नेपालमै पहिलो पटक कलेजोको सफल प्रत्यारोपण

प्रत्यारोपण अघि सामुहिक तस्बिर खिचाउँदै कोरियाली र नेपाली चिकित्सक टोली, तस्बिर : डा सुधांशु केसीको फेसबुकबाट

काठमाडौँ, २३ मंसिर – नेपालमै पहिलो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा बुधबार एक ३८ बर्षीय युवामा कलेजो प्रत्यारोपण गरिएको हो ।

पहिलोपटक कलेजोको सफल प्रत्यारोपण भएको पुष्टि गरे पनि अस्पतालले विस्तृत जानकारी गराएको छैन । अस्पतालले पत्रकार सम्मेलन गरि बिस्तृत जानकारी दिने बताएको छ । स्रोतका अनुसार एक जना ३८ बर्षका कलेजो विरामी भाईलाई उनकी ४२ बर्षीया दिदीले कलेजो दान गरेकी हुन् ।

पहिलो पटकको प्रत्यारोपणमा दक्षिण कोरियास्थित सामसङ हस्पिटलबाट आएका चौध जना कोरियाली चिकित्सक सहित नेपाली टोली सहभागी थियो । कोरियाली सर्जन डा डेभिन कोनको नेतृत्वमा आाएको चिकित्सकको टोलीले बुधबार दिउँसो १२ बजेदेखि बेलुकी ८ बजेसम्म झण्डै ८ घन्टा लगाएर प्रत्यारोपण गरेको थियो । प्रत्यारोपण टिममा सहभागी एक नेपाली चिकित्सकका अनुसार कोरियाली चिकित्सकको टीमले प्रत्यारोपण गरेको बिरामीलाई एक साता सम्म हेर्नेछ ।

अंगप्रत्यारोपण नियमित तथा निशेध नियमावली २०७३ पास भएपछि नेपालमा कलेजो प्रत्यारोपणको बाटो खुलेको हो । यो नियमावली गत १६ मंसिर ( एक साता अघि)को मन्त्रिपरिषदको बैठकले पास गरेको थियो ।

बुधबारको प्रत्यारोपणमा कोरियाबाट आएका चार एनएस फिजिसियन, चार सर्जन र ६ नर्स सहभागी थिए । कलेजो रोगका नेपाली विशेषज्ञ चिकित्सक पनि शल्यक्रियामा सहभागी थिए ।

कलेजो प्रत्यारोपण गर्न नेपालीले विदेश नै जानुपर्ने बाध्यता छ । चिकित्सकहरूका अनुसार भारत, जापान, चीनलगायतका मुलुकमा गएर कलेजो प्रत्यारोपण गर्दा नेपालीले लाखौँ रुपैयाँ खर्च गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *