फ्रिजर अभावले शिक्षण अस्पतालका शव गनाउन थाले

काठमाडौं, ६ फागुन । सनाखत नभएका शवको उचित व्यवस्थापन गर्न नसक्दा शिक्षण अस्पताल (टिचिङ) परिसरमा दुर्गन्ध फैलिएको छ ।

शवको व्यवस्थापन गर्न राज्यले पर्याप्त जग्गा उपलब्ध नगराएको र फरेन्सिक मेडिसिन विभागसँग शव गाड्ने उचित स्थान नभएकाले शव कुहिएर दुर्गन्ध फैलिएको हो ।

दिउँसो घाम लागेको समयमा शवको दुर्गन्धले उपचारका लागि आएका बिरामी र तिनका कुरुवामा असर पुगेको फरेन्सिक मेडिसिन विभागका प्राडा हरिहर वस्तीले जानकारी दिए । उनले अस्पतालमा मृत्यु भएका बिरामीको शवको व्यवस्थापन गर्ने निश्चित ठाउँ नभएका कारण पछिल्लो समय समस्या बढ्दै गएको बताए ।

‘विगतमा सनाखत नभएका शवको संख्या कम हुन्थे, विभागले जसोतसो व्यवस्थापन गर्दै आएको थियो । तर, पछिल्लो समय शवहरूको संख्या बढ्दै जान थाल्यो, जसले गर्दा शव गाड्ने ठाउँ अपुग हुन पुग्यो । यसैले दुर्गन्ध फैलिएको हो,’ वस्तीले भने । गर्मी समय सुरु नहुँदै विभाग वरपर फैलिएको दुर्गन्धले महामारीको रूप लिन सक्ने उनको भनाइ छ ।

‘हामीले शवको व्यवस्थापन गर्न कठिनाइ भएको कुरा पटकपटक स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँदै आएका छौँ, जनतासँग प्रत्यक्ष जोडिएको विषयमा मन्त्रालय मौन बस्नु चिन्ताको विषय बनेको छ,’ उनले भने ।

एकै ठाउँमा वर्षौँदेखि शव निरन्तर गाडिरहनु र शव राख्ने फ्रिजरले काम नगरेकाले शव कुहिएर वातावरण नै दुर्गन्धित भएको उनले बताए ।

शव राख्ने फ्रिजर नै छैन
शवलाई चिसो बनाएर राख्ने फ्रिजरको अभावका कारण फरेन्सिक मेडिसिन विभागलाई दैनिक काम गर्न कठिनाइ भएको छ । कम्तीमा पनि हरेक दिन १० वटा शव राख्नुपर्ने भएपछि ती शवको व्यवस्थापन गर्न गाह्रो भएको उनले बताए ।

विभागसँग भएका वर्षौँ पुराना फ्रिजरहरू पनि काम नलाग्ने अवस्थामा छन् । राज्यलाई फरेन्सिक मेडिसिन विभाग भए–नभएकोबारे जानकारी नहुँदा ३०औँ वर्ष पुराना फ्रिजरबाट काम चलाइरहेको वस्तीले बताए ।

विभागसँग भएका सातवटा शव राख्ने फ्रिजरमध्ये तीनवटा काम नलाग्ने अवस्थामा थन्किएर बसेका छन् । ‘स्वास्थ्य सेवा विभागले दिएका तीनवटा फ्रिजरमा जम्मा ६ वटा मात्रै शव राख्न सकिन्छ ।

भूकम्पका वेला रेडक्रसको अन्तर्राष्ट्रिय कमिटी (आइसिआरसी) ले बनाइदिएको ५० वटा शव राख्न मिल्ने एउटा फ्रिजर थियो, त्यो पनि अहिले बिग्रिएको छ,’ वस्तीले भने, ‘शून्य डिग्री सेल्सियस तापक्रम हुनुपर्ने फ्रिजर बिग्रिएका कारण १८ डिग्री सेल्सियस तापक्रम हुने गरेको छ । त्यसैले सबै शव कुहिएका हुन् ।’ शवहरू कुहिएर पानी फ्रिजरबाट बाहिर निस्किएको छ । जसका कारणले बढी दुर्गन्ध फैलिएको उनले बताए ।

आवश्यक उपकरणको अभाव र राज्यको बेवास्ताले शव व्यवस्थापन गर्न विभागलाई थप समस्या देखिएको छ । सरकारको नीति तथा कार्यक्रममा हालसम्म फरेन्सिक मेडिसिन विभागका कुनै योजना परेका छैनन् ।

विभागमा सामान्य सञ्चालनमा रहेका फ्रिजरहरूमध्ये एउटामा ५० वटा र अर्कोमा एक सय ५० शव अट्न सक्ने क्षमता छ । बाँकी दुईवटामा भने दुई–दुईवटा शव राख्न मिल्ने भए पनि शवको चाप बढेका कारण पाँचदेखि सातवटासम्म खाँदेर राख्ने गरिएको छ ।

उपकरण बनाउने पैसा नहुँदा समस्या

स्थापना भएयता राज्यले फरेन्सिक मेडिसिन विभाग व्यवस्थापनका लागि बजेट नै छुट्याएको छैन । उनका अनुसार राज्यले फरेन्सिक विभागलाई बेवास्ता गर्दा बिग्रिएका उपकरण मर्मत तथा खरिदमा समेत समस्या भएको छ ।

‘हरेक महिना उपकरण मर्मतका लागि ४० हजार रुपैयाँ खर्च हुने गरेको छ,’ वस्तीले थपे, ‘कतिपय मानिस पोस्टमार्टम गरेका शव राख्न आग्रह गर्छन् । उनीहरूको शव एक रात राखेबापत विभागले पाँच सय रुपैयाँ लिने गरेको छ । त्यसरी जम्मा भएको रकमले अहिलेसम्म मर्मतमा सहयोग भइरहेको छ । तर, निरन्तर यसरी चल्न सक्दैन ।’ स्वास्थ्य सेवा विभागले दिएको ५० शव अटाउने फ्रिजर बिग्रिएपछि आइसिआरसीले बिग्रिएका उपकरणको मर्मत तथा १५० शव राख्न मिल्ने फ्रिजर सहयोग गरेको हो । सरकारले कुनै चासो नदेखाए पनि विभागले कामचलाउ हिसाबले जिम्मेवारी निर्वाह गर्दै आएको वस्तीको भनाइ छ ।

स्वास्थ्य मन्त्रालय अझै बेखबर
२६ चैत ०५६ को मन्त्रिपरिषद्को निर्णयअनुसार वीर अस्पतालमा हुँदै आएको पोस्टमार्टम अर्को व्यवस्था नहुँदासम्म भनी महाराजगन्जस्थित फरेन्सिक मेडिसिन विभागमा सारिएको थियो ।

तर, विभागबारे तालुकवाला स्वास्थ्य मन्त्रालय नै बेखबर छ । वस्तीका अनुसार स्वास्थ्यमन्त्री गगन थापाले आफू गम्भीर भएर त्यसको व्यवस्थापनमा लाग्ने बताए पनि अहिलेसम्म कुनै सहयोग भएको छैन ।

स्वास्थ्यमन्त्री थापाले भने विभागबारे आफूले एक चरण छलफल गरिसकेको जानकारी दिए । ‘म गम्भीर छुु, त्यसलाई आवश्यक जाँचबुझ र व्यवस्थापन गर्न आजैबाट लाग्नेछु । केही समय व्यस्त भएका कारण समय दिन नसकेकै हो,’ मन्त्री थापाले भने ।

  • आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *