उपकुलपति बन्न चाहनेले १० पन्ने कार्ययोजना सहित निवेदन दिनुपर्ने

काठमाडौँ, २१ पुस । स्वास्थ्य मन्त्रालयले आफू अन्तर्गतका तीन वटा प्रतिष्ठानमा रिक्त उपकुलपति नियुक्तिका लागि सूचना प्रकाशित गरेको छ । मन्त्रालयले योग्यता पुगेका इच्छुक व्यक्तिलाई आगामी २७ पुस भित्र कार्ययोजना सहित दरखास्त पेश गर्न भनेको छ ।

विहीबार प्रकाशित सूचनामा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिक्त रहेको उपकुलपति पदमा नियुक्त हुन चाहनेले १० पेजमा नबढाई कार्ययोजना सहितको निवेदन दिन भनिएको छ ।

सूचनामा सम्वन्धीत प्रतिष्ठानको ऐन र स्वास्थ्य मन्त्रालयल सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ती र मनोनयन सम्वन्धी मापदण्ड, २०७३ बमोजिम योग्यता पुगेका व्यक्तिहरु सहभागी हुन सक्ने उल्लेख छ ।

प्रतिष्ठानका उपकुलपति तथा पदाधिकारीहरुमा यसअघि प्राय राजनीतिक भागवण्डाका आधारमा हुने गरेको थियो । तर यसपटक मन्त्रालयले कार्ययोजना सहित निवेदन दिन सार्वजनिक सूचना जारी भएको छ । यद्धपी यसपटक पनि दलहरुबीच भागवण्डा मिलेपछि मात्रै सूचना जारी भएको स्रोतले बताउछ ।

‘पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान माओवादीको भागमा र पाटन र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान कांग्रेसको भागमा पर्ने ‘जेन्टलमेन्ट अग्रीमेन्ट’ भईसकेको छ,’ स्रोतले भन्यो, ‘निवेदन दिनेले सोही अनुसार दिन्छ र सिफारिस गर्नेले सोही अनुसार गर्नेछ ।’

यसअघि रिक्त प्रतिष्ठानमा उपकुलपति नियुक्त गर्न प्रतिष्ठानका कुलपति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकुलपति रहेका स्वास्थ्य मन्त्री गगन थापाको अध्यतामा तीन सदस्यीय सिफारिस समिति गठन गरेका थिए । सो समितिको सदस्यमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती र योजना आयोगका सदस्य गीताभक्त जोशी रहेका छन् ।

सो समितिले २७ पुस भित्र प्राप्त दरखास्तको अध्ययन गरि उपयुक्त व्यक्तिलाई उपकुलपति पदमा नियुक्त गर्न कुलपति समक्ष सिफारिस गर्दछ । प्रतिष्ठानको ऐनमा यति जना सिफारिस हुनुपर्छ भन्ने उल्लेख नभएपनि तीन जनाको नाम सिफारिस गर्ने चलन रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *