अत्याधिक रक्सी सेवनले स्वास्थ्यमा पार्ने असर र त्यसको उपचार

डाक्टर ! ‘त्यो हजुरले भर्ना गरेको बिरामीले जथाभावी बोल्दैछ के गरौँ ?’…….

डाक्टर ! ‘त्यो बिरामी त बेहोस भएर कांप्दैछ, छिटो आइदिनु परयो’…………..

डा. उत्तम पच्या

डिउटीमा रहेका नर्सहरुबाट रातको १२ – १ बजे यस्ता खालका फोन आउछ । दिनभरको थकानले राती आरामसंग सुत्ने चाहना पटक /पटक आउने फोनका घण्टीले खल्बल्याईदिन्छ । सायद यस्तो समस्या अरु जिल्ला अस्पतालमा पनि हुँदो हो ।

सुन्दा खेरी नै अत्यन्तै जटिल लाग्ने यी समस्याहरु वास्तवमा जटिल नै हुन् । विरामीको ‘हिस्ट्री’ केलाएर जाँच गर्दा उनीहरु अत्याधिक अल्कोहल अर्थात रक्सी सेवनले त्यो अवस्थामा पुगेका हुन भन्न कठिन हुँदैन ।

एउटा रोगको उपचार गर्न विरामीको भर्ना लियो तर रातको समयमा अर्को समस्या देखिन्छ । अत्याधिक रक्सी सेवनका कारण हुने यस्तो समस्याको सिकार अस्पतालका डाक्टर र नर्स त यसरी प्रभावित हुन्छन भने घर परिवारका सदस्यलाई कति असर परेको होला ?

ताप्लेजुङ्ग जिल्ला अस्पतालमा प्रत्येक दिन जसो मध्यपानको समस्याले ग्रस्त भएर उपचारको लागि बिरामी आउछन । यो यहाँको विकराल समस्याको रुपमा देखा पर्दैछ । अझ भनौँ यो समस्या स्वास्थ्य समस्यामात्र नभई आर्थिक, पारिवारिक तथा
सामाजिक समस्या पनि हो ।

खासमा बुझ्नुपर्ने कुरा के हो भने यो अस्पतालमा मात्र निको हुने रोग होइन । यो रोग त परिवार तथा समाजले नियन्त्रण गर्न सक्ने रोग हो । अझ भनौँ परिवार तथा समाज लागेमा अस्पताल नै जानु पर्ने अवस्था नै नआउन सक्छ । यसको लागि बिरामीमा इच्छाशक्तिको ठुलो आवश्यकता पर्छ । त्यसको लागि साथीभाइ, सामाज र परिवारले सहयोग गर्नु जरुरी छ ।

हाम्रो अस्पतालको तथ्यांकले हरेक महिना भर्ना हुने कुल विरामीमध्ये करीब १० जना विरामी अत्याधिक रक्सीसेवनको असरबाट गुज्रेको पाइएको छ । यो आर्थिक बर्षको पछिल्लो ६ महिनामा ६० जना जतिले उपचार पाएका छन् ।

कलेजोका बिरामी बढदै

अत्याधिक रक्सी सेवनको कारणले धेरै रोग लाग्ने भए पनि विशेष गरी कलेजोमा असर परेका विरामीको संख्या बढी देखिएको छ । त्यस्तै मस्तिष्कमा पार्ने असर, पेप्टिक अल्सर डिजिज पनि उत्तिकै देखिएको छ ।

धेरै जसो बिरामीहरु जन्डिस नाप्न आउने, अलिक असामान्य व्यवहार तथा मृगी भएर आउने गर्छन । कोही पेट दुखाई रगत नै बान्ता गरेर आउँछन । यदि रगत बान्ता आउनुको कारण ‘इसोफेजिएल भेरिसेज’ (अन्ननली बाट रक्तनली फुट्नु) को कारणले हो भने बचाउन निकै गाह्रो पर्छ ।

धेरै रक्सी, जाँड, तोङ्ग्वा खाने व्यक्ति कुनै कारणवश अस्पतालमा भर्ना भयो भने माथिका उल्लेखित घटना घट्न सक्छनर कोही सम्बन्धित रोगबाट छुटकारा पाउन भर्ना भएका हुन्छन त कोही चाँही अर्कै रोगले भर्ना भै सो अल्कोहल खान नपाएर छटपटीको रुपमा जथाभावी बोल्ने, बेहोस भै काप्ने तथा मुखबाट फिंज निकाली जिब्रो टोक्ने साथै आँखा पल्टाउने हुन सक्दछ ।

यसको उपचार हाम्रो अस्पतालमा सम्भव छ । तर कतिपय विरामीहरु उपचारका लागि भारत गएको पाइएको छ । त्यसैले धेरै टाढा गएर पैसाको नाश नगर्न अनुरोध गर्दछु ।

रक्सीको कुलतमा फसेको कसरी थाह पाउने ?

बिरामीले जब ठान्छ…..
१.  म मध्यपान धेरै सेवन गर्दैछु अब घटाउनु पर्छ वा
२.  परिवार तथा साथीहरुले रक्सि छोड्न भन्छन वा
३. आफुलाई गल्ति महसुस भैराछ वा
४.  विहान उठ्ने बित्तिकै पिउनु पर्ने अवस्था आउँछ

माथिका ४ मध्ये २ कुरा आउछन भने उसले सोच्नु पर्छ कि म मध्यपानको कुलतमा फसे, मध्यपानको कारणले असरको उपचार गर्नु भन्दा त्यसो हुनबाट रोक्नु महत्वपुर्ण कुरा हो ।

रक्सीको कुलत कसरी रोक्न सकिन्छ ?
१. बिरामी आफै : उसमा इच्छाशक्ति हुनुपर्छ । सबैले भन्छन म तुरुन्तै छोड्न सक्छु तर भने जस्तो सजिलो छैन । यदि छोड्ने प्रयास गर्दागर्दै पनि सकिदैन भने डाक्टरको सहयोगमा छोड्न सकिन्छर अस्पताल बाट उपचार गरेर घर फर्केका बिरामी फेरी मध्यपान गर्ने समस्या दोहोर्याई, तेहेराइ आउछन । त्यसो नहुनका लागि दृढ इच्छाशक्तिको साथै डाक्टरको सल्लाह पूर्ण रुपमा अंगाल्नु महत्वपुर्ण हुन्छ । मध्यपान गर्ने साथीहरु बाट टाढा बस्नु पर्छ । साथै यसको कुलत छोडेका साथीहरुको अनुभव ग्रहण गर्नु पर्छ ।

२. घनिष्ट साथीहरु : साथीहरुको यस कुलतबाट बचाउँन ठुलो भूमिका रहन्छ ।उनीहरुले सो बिरामीलाई मध्यपान बाट टाढा रहन सहयोग गरेमा धेरै मात्रामा सफल हुन सकिन्छ किनकि तिनै घनिष्ट साथीहरुको कुरा काट्न नसकेर मध्यपान गरिन्छ र तिनीहरुकै सहयोगमा पनि छोड्न सकिन्छ । साथीहरुले मध्यपान कुलतबाट बाँचेका सफल कहानीका उदाहरणहरु सुनाउनु पर्छ ।

३. परिवार : परिवारका सदस्यले जबर्जस्ति छोड छोड भन्नु भन्दा नि रचानात्मक किसिमले कसरी यो कुलत छोड्न सकिन्छ भनेर छलफल गर्नु पर्छ । त्यसको लागि बिरामी पनि खुलेर छलफलमा सहभागी हुनु जरुरी छ ।

४. समाज : सामाजले पनि उसलाई जंड्याको रुपमा हेय दृष्टिले नहेरी उसलाई कसरी  सो कुलतबाट रोक्न सकिन्छ भनेर सहयोग गर्नु पर्छ ।

# डा.  पच्या जिल्ला अस्पताल ताप्लेजुङमा मेडिकल जनरलिष्टको रुपमा कार्यरत छन् । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *