पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति लोकप्रिय बन्दै

(राजेन्द्र पनेरु)कञ्चनपुर, ८ माघ । महाकाली अञ्चल आयुर्वेद औषधालय महेन्द्रनगरले सञ्चालनमा ल्याएको निःशुल्क पञ्चकर्म आयुर्वेद चिकित्सा पद्धति लोकप्रिय हुँदै गएका छन् ।

बाथ, नसा, हाडजोर्नीको दुखाइ, अनिन्द्रा, टाउको दुखाइ, कम्मर दुखाइ, मानसिक समस्या र डिपे्रसनका बिरामीका लागि पञ्चकर्म आयुर्वेदिक चिकित्सा पद्धति उपयोगी साबित भएका हुन् ।

पञ्चकर्म चिकित्साअनुसार स्नेहनअन्तर्गत रोगनाशक अश्वगन्धा, तिल, ब्राम्ही तेलको सहायताले बिरामीलाई मालिस गरेर शरीरलाई सुगठित पारी पीडाबाट मुक्ति दिलाएर शरीरलाई स्फुर्ति गराउने कार्य गरिँदै आएको औषधालयका आयुर्वेद चिकित्सक डा सूर्य उपाध्यायले बताए ।

“रोगको अवस्थाका आधारमा तेलको छनोट गरी दैनिक एक घन्टाका दरले सातदेखि १४ दिनसम्म यो पद्धतिबाट उपचार गरिन्छ” उनले भने ।

स्नेहन पछि रोगीलाई नाडी स्वेदनअन्र्तगत रबर पाइपको प्रयोग गरी औषधिको द्रव्ययुक्त वाष्पलाई शरीरका विभिन्न आवश्यक अङ्गमा पु¥याउने गरिन्छ । औषध द्रव्य र जललाई नाडी स्वेदयन्त्रमा राखी आगोमा उमालेपछि निस्कने वाष्प स्वेदन यन्त्र (वाष्प वाकस) मा बिरामीको टाउको बाहिर राखी मुनिबाट औषधियुक्त वाष्प प्रवेश गराई उपचार गरिँदै आएको उपचारमा संलग्न औषधालयका कर्मचारीले बताउँछन् ।

पहिलो पटक औषधालयले प्रयोगमा ल्याएको यस विधिको प्रयोग गर्ने रोगीको सङ्ख्या दैनिक सातदेखि दश जनासम्म हुने गरेका छन् ।

भीमदत्तनगरपालिका सुकासालका हेमन्तसिंह थापाले स्वेदन यन्त्रको सहायताले उपचार गराउँदा तीन दिनमै आफ्नो हाडजोर्नी दुखाइको समस्याको हटेको बताए । “विभिन्न अस्पतालमा दुई वर्षदेखि उपचार गराउँदासमेत निको नभएको हाडजोर्नीको समस्या आयुर्वेद पद्धतिको उपचारले निको भएको छ”–उनले भने ।

यन्त्रको सहायताले उपचार गराउँदा जोर्नीको समस्यासँगै पक्षाघात, दम, खोकी, मुख बाङ्गिने, गर्धन कडा हुने, ढाडको दुखाइ, शारीरिक तथा मानसिक थकान दूर गर्न सहायक हुने डा उपाध्यायले बताए ।

यससँगै शिरोवस्ती, ग्रीवावस्ती, कटीवस्ती, जानवस्ती, चक्षुवस्तीलगायत उपचार पद्धतिबाट समेत औषधालयमा उपचार गरिँदै आएका छन् ।

टाउकाको सम्पूर्ण रोगका लागि शिरोधारा उपयु्क्त

औषधालयले आयुर्वेदीय पञ्चकर्म पद्धतिअन्तर्गत महत्वपूर्ण शिरोधारा उपचार विधि पनि सुरु गरेको छ । यसअन्तर्गत लगातार निश्चित उचाइबाट औषधयुक्त तेल निरन्तर रुपमा निधारको बीचमा धारा दिई उपचार गरिन्छ । शिरोधारा लगातार एउटै बिन्दु, दायाँदेखि बायाँ गरेर वा गोलोकार रुपमा दिइने गरिन्छ । टाउकोमा हुने सम्पूर्ण रोगका लागि यो विधि उत्तम मानिन्छ । शिरोधारा ४५ मिनेट देखि ७० मिनटसम्म गरिन्छ । यो सातदेखि १४ दिनसम्म लगातार रुपमा गरिन्छ ।

“बिरामीको अबस्था हेरेर दिनहरु घटाउने वा बढाउन सकिन्छ”–डा उपाध्यायले भने, “यसले बुद्धि विवेक जागृत गर्न, मानसिक स्फूर्ति कायम गर्न, चिन्ता दूर गर्न, छारेरोग, टाउको दुखाइ, उच्च रक्तचाप र पक्षाघात हटाउन, स्नायु प्रणालीलाई सबल बनाउन, आँखाको ज्योति बढाउन तथा स्मरणशक्ति बढाउन मद्धत गर्छ ।”

पन्ध्रदेखि २५ मिनेटसम्म गरिने यस उपचार पद्धति बिरामीको अवस्था हेरी एकदेखि दुई हप्तासम्म गरिन्छ । औषधालयमा पञ्चकर्म चिकित्साबाट गत साउनदेखि हालसम्म निःशुल्क रुपमा ५२० जना बिरामीले सेवा लिइसकेका छन् । उपचारका लागि औषधालयमा १५ वर्ष देखि ७० वर्ष उमेरका नागरिक पुग्ने गरेका छन् ।

औषधालयमा दक्ष जनशक्ति नहुँदा कार्यालय सहयोगीलाईसमेत आवश्यक तालिम दिई काममा लगाइएको छ, डा उपाध्यायले भन्नुभयो –“उपचार गर्ने छुट्टै कोठासमेत नहुँदा सेवाग्राहीलाई सास्ती हुने गरेका छन् ।”

यसका अतिरिक्त औषधालयले श्वासप्रश्वास, ज्वरो, चर्मरोग, ग्यास्ट्रिक र पेटसम्बन्धी समस्या भएका बिरामीको उपचार र आयुर्वेदीक औषधि निःशुल्क रुपमा उपलव्ध गराउँदै आएको पनि छ । यो औषधालय विसं २०४३ सालमा स्थापना भएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *