खै विशेषज्ञ चिकित्सक ? १५८ पदमा दर्खास्त माग, ९० को निवेदन, २९ ले मात्र लिए नियुक्ति

काठमाडौं, २६ पुस । स्वास्थ्यमा दुर्गमका रिक्त पदमा कर्मचारी जान छाडेका छन् । दुर्गममा गएर सेवा दिनुपर्ने भएपछि स्वास्थ्य मन्त्रालयले आह्वान गरेका रिक्त पदमा न्यून चिकित्सकले मात्र दर्खास्त दिएका छन् ।

मन्त्रालयले विभिन्न समूहमा गरी १५८ कन्सल्टेन्ट पद (नवौँ तह)का लागि दर्खास्त मागेको थियो । तर, ९० जनाले मात्र दर्खास्त दिएका थिए । अन्तर्वार्तामा दुईजना अनुपस्थित रहे भने ८८ जना पास भएका छन् ।

तीमध्ये २९ चिकित्सकले मात्र नियुक्तिपत्र बुझेको मन्त्रालयले जनाएको छ । बाँकी ५९ चिकित्सक भने बोलाउँदा पनि नियुक्तिपत्र लिन पुगेका छैनन् ।

मन्त्रालयले रिक्त पदमा पदपूर्ति गर्न ७ मंसिरदेखि १५ पुससम्म अन्तर्वार्ता लिएको थियो । ‘एक सय ५८ जना मागेकोमा ९० जनाले आवेदन दिए । सुरुमै ७० जनाको आवेदन परेन,’ स्वास्थ्य मन्त्रालयका सहसचिव तथा अन्तर्वार्ता समिति संयोजक दानध्वज बस्नेतले भने, ‘आवेदन दिएका र छनोट भएर पोस्टिङ भइसकेका अधिकांशले दुर्गममा जान मानेनन् ।’

सरकारको प्राथमिकता दुर्गमलक्षित सेवा भए पनि चिकित्सकको रुचि नहुँदा समस्या भएको छ । ‘चिकित्सक पठाउन विज्ञापन आह्वान गर्दा रिक्त पदअनुसारको दर्खास्तै पर्दैन, छनोटमा परेका पनि जान मान्दैनन्,’ बस्नेतले भने ।

चिकित्सक सहरकेन्द्रित हुँदा दुर्गमका नागरिक उपचार पाउनबाट वञ्चित छन् । दुर्गममा निजी क्लिनिक नहुने र सुविधा पनि कम हुने भएको चिकित्सक उपत्यकाबाहिर जान नमानेको मन्त्रालयका अधिकारीको भनाइ छ ।

दुर्गममा घुम्ती चिकित्सक पठाउने तयारी

स्वास्थ्यमन्त्री गगनकुमार थापाले चिकित्सक बाहिर जान नमान्नुले ठूलो समस्या निम्त्याएको बताए । सरकारलाई नवौँ तहका चिकित्सकको खडेरी लागेको पनि उनको भनाइ छ । नियम संशोधन गरेर दुर्गममा पठाउन खोज्दा पनि चिकित्सक जान नमानेको उनले गुनासो गरे ।

‘नवौँ तहको विशेषज्ञ चिकित्सक सुक्खा तलबमा मात्रै जान मान्दैनन्,’ मन्त्री थापाले भने, ‘हामीसँग सुक्खा तलबभन्दा अरू सेवा दिने आधार छैन । त्यसैले अब दुर्गममा घुम्ती चिकित्सक परिचालन गर्नुको अर्को विकल्प हामीसँग छैन ।’ काजमा भए पनि तीन–तीन महिनामा दुर्गममा चिकित्सक पठाउने थापाले स्पष्ट पारे ।

घुम्ती चिकित्सकमा शिक्षण अस्पताल महाराजगन्ज र निजी मेडिकल कलेजबाट सेवा पु¥याउने उनले जानकारी दिए ।

  • आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “खै विशेषज्ञ चिकित्सक ? १५८ पदमा दर्खास्त माग, ९० को निवेदन, २९ ले मात्र लिए नियुक्ति

  1. as good treatment requires specialists, specialists also require the reliable laboratory reports for the diagnosis and the treatment and pathologist alone is not enough to verify all the laboratory reports, there should be biochemist and microbiologist too along with pathologist. time to think in it.

Leave a Reply

Your email address will not be published. Required fields are marked *