, पानवती माझी र चाँदनी पासवानलाई अस्पताल भर्ना गरिएको छ ।

जिल्ला अस्पतालमा बिरामीलाई बेड अभाव भएपछि भुइँमै उपचार गराइएको छ । निरीक्षणका लागि जिल्ला तथा काठमाडौंबाट आएका टोलीले जाँच गर्दा कालाजारबाट उनीहरूको मृत्यु भएको पुष्टि भएको थियो । जंगलछेउमा रहेको बस्तीमा सरसफाइ तथा खानेपानीको अभाव छ । मुसहरहरू फोहोर पोखरीमा भाँडाकुँडा माझ्ने र नुहाउने गर्नाले पनि बिरामी परेको स्थानीय विदुरकुमार पौडेलले बताए ।

५० जना मात्र रहेको टोल अहिले सुनसान छ । काठमाडौंबाट आएका टोलीले गाउँमा कालाजारको प्रकोप पुष्टि गरेपछि गाउँमा त्रास छाएको जाकेश्वर महतोले बताए । झुल नहाल्ने, खाना छापेर नराख्ने र जनचेतना अभावले पनि कालाजार भएको हुनसक्ने अनुमान स्थानीयको छ ।

परिवारका कमाउने सदस्य नै बिरामी परेपछि पैसाको अभाव भएको गंगियादेवी माझीले गुनासो गरे । गंगियाका श्रीमान् र छोरा दुबैको मृत्यु भइसकेको छ ।
– आजको अन्नपूर्ण पोष्टबाट

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *