नेपालमा एचआईभी सङ्क्रमण घट्दो

hiv-aids

काठमाडौँ १६ मंसिर – पछिल्लो समय नेपालमा एचआईभी/एड्सको सङ्क्रमण घट्दै गएको पाइएको छ । स्वास्थ्य मन्त्रालय राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले एचआईभीको नयाँ सङ्क्रमण ८० प्रतिशतले र एड्सबाट हुने मृत्यु २२ प्रतिशतले घटेको दावी गरेको छ ।

एचआईभी/एड्स सम्बन्धमा बढ्दो जनचेतनाले गर्दा एड्सप्रति मानिसको धारणा बदलिएको स्वास्थ्य मन्त्रालय सम्बद्ध अधिकारीहरू बताउँछन् ।

केन्द्रका निर्देशक डा. तरुण पौडेलले नेपालमा सन् २०१० को तुलनामा १४६ प्रतिशतले एन्टिरेट्रोभाइरल (एआरभी) औषधिमा पहुँच बढेको जानकारी दिँदै हाल नेपालमा करिब ३९ हजार ३९७ जनामा एचआईभी सङ्क्रमण रहेको अनुमान गरिएको बताए । तीमध्ये पुरुष २४ हजार ४४९ र महिला १४ हजार ९४८ छन् । नेपालमा १५ देखि ४९ वर्ष उमेर वर्गमा ०.२ प्रतिशत एचआईभी दर रहेको जानकारी पनि डा. पौडेलले दिए ।

विश्वमा सन् २००० को तुलनामा ३५ प्रतिशतले एड्सको सङ्क्रमण दर घटेको जानकारी दिँदै डा. पौडेलले बच्चामा हुने सङ्क्रमण दर पनि ५८ प्रतिशतले कम भएको बताए।

सन् २००७ मा एचआईभी लाग्नेको सङ्ख्या नेपालमा ७० हजार सात सय थियो भने सन् २००९ सम्ममा उक्त सङ्ख्या ६३ हजार ५२८ मा झरेको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा सन् २००९ सम्ममा दर्ता भएका एड्स रोगीको सङ्ख्या १६ हजार २६२ छ ।

नेपालमा वैदेशिक रोजगारीको सिलसिलामा नेपालबाट कामदारका रूपमा जाने पुरुषहरूमा एचआईभी सङ्क्रमण बढी भएको पाइएको छ । मुख्यतया सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लाबाट छिमेकी मुलुक भारतमा काम गर्न जानेमध्ये अधिकांशले एचआईभी लिएर फर्किएका हुन्छन् । अशिक्षा र अज्ञानता नै एचआईभीको मुख्य कारण रहेको बताउँदै डा. पौडेलले भने, “गाउँभन्दा सहरी क्षेत्रमा एचआईभीको सङ्क्रमण बढ्दो छ । ”

हाल विश्वमा तीन करोड ३३ लाख मानिस एचआईभी सङ्क्रमित छन् । नेपालमा सन् १९८८ मा पहिलोपटक एचआईभी भित्रिएको हो । एचआईभी/एड्सबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष डिसेम्बर १ मा अन्तर्राष्ट्रिय एड्स दिवस मनाउने गरिन्छ । बिहीबार (आज) ‘हामी सबैको काम, एचआईभीको रोकथाम’ भन्ने नाराका विश्व एड्स दिवस मनाइदै छ । 

एचआईभी एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत् रूपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउने गरिएको हो ।

  • आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *