चिकित्सकले जेनरिक नाममा औषधि सिफारिस गरे सस्तो

काठमाडौँ, ५ फागुन । डाक्टरले ब्रान्डेडको सट्टा जेनरिक (वैज्ञानिक) नामले औषधि सिफारिस गर्ने प्रावधान लागू गर्दा सस्तो पर्ने विशेषज्ञहरूले बताएका छन् । तर त्यस्तो व्यवस्था गर्नुअघि औषधि व्यवस्था विभागले मुलुकमा उपलब्ध सबै औषधि गुणस्तरीय रहेको सुनिश्चित गर्न उनीहरूले सुझाएका छन् ।

आजको कान्तिपुर दैनिकमा अतुल मिश्र लेख्छन् डाक्टरले जेनरिक औषधि अनिवार्य तथा स्पष्ट लेख्ने र सम्भव भएसम्म अंग्रेजी वर्णमालाको ठूलो अक्षरमा हुनुपर्ने प्रावधान स्वास्थ्य मन्त्रालयले लागू गर्नुपर्ने विज्ञहरू बताउँछन् । त्रिवि शिक्षण अस्पताल क्लिनिकल फर्माकोलजी विभागका प्रमुख प्राडा संघरत्न बज्राचार्यले जेनरिक नाममा सिफारिस गर्ने प्रावधान कार्यान्वयन गरिए औषधि सस्तो भएर उपभोक्तालाई फाइदा हुने बताए ।

नेपाल मेडिकल काउन्सिल, इथिकल कमिटीका संयोजक एवं त्रिवि शिक्षण अस्पतालका क्लिनिकल फर्माकोलोजिस्ट डा. सतीश देवका अनुसार काउन्सिलको आचारसंहितामा चिकित्सकलाई जेनरिक नाममा औषधि सिफारिसका लागि प्रोत्साहन गर्नुपर्ने उल्लेख छ । यसले व्यक्तिगत फाइदाका लागि औषधि लेख्ने चलनमा समेत कमी ल्याउँछ ।

जेनरिक औषधि उत्पादकबाट सीधै रिटेलरसम्म पुग्छ । यो औषधिको प्रचारप्रसारमा कम्पनीलाई केही खर्च हुँदैन् । मुलुकमा ब्रान्ड नाममा धेरैजसो औषधि उपलब्ध भए पनि ती जेनरिक औषधि जस्तै रहेको डा. देव बताउँछन् ।

‘किनभने ब्रान्ड नाम भएको औषधिको खोज, विकास र बजारीकरण औषधि कम्पनीले गरेको हुन्छ,’ उनले भने, ‘केही निश्चित समयसम्म यस्ता कम्पनीले आफ्नो लागत खर्च प्राप्त गर्न विशेष मूल्य तोक्छन् । केही खास समयपछि यस्ता ब्रान्ड नामको औषधिमा भएको एकाधिकार टुट्छ र जोसुकै कम्पनीले जेनरिक नामले उत्पादन गर्न पाउँछन् ।’

सामान्य रूपमा भन्दा, ज्वरो कम गर्ने औषधि ‘पारासिटामोल’ त्यही नामले बजारमा उपलब्ध छ भने यसलाई जेनरिक औषधि भनिन्छ । तर निको, सिटोफेन, क्यालपोल, क्रोसिन, मेडामोल, पामोल, एल्जिना आदि यसका ब्रान्ड नाम हुन् ।
जेनरिक र ब्रान्ड नाम भएको दुवै औषधिमा उपयोग हुने फर्मुला र रसायन एउटै हुन्छ । दुवै औषधिको लिने तरिका, तीव्रता, खुराक र बन्ने प्रक्रिया एउटै हुन्छ । ‘ब्रान्डेड र जेनरिक औषधिमा गुणस्तर होइन, फरक मूल्यको मात्र हुन्छ,’ नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष एवं वरिष्ठ फर्मासिस्ट बाबुराम हुमागाईंले भने ।

औषधिको अविष्कार जेनरिक नामले भए पनि औषधि कम्पनीले यसलाई आफ्नो ब्रान्ड नामले बजारमा प्रस्तुत गर्छन् । ‘यो प्रस्तुत गर्ने प्रक्रियाले नै औषधिको मूल्य थुप्रै गुणा बढ्छ । यसको फाइदा औषधि कम्पनीका मालिक, बिचौलिया र केही डाक्टरलाई हुन्छ भने बिरामी ठगिइन्छन्,’ हुमागाईंले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *