मिर्गौलाका बिरामीलाई आवश्यक परे जति डायलासिस आजिवन नि:शुल्क

dailasis

काठमाडौँ, २२ कात्तिक – सरकारले मिर्गौलाका बिरामीलाई आवश्यक पर्नेजति डायलाईसिस निःशुल्क उपलव्ध गराउने निर्णय गरेको छ । अहिलेसम्म बिरामीले साताको दुई पटक मात्रै डायलासिस निशुल्क पाएका छन् । साताको तीन पटक गर्नुपर्नेले एक पटकको पैसा तिर्नुपर्छ ।

मन्त्रालयको चिकित्सा सेवा महाशाखाले डायालासिस गर्ने सूचीकृत गर्ने सबै अस्पताललाई सोमबार परिपत्र गर्दै आवश्यक पर्ने जति डायलासिस निशुल्क गर्न भनेको छ ।

महाशाखा प्रमुख डा भोला श्रेष्ठले भने, ‘सरकारले निशुल्क घोषणा गरे पनि कतिपय अस्पतालले साताको दुई पटक मात्रै निशुल्क गर्ने र विरामीले त्यो भन्दा बढी गर्नुपरे पैसा तिर्नुपर्ने अवस्था आएपछि यस्तो निर्देशन दिनुपरेको हो ।’ उनले यो निर्देशन पछि सबै सूचीकृत अस्पतालमा मिर्गौलाका बिरामीले आवश्यक परेको सबै डायलासिस निशुल्क पाउने बताए ।

यसअघि स्वास्थ्यमन्त्री गगन थापाले “अब मिर्गौलाको ‘डायलासिस’ साताको तीन पटक गर्नुपरे पनि ‘फ्रि’ !” गर्नेछौँ भनेका थिए । सोही घोषणा अनुरुप नै मन्त्रालयले आज परिपत्र गरेको हो ।

सरकारले यसअघि मिर्गौलाका विरामीलाई दुई बर्षसम्म साताको दुई पटकका दरले डायलासिस निशुल्क गर्ने गरेको थियो । तर चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम घोषणा गरेको सरकारले मिर्गौलाका विरामीलाई सूचीकृत अस्पतालबाट डायलासिस सेवा आजिवन निशुल्क गर्न पाउने घोषणा गरेको थियो ।

तर सूचीकृत अस्पतालहरुले सूचीकृत अस्पतालहरुबाट साताको दुई पटकका लागि मात्रै स्वीकृति भएको भन्दै तेस्रो पटक गर्न परे पैसा लिने गर्दथे ।

मिर्गौलारोग विशेषज्ञ एवं मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले प्रत्यारोपण गर्नुपर्ने अधिकांश विरामीलाई साताको तीन पटक डायलासिस गर्नुपर्ने भएको र सरकारले दुई पटक मात्रै दिने हुँदा अलमल भएको बताए ।

उनले सोमबारको परिपत्रसंगै मिर्गौलाका बिरामीलाई थप राहत भएको बताए । ‘अब उहाँहरु ढुक्क हुनु हुने भयो । आवश्यक पर्ने जति डायलासिसको पैसा लाग्दैन,’ श्रेष्ठले भने ।

निशुल्क डायलासिस गरेवापत सूचिकृत अस्पतालले प्रति डायलासिस २ हजार पाँच सयका दरले सरकारसंग अनुदान लिने गर्छ । निशुल्क डायलासिस सेवा अहिलेसम्म देशभर ३२ वटा स्वास्थ्य संस्थाले दिदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *