आफूले गरेको घोषणाको कार्यान्वयनमा ढिलाई भएको भन्दै स्वास्थ्य मन्त्री थापा आक्रोशित

काठमाडौँ, ४ फागुन । सम्झौता अनुसार जिल्लामा विशेषज्ञ चिकित्सक नपठाएको भन्दै स्वास्थ्यमन्त्री गगन थापा आक्रोशित भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान ( आईओएम)का पदाधिकारीहरुले तोकिएको समयमा विशेषज्ञ चिकित्सक नपठाएको भन्दै उनी आक्रोशित भएका हुन् ।

मन्त्री थापाले गत २६ माघमा मन्त्रीस्तरीय बैठकबाट निर्णय गर्दै विशेषज्ञ चिकित्सक नपुगेका ३० मध्ये १३ जिल्लामा १ फागुन देखि विशेषज्ञ चिकित्सक सहित आकस्मिक सल्यक्रिया सेवा सुरु हुने घोषणा गरेका थिए । तर उनको घोषणा अनुसारका चिकित्सकहरु तोकिएका सबै जिल्लामा पुगेका छैनन् । पुगेका चिकित्सक पनि उपकरण अभावमा भने अनुसार सेवा दिन सकिरहेका छैनन् ।

न्याम्स, आईओएम र केही सरकारी मेडिकल कलेजबाट विशेषज्ञ सहित चिकित्सक पठाउने प्रतिवद्धता भएर पनि जिम्मेबार पदाधिकारीहरुले सो कुरालाई हलुका रुपमा लिएको भन्दै मन्त्री थापाले तत्काल कार्यान्वयन नभए पदाधिकारीमाथि नै कठोर कदम चाल्ने संकेत गरेका छन् ।

मंगलबार बेलुका ट्वीट गर्दै उनले भनेका छन्, ‘हामीले जिम्मेबार पदाधिकारीसंगको सम्झौतालार्य गम्भिरतापूर्वक लिँदा विगत झैँ यो पटक पनि मन्त्रालयको कार्यलाई द्धितीय पक्षहरुले हलुका रुपमा लिएको निष्र्कषमा पुगेका छौँ । आजै सम्वन्धित पक्षहरुसंग सम्पर्क गरी जिम्मेबारपूर्वक समझदारी अनुरुप अविलम्व कार्यस्थलमा पुग्नका लागि सचेत गराएका छौँ र साथै यो योजनाको पूर्ण कार्यान्वनयको लागि आगामी दिनमा जस्तोसुकै कठोर कदम पनि लिनसक्ने प्रतिवद्धता पनि गर्दछौँ ।’

न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले भने विशेषज्ञ पठाउने काम सुरु भईसकेको बताए । ‘धादिङ, सर्लाही लगायतका क्षेत्रमा चिकित्सक पठाइसकिएको छ । बाँकीमा पठाउने काम भईरहेको छ । पढाईमा रहेका चिकित्सकलाई कर्मचारीलाई जस्तो गरि आजको भोली नै गरि पठाउन मिल्दैन् । उनीहरु पढदै गरेका चिकित्सक हुन् । उनीहरुको पनि टाईमटेवल हुन्छ, त्यो सबै मिलाएर पठाउने हो । यद्धपी हामीले पठाउने क्रमलाई तिब्रता दिएका छौँ । यो कुरा मन्त्रीज्यूलाई पनि थाह छ’, उनले भने ।

उपकुलपति गुरुङले विशेषज्ञ पठाएपनि जिल्लामा अत्यावश्यक उपकरण नभएकाले सेवा दिन कठिनाई भएको बताए । ‘हामीले धादिङ पठाएका छौँ , सर्लाही पठाएका छौँ तर त्यहाँ उनीहरुले पढे अनुसारका केही उपकरण छैन भन्ने छ । सर्जन त पठायौँ तर सर्जरीका लागि आवश्यक उपकरण नै छैन उनीहरुले के गरेर बस्ने ?’ डा गुरुङले भने ।

यता मन्त्री थापाले भने शल्यक्रिया कक्षविहीन १३ वटा जिल्ला अस्पतालहरुमा तुरुन्त प्रिफ्याव पद्धतीको शल्यक्रियाकक्ष निर्माण गराउन मंगलबार नै डिजाईन सम्पन्न भईसकेको र अविलम्व बोलपत्र आवहान गरि निर्माण कार्य अघि बढाउने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले गत फागुन १ देखि सर्लाही , धादिङ, रोल्पा, नुवाकोटको त्रिशुली, गोर्खा, नवलपरासी, सप्तरीको राजविराज, कञ्चनपुरको महेन्द्रनगर, दाङको तुल्सीपुर, अर्घाखाँची, उदयपूर, धनकुटा, बाग्लुङको बुर्तिवाङमा

विशेषज्ञ चिकित्सक सहित आकस्मिक सल्यक्रिया सुरु हुने बताएको थियो । विशेषज्ञ चिकित्सक सहित आवासीय चिकित्सक एमडी एमएस डीएम वा एमसीएचलाई जिल्लामा खटाउने मन्त्रालयको योजना थियो । त्यसका लागि मन्त्रालयले नै आवश्यक उपकरण र वित्तिय स्रोतको व्यवस्था गर्ने बताएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *