विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति बन्न दौड सुरु (को-को छन् दौडमा ?)

काठमाडौँ, २३ पुस । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति ( भिसी) नियुक्त हुन आकांक्षीको दौडधुप सुरु भएको छ । प्राडा बलभद्रप्रसाद (विपी) दासको पदावधी गत २० पुसमा सकिएपछि आकांक्षीहरुको दौडधुप सुरु भएको हो ।

प्रतिष्ठानका केही डाक्टर आफ्नो नियुक्तिका लागि काठमाडौँमै बसेर स्वास्थ्य मन्त्रालय धाईरहेको स्रोतको खबर छ । पाँचबर्ष अघि दास उपकुलपति हुँदा अन्य पाँच चिकित्सक प्रतिस्पर्धामा थिए ।

त्यतिवेला प्राडा संगिता भण्डारी, प्राडा प्रल्हाद कार्की, प्राडा बीएन यादव, प्राडा आरके रौनियार र प्राडा सीएन अग्रवाल उपकुलपतिको दौडमा थिए । अहिले पनि उनीहरु नै उपकुलपतिको दौडमा रहेको स्रोतको दावी छ ।

प्राडा संगिता भण्डारी नाक कान घाटी विभागकी प्राध्यापक हुन् । उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छिन् । प्राडा प्रल्हाद कार्की इन्टरनल मेडिसिन विभागका प्रमुख थिए । तर उपकुलपति दासले आफ्नो पदावधी सकिन एक साता बाँकी छँदा सो विभागबाट कार्कीलाई हटाई प्राडा सञ्जीवकुमार शर्मालाई नियुक्त गरेका छन् । प्राडा शर्मा राजाको शासनकालमा अस्पतालको निर्देशक भएका थिए । अहिले भने उनी कांग्रेस निकट मानिन्छन् ।

प्राडा विएन यादव फरेन्सिक विभागका प्रमुख थिए । उनलाई पनि प्रमुखबाट हटाइएको छ । उनी अलिहेसम्म लाभको पदमा छैनन् । तर, भिसीको दौडमा भने सहभागी हुँदै आएका छन् ।

प्राडा आरके रौनियार रेडियोलोजी विभागमा थिए । उनलाई पनि भर्खर विभागीय प्रमुखको जिम्मेबारीबाट मुक्त गरिएको हो । उनी सिनेट सदस्य पनि हुन् । उनका दाई गौरीशंकर रौनियार कांग्रेस सुनसरीका नेता हुन् ।

प्राडा सिएस अग्रवाल सर्जरी विभागका विभागीय प्रमुख थिए । उनलाई पनि संगै पदमुक्त गरिएको छ । उनी कुनै दलनिकट छैनन् । उनी पूर्व उपकुलपति डा शेखर कोइरालाका समकालिन मानिन्छन् । अग्रवाललाई उपकुलपति बनाउन धरानका केही व्यापारीहरु लागि परेको स्रोतले बताएको छ ।

निवर्तमान उपकुलपति प्राडा दासले सरकारले अर्को कार्यकालको जिम्मेबारी दिए पुरा गर्न तयार भएको बताउदै आएका छन् ।

यता प्रतिष्ठान बाहिरबाट नुवाकोट स्थायी घर भएका डा केदार नरसिंह केसीको नाम अगाडी छ । उनी नेपाली कांग्रेस नेता एवं शहरी विकास मन्त्री अर्जुननरसिंह केसीका भाई र स्वास्थ्यमन्त्री गगन थापाका काका ससुरा पर्दछन् ।

  • आजको नयाँ पत्रिकामा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *