सुत्केरीलाई स्वास्थ्यकर्मीको सहयोग

सोलुखुम्बु, ३ माघ । नवजात शिशुलाई जन्म दिएपछि बेहोस बनेकी जलेश्वरी–६ खोटाङकी सङ्गीता पुरीलाई जिल्ला स्वास्थ्य कार्यालय, सोलुखुम्बुको समन्वय तथा सोलु अस्पताल फाप्लुमा कार्यरत स्वास्थ्यकर्मीको आर्थिक सहयोगमा थप उपचारका लागि आइतबार काठमाडौँ लगिएको छ ।

पुस २९ गते साँझ ७ बजे आफ्नै निवासमा शिशुलाई जन्म दिएकी १९ वर्षया पुरी सोही दिन राति ९ बजेदेखि बेहोस बनेको पारिवारिक स्रोतको भनाइ छ ।

स्रोतका अनुसार लामो समयसम्म सुत्केरीको होस नफर्केपछि माघ १ गते दिउँसो करिब २ बजे सोलुु अस्पताल फाप्लुमा थप उपचारका लागि ल्याइएको थियो । अस्पतालमा भर्ना भएकी सुत्केरीको स्वास्थ्य अवस्थामा सुधार नआएपछि काठमाडौँ पठाउनुपरेको अस्पतालका डा राजेन्द्र बस्नेतले बताए ।

डा. बस्नेतका अनुसार गर्भावस्थामा उच्च रक्तचापका कारण मिर्गौलाले काम गर्न छाडेपछि सुत्केरी बेहोस बनेकी हुन् । जनचेतनाको कमीका कारण सुत्केरी पुरीले एकपटक पनि गर्भजाँच नगराएको पाइएको पनि उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

आर्थिक अवस्था कमजोर भएकै कारण जिल्ला जनस्वास्थ्य कार्यालय, सोलुखुम्बुको समन्वयमा स्वास्थ्यकर्मीको सहयोगस्वरुप दुईवटा हवाई टिकट, निःशुल्क उपचार सेवा र काठमाडौँ मेडिकल कलेज, काठमाडौँमा विशेष छुटमा उपचारको व्यवस्था गरिएको अस्पतालका डा. राजेन्द्र बस्नेतले जानकारी दिए।

सिमपानी खोटाङ निवासी दिनेश गिरीसँग करिब एक वर्ष अगाडिमात्र वैवाहिक बन्धनमा बाँधिएकी पुरीको घरको आर्थिक अवस्था निकै कमजोर छ । श्रीमान्ले विवाहपश्चात् श्रीमतीलाई माइती घरमा छाडेर वैदेशिक रोजगारीमा गएको भए पनि हेरविचार नगरेको उनका माइती पक्षले आरोप लगाएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *