सरकार र डा. केसीबीचको सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतले सरकार र चिकित्सक डा. गोविन्द केसीबीच भएको १२ बुँदे सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको छ ।

सर्वोच्चका न्यायाधीशद्वय अनिल सिन्हा र सपना मल्ल प्रधानको संयुक्त इजलासले हिजो  सरकार र डा. केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न बाटो खुल्ला गरेको हो । सरकार र डा केसीबीच गत मङ्सिर १९ गते १०औँ अनसन तोड्ने क्रममा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिनेलगायत १२ बुँदे  सहमति भएको थियो ।

सरकार र डा केसीबीच भएको उक्त सहमतिविरुद्ध झापा बिर्तामोडका बीएएण्डसि कलेजका सञ्चालक दुर्गाप्रसाद प्रसाईंले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । सो रिट निवेदनमा बिहीबारदेखि सुनुवाइ सुरु भएको थियो । सो विषयमा सर्वोच्चले सरकार र डा. केसीबीच भएको सम्झौता कार्यान्वयन गर्न रोक्न नसकिने आदेश दिएको हो ।

सो विषयमा डा. केसीका तर्फबाट अधिवक्ता ओमप्रकाश अर्याल, डा. सुरेन्द्र भण्डारी, ज्योति बानियाँ, बाबुराम गिरी, इन्द्र अर्याललगायतले वहस गरेका थिए भने कलेजका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल, बालकृष्ण न्यौपाने, अधिवक्ता डा.भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *