लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य रोक्न आग्रह

काठमाडौँ, ७ माघ । लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय भएकाले यसलाई निरुत्साहन गर्न सांसदहरुले जोड दिएका छन् ।

उनीहरुले गर्भपतन गराउने महिलाको समग्र स्वास्थ्यमा असर पुग्ने हुँदा लिङ्ग पहिचान गरी गर्भपतन गर्ने र गराउने दुवै कार्यलाई रोक्न स्वास्थ्य मन्त्रालयलाई अनुगमन गर्न सुझावसमेत दिएका छन् ।

व्यवस्थापिका–संसद्, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समिति र सिविन नेपालद्वारा लिङ्ग पहिचानपश्चात् गरिने गर्भपतन र शिशु बालिकाको विरुद्ध विभेद अन्त्यसम्बन्धी आज यहाँ आयोजित कार्यक्रममा सांसदले समाजमा छोराछोरी समान हुन् भन्ने मानसिकता कायम गर्न जनचेतना जगाउन आवश्यक भएकामा जोड दिए ।

समितिका सभापति रञ्जु झाले लिङ्ग पहिचान गरी छोरा भए जन्म दिने र छोरी भए गर्भपतन गराउने प्रवृत्तिलाई कडा कानुनले मात्र नियन्त्रण गर्न सकिने बताए।

सांसद डा.गङ्गालाल तुलाधरले लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय हुँदाहुँदै पनि किन रोकिएको छैन भन्ने प्रश्न गर्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । सांसद रामहरि सुवेदीले छोरीभन्दा छोरा जन्माउनलाई बढी प्राथमिकता दिने संस्कार र प्रवृत्तिले आउन सक्ने समस्यालाई सम्बोधन गर्न सरकारले नयाँ नीति ल्याउनुपर्छ भने ।

सांसद श्रीमाया थकाली भने छोरीले आमाबाबुलाई धेरै ममता गर्छन् भन्ने बुझाउन आवश्यक भएको धारणा राखिन् । केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धिताल, सिविन नेपालका अध्यक्ष माधव प्रधान र कार्यकारी निर्देशक रश्मिला शाक्यले छोरी भएकै कारण गर्भपतन गराउने कार्यलाई रोक्न आवश्यक भएकामा जोड दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *