आयुर्वेदिक औषधि : दतिवनका यति धेरै फाईदा ?

वर्षा याममा उम्रने जंगली जडीबुटी दतिवन नेपालको पूर्वदेखि पश्चिमका सबै क्षेत्रमा पाइन्छ । यो जडीबुटी आयुर्वेदिक औषधिका रूपमा धेरै रोगको उपचार गर्न प्रयोग हुन्छ ।

हाम्रो गाउँघरमा यसको जरा र डाँठलाई दाँत माझ्न प्रयोग गरिन्छ । दाँत दुख्दा, गिजा कमजोर भएमा र मुख दुर्गन्धित भएमा दतिवनको ताजा जरालाई राम्ररी सफा गरेर दाँत माझ्ने गरिन्छ । दतिवनको पात, फूल, जरा, बिउ, डाँठलगायतका सम्पूर्ण अंग नै औषधीय गुणले भरिएको हुन्छ ।

छालाको रोगमा दतिवनको जरा पिसेर बनाइएको लेप उपयोग गर्न सकिन्छ । यसको पातको रसलाई घाउ र खटिरा भएको ठाउँमा मलमको रूपमा लगाउन सकिन्छ । कुकुर, सर्प र बिच्छीले टोकेको ठाउँमा दतिवनको पातको रस तुरुन्तै लगाइदिँदा शरीरभित्र विष छिटो फैलिन पाउँदैन । उपचार केन्द्र लैजानुअघि यस्ता उपाय प्रयोग गर्न सकिन्छ ।

दतिवनमा ‘एकारिन्थिन’ नामक तत्त्व पाइन्छ । उक्त तत्वमा रक्तचाप कम गर्ने गुण हुन्छ । दतिवनको बोटबाट तयार पारिएको धुलो औषधि मधुमेहमा पनि अति लाभदायक हुने विश्वास छ । दतिवनको जराबाट निकालिएको तेल दम रोगीलाई उपयोगी मानिन्छ ।

आयुर्वेदमा दतिवनबाट क्षार, तेल, आसवजस्ता विशेष किसिमका औषधि तयार पारिन्छ । दतिवनको पातमा कीटाणु नाश गर्ने शक्ति हुन्छ । दतिवनबाट निकालिने मिथानोलको प्रयोगले अर्बुद रोगसँग लड्न मद्दत गर्दछ ।

ऋषिपञ्चमीमा व्रत लिँदा ३ सय ६५ वटा दतिवनले दाँत माझी नजिकैको नदी, तलाउ, धारा तथा कुवामा स्नान गर्नाले पापमोचन हुने धार्मिक विश्वाससमेत रहेको छ ।
औषधोपचार :
काला ज्वरो आएमा : दतिवनको पात, मरिच र लसुन तीनवटै बराबर राखी पानी हालेर सिलौटामा पिस्ने । सख्खर हालेर केराउजत्रो बनाएर दुई/दुई गोली बिहान, दिउँसो र बेलुका तातोपानीसँग खान दिएमा कालाजार ठीक हुने विश्वास रहेको छ ।

खोकी लागेमा : दतिवन बालेर निस्किएको खरानीमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खाने गरेमा खोकी लागेको ठीक हुन्छ ।

औलो ज्वरो आएमा : दतिवनको पात र मरिच बराबर पिसेर सख्खर हालेर केराउजत्रो गोली बनाउने । ज्वरो आउनुअघि मनतातो पानीसँग खाने गरेमा औलोको ज्वरो ठीक हुन्छ ।

शरीर सुन्निएमा : दतिवनको चार/पाँचवटा पात एक गिलास पानीमा मिश्री हालेर पकाउने । सो झोल बिहान र बेलुका खाने गरेमा सम्पूर्ण शरीर सुन्निएको ठीक हुन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *