यसरी जोगाउन सकिन्छ कलेजो


शरीरको आन्तरिक अंगमध्ये कलेजो सबैभन्दा ठूलो अंग हो । पाचन प्रक्रियामा सबैभन्दा महत्वपूर्ण काम यसको हुन्छ । हरेक घरमा एक जना पाचनसँग समस्या भएका मानिस हुन्छन् । त्यो कलेजोका कारण उत्पन्न हुने समस्या नै हो । कतिपयलाई कब्जियतको समस्या हुन्छ, कतिपयलाई अपचको समस्या हुन्छ ।

कुनै पनि हानिकारक चिजले कलेजोलाई बिगारिदियो भने पाचन प्रक्रियामा नै खराबी हुन्छ । यसले गर्दा डकार आउने, पेट फुल्ने, ढुस्स हुने, ग्यास बन्ने समस्या हुन्छ । मनमा चिडचिडापन आउँछ । जुन कारणले मानिसको दैनिकी नै बिग्रन जान्छ । हाम्रो शरीरमा २२ फिट लामो आन्द्रा हुन्छ, त्यो आन्द्राभित्र हुने पाचनको व्यवस्था मिलाउने नै कलेजो हो ।

आफ्नै कारणले बिग्रन्छ कलेजो

कलेजोलाई बिगार्ने हामी आफैँ हौ । कलेजेको प्रमुख सत्रु भनेकै मद्यपान हो । तर, हामी यो थाहा हुँदाहुँदै पनि सेवन गरिरहेका हुन्छौँ ।कतिपय समुदायमा घरमा आफैँ रक्सी बनाउने र खाने चलन छ ।

रक्सीले राम्रो गर्दैन भन्ने पनि थाहा छ अनि उत्पादन पनि गर्दै छौ । एक त उत्पादनमा पनि खर्च लाग्यो, पछि खाएपछि उपचार गर्न पनि खर्च लाग्यो । दुवैमा हामी आफैँ बेकामको खर्च गरिरहेका छौँ । तर, यसो भन्दैमा अल्कोहल खानै नहुने होइन । औषधिमा पनि अल्कोहलको मात्रा हुन्छ । तर, त्यो अल्कोहलले मान्छेलाई खाने गरी खानु भएन ।

ठीक मात्रामा खाएको छ र कलेजोको रोग छैन भने त्यती असर गर्दैन । तर, हाम्रो समाजमा नसा लाग्नका लागि मद्यपान गरिन्छ । रक्सीले कलेजोलाई मात्र होइन, शरीरको सबै अंगलाई खराब गर्छ । यसले नसा, मस्तिष्क सबैलाई बिगार्छ । त्यसका साथै एक्सिडेन्डजस्ता घटना हुन्छ । अहिलेको पुस्तामा दूध, दही खानुको सट्टा जाँडरक्सी खाने चलन बढेको छ । जसले गर्दा युवाहरूमा नसा लत बढेर इन्जेक्सनबाट लागुपदार्थ लिने अवस्थामा पुग्छन् ।

त्यसरी इन्जेक्सनबाट लागुपदार्थ लिँदा विभिन्न किसिमका सरुवा प्राण घातक रोग सर्छ । हेपाटाइटिस बी, सी जस्तो कलेजोलाई बिगार्ने दीर्घ रोग पनि इन्जेक्सनको माध्यमबाट सर्ने गरेको पाइन्छ । अस्पतालमा उपचार गर्न आउनेहरू हेपाटाइटिसका बिरामीमध्ये ९० प्रतिशत इन्जेक्सनबाट लागुपदार्थ सेवन गर्ने पाइएको छ ।

अल्कोहोलिक लिभर डिजिज (एएलडी)

नेपालको सबैभन्दा ठूलो कलेजोको समस्या भनेकै अल्कोहलिक लिभर डिजिज (एएलडी) हो । अल्कोहल सेवन गर्नेमा कलेजो बिग्रने समस्या ८० प्रतिशत हुन्छ । नियमित जाँड रक्सी खाँदै गयो रंग फेरिदै अन्तत ९० प्रतिशतसम्म लिभर खराब हुन्छ ।

रक्सी खान छोडेमा नर्मल अवस्थामा आउँछ र औषधिले निको पार्छ । तर, रक्सी खान नछाडे फ्याब्रिक (धागोको रेसाजस्तो कडा) हुँदै जान्छ । यसलाई फ्याब्रोसिस भनिन्छ । यो अवस्थाबाट फर्काउन गाह्रो हुन्छ ।

तर, केही समयका लागि त्यही रोकथाम गर्न सकिन्छ । रक्सी थप्दै गयो भने फर्कनै नसक्ने गरी अन्तिम अवस्थामा पुग्छ । त्यसलाई हामी सिरोसिस अवस्था भन्दछौँ । यस्तो भएमा ट्रान्सप्लान्टको विकल्प छैन । यो अन्तिम चरण हो ।

कलेजोका रोगका लक्षण

  • शरीर पहेँलो हुँदै जाने
  • आँखा पहेँलो हुँदै जाने
  • हातखुट्टा सुनिने
  • माथिल्लो पेटमा समस्या हुने
  • पेट ढुस्स हुने
  • बान्ता हुने
  • अस्वाभाविक तौल घट्ने
  • कहिलेकाहीँ कुनै लक्षण नै नदेखिने हुँदा रगत परीक्षणबाट मात्र थाहा हुन्छ ।

जोगिनका लागि के गर्ने ?

  • मदिरापान छाड्ने
  • पोषणयुक्त खाना खाने
  • रोगलाई जटिल अवस्थामा पुग्न नदिने, त्यसका लागि समय–समयमा रगत परिक्षण गर्ने
  • कलेजोलाई हानि गर्ने औषधिको प्रयोग नगर्ने
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *