आगामी तेह्र वर्षमा चीनको जनसङ्ख्या एक अर्ब ४५ करोड पुग्ने

बेइजिङ ३० फागुन । विश्वकै धेरै जनसङ्ख्या भएको राष्ट्र चीनको जनसङ्ख्या आगामी सन् २०३० सम्म एक अर्ब ४५ करोड पुग्ने बताइएको छ ।

चीनको राष्ट्रिय स्वास्थ्य तथा परिवार नियोजन आयोगका अनुसार आगामी १३ वर्षमा चीनको जनसङ्ख्या वृद्धि हुने देखिए पनि सन् २०५० सम्ममा भने यसमा केही कमी आई एक अर्ब ४० करोड पुग्नेछ ।

यद्यपि यस शताब्दीको अन्त्यसम्ममा भने चिनियाँ जनसङ्ख्या मा एक अर्ब १० करोडमा झर्ने विज्ञहरुले दावी गरेका छन् । आयोगद्वारा चीनको जनसङ्ख्यासम्बन्धी यस रिपोर्टलाई शनिबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको थियो ।

तर जनसङ्ख्याका विषयमा विज्ञहरुद्धारा व्यक्त गरिएका चासोलाई खण्डन गर्दे आयोगका उपप्रमुख वाङ पेइयानले भने, चीनमा जनसङ्ख्याको आगामी केही दशक वा एक सय वर्षभित्रसम्म कमी हुने छैन ।

चीनमा बुढापाकाको जनसङ्ख्या धेरै भएको र नयाँ पुस्ताले कम वा बच्चा जन्माउने वा बच्चा नै नजन्माउने भन्ने खबरहरू बाहिर आइरहेका बेला चीनद्वारा यो तथ्याङ्कलाई सार्वजनिक गरेको हो ।

वाङलाई उद्धृत गर्दै राज्य सञ्चालित पत्रिका ग्लोबल टाइम्स दैनिकले चीनमा काम गर्ने उमेर समूह अर्थात् १५ वर्षदेखि ६४ वर्षका नागरिकको जनसङ्ख्या एक अर्बभन्दा माथि रहेको र यो चीनको वर्तमान जनसङ्ख्याको ७३ प्रतिशत रहेको जनाइएको छ ।

उनले सन् २०२० सम्म काम गर्ने उमेर समूहको जनसङ्ख्या ९८ करोड ५० लाख हुनेछ भने सन् २०५० मा यो जनसङ्ख्यामा केही कमीआई ८० करोड हुने बताए । ‘हाम्रो देशको काम गर्ने उमेर समूहको जनसङ्ख्याभन्दा अमेरिका र युरोपको सक्रिय नागरिकको जनसङ्ख्या धेरै कमी छ,’ वाङको दाबी छ ।

चीनमा अहिले एक अर्बभन्दा बढी सो उमेर समूह (१५–६४ वर्ष) का मानिसको जनसङ्ख्या रहेको र युरोप र अमेरिकाको सो उमेर समूहको जनसङ्ख्याभन्दा बढी छ । अर्थात् युरोप र अमेरिकाजस्ता विकसित राष्ट्रमा जम्मा सात करोड ३० लाख सक्रिय जनसङ्ख्या रहेको छ, वाङले भने । उनीहरूको उत्पादकत्व दर भने धेरै बढी छ ।

काम गर्ने जनसङ्ख्यामा आएको कमीसँगै देखिनसक्ने कामदारको समस्यालाई चीनमा प्रविधिको प्रयोगद्वारा सम्बोधन गर्ने योजना तथा कार्यक्रम भएको चीनले बताएको छ ।

वाङले चीनमा दुई बच्चा जन्माउनसक्ने नीति लिएसँगै चीनमा सन् २०१६ मा एक करोड ८० लाख ४६ हजार नयाँ शिशुले जन्म लिएका थिए । यो सङ्ख्या सन् २००० पछिको सबैभन्दा बढी जन्मदर हो । रासस / पीटीआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *