बरु बटौली जान्छन् चार पटक गर्भपरीक्षण अनिवार्य गर्छन्

नवलपरासी, ४ माघ । भित्तामा टाँगिएको चार्टमा चार पटक गर्भ जाँच गराउने गर्भवती महिला ६४ प्रतिशत मात्रै आएको देखिन्छ तर मनरी स्वास्थ्य चौकीका सीअहेव ओमनारायण देवकोटा आफ्नो गाविसमा सत प्रतिशत महिलाले चार पटक गर्भजाँच गराएको दावी गर्छन् ।

भन्छन्, ‘हाम्रा स्वयंसेविकाको रिपोर्ट अनुसार हाम्रो सम्पर्कमा नआएका महिलाहरु गर्भपरीक्षणका लागि बटौली(बुटवल) तथा जिल्ला अस्पताल परासी जाने गर्दछन् । त्यसैले हाम्रो दावी सतप्रतिशत महिलाले गर्भजाँच गराएका छन् । त्यति मात्रै होइन संस्थागत सुत्केरी हुने दर पनि लगभग त्यहि हाराहारीमा छ् ।’

८० प्रतिशत चौधरी समुदायको बसोबास रहेको मनरी गाविस जिल्लाकै नमूना गाविस मध्येको एक हो । त्यस्तै देखिन्छ गाविस भवनसंगै जोडिएको मनरी स्वास्थ्य चौकी । जनस्वास्थ्य निरीक्षकको नेतृत्वमा एक सीअहेव, दुई अहेव, एक ल्याव असिस्टेन्ट, दुई अनमी सहित ८ जनाको दरबन्दी भएको सो स्वास्थ्य चौकीमा चौविस घण्टे बर्थिक सेन्टर समेत सञ्चालनमा छ ।

‘बर्थिङ सेन्टर सञ्चालनमा आएपछि संस्थागत सुत्केरी सत प्रतिशत छ भनेपनि हुन्छ,’ अघिल्लो महिनाको तथ्यांक देखाउँदे सीअहेव देवकोटाले भने, ‘पुस महिनाको तथ्यांक हेर्ने हो भने बर्थिङ सेन्टरमा आएर ११ जना सुत्केरी भएका छन् ।’

उनले स्वास्थ्य चौकी र बर्थिङ सेन्टरमा नआउने गर्भवतीहरु परीक्षण तथा सुत्केरीका लागि बुटवलका सरकारी तथा निजी अस्पतालमा जाने गरेको बताए ।

उता तिलकपुर स्वास्थ्य चौकीका इन्चार्ज सीअहेव बाबुराम तिमल्सेनाले बर्थिङ सेन्टर नभएपनि गाविसका सबै गर्भवतीहरु संस्थागत सुत्केरी हुनमा जोड दिएको बताए । जनचेतनाकै कारण हुनसक्छ । ‘हाम्रो गाविसमा गर्भपरीक्षण नगराएका, घरमै सुत्केरी भएका भन्ने अचेल रिपोर्टमा आएकै छैन्,’  ८० प्रतिशत चौधरी समुदायको बसोबास गर्ने तिलकपुरको विवरण सुनाउँदै स्वास्थ्य चौकी इन्चार्ज ढुंगानाले भने, ‘यहाँका अधिकांश महिला गर्भपरीक्षणका लागि बुटवलनै जान्छन् ।’

गाविसमा भएको स्वास्थ्य चौकी बाहेक अन्य चारवटा गाँउघर क्लिनिकबाट समेत गर्भवति महिलाको बिबरण लिने गरेको अनमी ज्योति खनाल बताउछिन् ।

गाविसमा पहिले देखिनै प्रजनन स्वास्थ्य सम्वन्धी विभिन्न गैरसरकारी संस्थाका कार्यक्रम लागू भएका कारण पनि महिला तथा पुरुषहरु प्रजनन स्वास्थ्यका बारेमा अलि बढी सचेत छन् । ‘आईरन चक्की कहिले देखि खाने ? कस्तो अवस्था भएमा स्वास्थ्य चौकीमा जाने, स्वास्थ्यकर्मीसंग सम्पर्क गर्ने भन्नेमा उहाँहरु निकै सचेत हुनुहुन्छ,’ अनमी खनालले भनिन् ।

नाईटोमा संक्रमण हुने दर सून्य

तिलकपुर स्वास्थ्य चौकीका इन्चार्ज बाबुराम तिमल्सेनाले नवजात शिशुको लागि नाभि मल्हम वितरण गर्न थालेपछि नाईटोमा हुने संक्रमण सुन्य प्राय भएको बताएका छन् । उनले पछिल्ला बर्षमा संक्रमण भएका केश एउटा पनि नपाएको उनले बताए ।

पहिले पहिले नाईटो पाकेका शिशुहरु धेरै आउथे तर अहिले त्यो छैन् । नाईटो पाक्ने केश त आएकै छैन् । सरकारले अन्तराष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको सहयोगमा सुरक्षीत मातृत्व कार्यक्रम अन्तर्गत नवजात शिशुका लागि नाभी मल्हम उपलव्ध गराउँदै आएको छ ।

शिशुमृत्युदर घटाउन सफल उत्कृष्ठ जिल्ला

जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख भेषराज शर्माले नवलपरासी जिल्ला नवजात शिशु मृत्युदर तिब्ररुपमा घटाउन सफल भएको उत्कृष्ठ जिल्ला भएको दावी गर्छन् ।

राष्ट्रिय तथ्यांक हेर्ने हो भने प्रति हजार जिवित जन्ममा ३३ को मृत्यु हुने गरेको छ तर हाम्रो जिल्लामा जम्मा ७ मात्रै छ । जिल्ला जनस्वास्थ्य कार्यालयको प्रतिवेदनले गतवर्ष कुल जिल्लाभर ६२ जवजात शिशुको मृत्यु भएको देखाएको छ ।

खोप प्रमुख समेत रहेका शर्माले गर्भदेखिको नियमित परीक्षण, खानपान, सरसफाई, खोप तथा उचित स्याहारका कारण यो सब सम्भव भएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *