दाँतमा तार बाध्नु परेमा उपयुक्त समय कहिले ?

डा. राजीव यादव

हिजो आज शहर बजारमा कतिपय युवा तथा किशोर किशोरीहरुले दाँतमा तार बाँधेर हिडेको देख्नुभएकै होला । यसलाई साधारण भाषामा braces लगाउने भनेर चिनिन्छ ।

धेरै किसिमका दाँत उपचार विधि मध्ये यो विधि एक हो । नमिलेका दाँतमा तार बाँधेर मिलाउने यो पद्धतीलाई अर्को शव्दमा अर्थोडोन्टिक्स ट्रिटमेन्ट पद्धती समेत भनेर बुझिन्छ । यो उपचार गर्ने विशेषज्ञलाई अर्थोडोन्टिस्ट भनिन्छ ।

दाँतमा braces लगाएर दाँत मिलाउन सकिन्छ भन्ने अचेल प्राय सबैलाई थाह छ । तर त्यसरी तार बाध्ने उमेर अथवा उपयुक्त समय कहिले हो भनेर सोध्ने प्रश्नको जवाफ अझै स्पष्ट भएको छैन । त्यसैले हुनसक्छ मुखमा सबै स्थायी दाँत नआउन्जेल braces लगाएर उपचार गर्न मिल्दैन भन्ने धारणा प्राय सुनिन्छ । के हाम्रो यो धारणा ठिक हो त ?

अमेरिकन एसोसिएसन अफ अर्थोडोन्टिक्स(AAO) भन्छ, सात बर्ष ननाग्दै हरेक बालबालिकाको दाँतको अवस्था परीक्षण गर्नु अत्यन्त प्रभावकारी हुन्छ । यो उमेरमा जाँच गरेपछि दाँतमा द्यचबअभक (तार) लगाउन पर्छ कि पर्दैन भन्ने स्पष्ट हुन्छ ।

सात बर्ष नै किन ?
सात बर्षको उमेर भनेको यस्तो उमेर हो यतिवेला शरीरका साथ साथै अनुहारको हड्डीको पनि विकास भई रहेको हुन्छ र नयाँ दाँत मिलेर उम्रिने हो कि होइन भन्ने कुराको अग्रिम जानकारी लिन सकिन्छ । किनभने यहि उमेर हाम्रो मुख्य दाँतहरु निस्कने समय हो र यो अवस्था देखेर अर्थोडोन्टिक्सले भविस्यमा दाँत नमिलेर उम्रने समस्याको एकिन गर्न सक्छ ।

त्यसैले सात बर्षको उमेरमा एक पटक अनुव प्राप्त अर्थोडोन्टिक्सलाई गएर आफ्नो बच्चाको दाँत देखाउनु राम्रो हुन्छ । सुरुमै दाँत नमिलेको तथा मुखको हड्डीको विकास विपरित दिशामा भईरहेको थाह पाइयो भने कम समयमा उपयुक्त उपचार प्राप्त गर्न सकिन्छ ।

किन बांङ्गोटिंङ्गो उम्रिन्छ दाँत ?
दुधे दाँतहरु सामान्य त ५ देखि ७ बर्षको बीचमा झर्ने गर्छ । तर कहिलेकाँही त्यो समयमा दुधे दाँत झर्दैन । भित्रबाट नयाँ दाँत आउने र बाहिर देखिएको पुरानो दाँतले स्थान नछाडने हुँदा कहिलेकाही दाँत बांगिएर आउँछ ।

अर्को कुरा दाँत उम्रने गिजाँको भाग जसलाई हामी ‘ज’ भन्छौँ, ‘ज’ को आकार र दाँतको आकारले पनि दाँत कसरी उम्रिन्छ भन्ने देखाउँछ । सामान्य त ‘ज’ र दाँतको आकार अनुपात मिल्नुपर्छ । तर अनुपात मिलेन भने अर्थात ‘ज’ मा चेप्टा ठुला दाँत निस्कयो भने पछि उम्रने दाँतहरु बांगा टिंगा भएर निस्कन्छन् । यसबाहेक कहिलेकाही बंषाणुगत कारणले पनि यस्तो अवस्था हुनसक्छ ।

यसकारण हल्लिन्छ दाँत
दाँत हल्लिनुको कारण दुधे दाँतलाई भित्रबाट उम्रिदै गरेको स्थायी दाँतले धकेल्नु हो । जब भित्रबाट नयाँ दाँत उम्रिन्छ त्यसले जराहरुलाई प्रेसर दिन्छ र दुधे दाँत हल्लिन्छ ।

तर कहिलेकाँही स्थायी दाँतले गलत दिशाबाट प्रेशर दिँदा दुधे दाँत नहल्लिने अवस्था पनि हुन्छ । यस्तो अवस्थामा हामीले दुधे दाँत कहिले हल्लिन्छ भनेर कुर्दा कुर्दै स्थायी दाँत गलत दिशाबाट उम्रेर आउँछ । त्यसैले दुधे दाँत समय भन्दा अघि वा पछि झिक्दा स्थायी दाँत बिग्रेर उम्रने सम्भावना धेरै हुन्छ ।

दाँतमा तार बाध्नुपर्ने लक्षणहरु :

१. दुधे दाँत छिट्टै खस्दा (५ बर्ष मुनि)
२. दुधे दाँत ढिलो खस्दा ( ७ बर्ष पछि )
३. अगाडीको दाँत बाँगो देख्दा ( ७-८ बर्ष पछि )
४. अगाडीको दाँत र ओठ बाहिर निस्केको देख्दा
५ . दाँत जोडदा गाला टोक्ने अथवा तलको अगाडीको दाँत माथिको दाँत भन्दा अगाडी आएको देखिँदा ।
६. दाँतले टोक्ने अथवा चबाउने समस्या देख्दा
७. दाँत किट किटाउने बानी देख्दा
८. जिब्रोले दाँत धकल्ने बानी देख्दा
९. मुखबाट सास लिने बानी देख्दा
१०. बोल्दा शव्दहरु स्पष्ट उच्चारण नहुँदा
११. टोक्दा पछाडी अथवा अगाडीको दाँत नजोडिदा
१२. दाँत जोडदा सीधा नजोडिने
१३. मुख खोल्दा अथवा बन्द गर्दा सीधा नदेखिँदा
१४. औला चुस्ने बानी देख्दा

# डा. यादव त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) डेन्टल–अर्थोडोन्टिक्स विभागका उप प्राध्यापक हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *