‘नसर्ने रोगबाट जोगिन खानपान र जीवनशैलीमा ध्यान दिउँ’


काठमाडौँ, २७ पुस । खानपान र जीवनशैलीका कारण नेपालमा पनि पछिल्लो समय नसर्ने रोगको जोखिम बढिरहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले जोखिम नियन्त्रणका लागि खानपान र जीवनशैलीमा परिवर्तन गर्न तथा जनचेतना अभिवृद्धि गर्न जोड दिएका छन् ।

बुधबार प्राथमिक स्वास्थ्य सेवा पुर्नजागरण महाशाखाको आयोजनामा भएको प्याकेज अफ इसेन्सियल नन कम्युनिकेवल डीजीज( पेन प्याकेज) सम्वन्धी कार्याशाला गोष्ठीमा बोल्दै बरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइरालाले नसर्ने रोगको जोखिम दिनानुदिन बढ्दै गएको बताए । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले नै नेपालमा नसर्ने रोगबाट ६० प्रतिशत मृत्यु हुने गरेको देखाएको भन्दै यो संख्यामा यो भन्दा बढी हुनसक्ने बताए । उनले अस्वस्थकर खाना, परिवर्तित जीवनशैलीले जोखिम बढाएको बताए ।

अर्का मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिलले पछिल्लो समय युवाहरु समेत नसर्ने रोगको शिकार भएको बताउदै स्कुल तहबाट जनचेतना जगाउन आवश्यक भएको बताए । उनले खानपान जीवन शैली बाहेक बाताबरणीय प्रभावले पनि जोखिम बढेको बताउदै सम्वन्धित निकायले ध्यान पुरयाउनुपर्ने बताए । उनले नसर्ने रोग परीक्षणका लागि देशका अधिकांश क्षेत्रमा व्यवस्था नभएको भन्दै सबै क्षेत्रमा परीक्षणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिए ।

मधुमेहरोग विशेषज्ञ डा ज्योति भट्टराई नसर्ने रोगको अर्को प्रमुख कारण मधुमेह रोग बढदै गएको भन्दै उनले खानपान र जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताइन् । उनले समयमै नियमित परीक्षण गर्ने बानी पार्नुपर्ने बताइन् । परीक्षण गरि सुरुमै थाह भए रोगबाट बच्न सकिन्छ । यसका लागि सहज परीक्षणको व्यवस्था मिलाउनुपर्छ ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागका उप महानिर्देशक डा बासुदेव पाण्डे, पुर्नजागरण महाशाखाका निर्देशक मोहमद दाउद, डव्लुएचओका प्रतिनिधी डा जोश, नेपाल स्वास्थ्य अनुसन्धान परिषदका सदस्यसचिव डा खेम कार्की लगायतका व्यक्तिले धारणा व्यक्त गरेका थिए ।
पेन प्याकेज कार्यक्रम अहिले कैलाली र इलाममा सुरु भएको छ । यसैबर्ष थप आठ जिल्लामा यो कार्यक्रम विस्तार हुँदैछ । ती जिल्लाहरुमा पाल्पा, बाग्लुङ, म्याग्दी, अछाम, बर्दिया, सुर्खेत, मकवानपुर र रौतहट छन् ।

डव्लुएचओको पेन प्याकेजमा मुटु, मधुमेह, क्यान्सर र स्वासप्रस्वास ( सीओपीडी) रोग नियन्त्रण गर्ने योजना भएपनि सरकारले कैलाली र इलाममा मुटु र मधुमेहलाई मात्रै लिएर नमूना कार्यक्रम सुरु गरेको छ । तर अब सुरु हुने अन्य जिल्लामा चारवटै रोगको कार्यक्रम अघि बढाइने तयारी भएको महाशाखा प्रमुख मोहम्मद दाउदले बताए । अहिले इलाम र कैलालीमा यो कार्यक्रमका लागि ५०/५० लाख रुपैयाँ पठाइएको छ । बाँकी जिल्लामा पनि सोही अुनसार बजेट पठाइनेछ ।

डव्लुएचओको प्रतिवेदन अनुसार नेपालमा सन २०१० मा नसर्ने रोगबाट मृत्यु हुनेको संख्या ५१ प्रतिशत रहेको थियो तर सन् २०१४ मा पुग्दा यो प्रतिशत बढेर ६० पुगेको छ । संसारमै तिब्ररुपमा बढ्दै गएको नसर्ने रोगको जोखिम न्युनिकरण गर्न डव्लुएचओले यो कार्यक्रम अघि सारेको हो । यो कार्यक्रममा नसर्ने रोगको जोखिम न्युनिकरणका उपाय, रोकथाम र उपचार लगायतको प्याकेज रहेको छ ।

पेन प्याकेज कार्यक्रममा मुख्यतया स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रबाटै नसर्ने रोगको जोखिम पहिचान तथा उपचार गर्ने कार्यक्रम छ । यदि कोही व्यक्ति छाती दुखेर स्वास्थ्य चौकीसम्म आयो भने त्यहाँको स्वास्थ्यकर्मीले लक्षण पहिचान गरि नसक्ने अवस्था हुँनासाथ प्राथमिक स्वास्थ्यकेन्द्रमा रिफर गर्छ ।

त्यहाँका चिकित्सकले रोग पत्ता लगाईसकेपछि औषधिको व्यवस्था उनीहरुकै सिफारिसमा स्वास्थ्यचौकीबाट उपलव्ध हुन्छ । निर्देशक दाउदले भने । उनले यो योजनामा नसर्ने रोगको उपचार, यसका जोखिम, बच्ने उपायका बारेमा सम्पूर्ण प्याकेज रहेको बताए । उनले यो कार्यक्रम लागू भएको जिल्लामा निशुल्क औषधिको सूचीमा थप तीन वटा औषधि थपिएको समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *