हरेक १० मध्ये एकको मृत्यु धूमपानबाट : अध्ययन्

बीबीसी, २७ चैत । धूमपान गरेका कारण विश्वव्यापी रुपमा प्रत्येक १० जनामा एकजनाले ज्यान गुमाउने गरेको एउटा अनुसन्धानले देखाएको छ। मृतकमध्ये आधा संख्या चार ठूला देश चीन, भारत, संयुक्त राज्य अमेरिका र रुसका रहेको उक्त अनुसन्धानमा उल्लेख छ।

दशकौँदेखि सुर्ती नियन्त्रणसम्बन्धी नीतिहरु ल्याइएपनि हरेक वर्ष धूमपान गर्नेहरुको जनसंख्या बढिरहेको छ। अनुसन्धानकर्ताहरु भन्छन्, ‘मृत्युदर अझै वृद्धि हुनसक्छ किनभने सूर्ती कम्पनीहरुले आक्रामक रुपमा विकासशील विश्वमा आफ्ना बजार विस्तार गरिरहेका छन्।’

स्वास्थ्यसम्बन्धी जर्नल ‘द ल्यान्सेट’मा पछिल्लो अध्ययन प्रकाशित भएको हो। त्यसकी एकजना वरिष्ठ लेखक डाक्टर इम्यानुएला गोकिडु भन्छिन्, ‘आधा शताब्दीभन्दा अघि नै धूमपानले स्वास्थ्यमा नराम्रो असर गर्ने प्रमाण भेटिएको थियो तर अहिले पनि प्रत्येक दिन विश्वका प्रत्येक चार मानिसमध्ये एकले धूमपान गर्छन्।’ उनका अनुसार मानिसहरुको कम उमेरमै मृत्यु हुने र अपाङ्गता हुने दोस्रो ठूलो कारण धूमपान हो।

‘ग्लोबल बर्डन अफ डिजिजेज’ नामक उक्त अध्ययन सन् १९९० देखि २०१५ सम्म १९५ देशमा गरिएका धूमपानका प्रवृतिबारेको अनुसन्धानमा आधारित रहेको छ। सो अध्ययनले विश्वभर सन् २०१५ मा दैनिक झण्डै एक अर्ब मानिसहहरुले धूमपान गर्ने देखाएको छ। त्यसरी धूमपान गर्नेमा प्रति चारमा एक पुरुष र प्रति २० मा एक महिला छन्।

पछिल्लो संख्या प्रति तीन पुरुषमध्ये एक र प्रति १२ महिलामध्ये एकले धूमपान गर्ने गरेको सन् १९९० को तथ्याङ्कभन्दा केही सुधार हो।तर जनसंख्याको वृद्धिसँगै सन् १९९० को कुल धूमपानकर्ता ८ करोड ७० लाख भन्दा अहिलेको संख्या बढी देखिएको हो। सन् २०१५ सम्म आइपुग्दा धूमपानका कारण ज्यान गुमाउनेको संख्या सन् १९९० को तुलनामा ४.७ प्रतिशतले बढेर ६४ लाख पुगेको छ।

उक्त अध्ययनले केही देशहरुले सूर्तीजन्य पदार्थमा उच्च कर कायम गरेर, चुरोट र सूर्तीका प्याकेटमा चेतावनी दिने तस्वीरहरु राख्न लगाएर अनि अरु शैक्षिक कार्यक्रम गरी धूमपान गर्नेहरुको जनसंख्या घटाउन सफल भएको देखिन्छ।

पछिल्लो २५ वर्षमा ब्रजिलले दैनिक धूमपान गर्ने पुरुषको संख्या २९ प्रतिशतबाट १२ प्रतिशतमा र महिलाको संख्या १९ प्रतिशतबाट ८ प्रतिशतमा घटाएको देखिन्छ।

प्रतिवेदनले भनेको छ, बांग्लादेश, इन्डोनेशिया र फिलिपिन्समा धूमपान गर्नेको जनसंख्यामा खासै फेरबदल भएको देखिँदैन।अनुसन्धानकर्ताहरुले रुसमा धूमपान गर्ने महिलाको जनसंख्या चार प्रतिशतले बढेको जनाएका छन् र अफ्रिकाका उदयीमान देशहरुमा पनि त्यस्तै प्रवृत्ति रहेको चेतावनी दिएका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *