उच्च रक्तचाप, महिला र अपनाउनुपर्ने सतर्कता

mutu-ra-mahila

उच्च रक्तचाप अर्थात हाई ब्लडप्रेशर मुटुसंग सम्बन्धित रोग हो । यो रोगले हिजो आज धेरै चर्चा पाएको छ । ब्लड प्रेशरले हानेर यूवावस्थामै मानिसहरुको मृत्यु भएको समाचार वेलाबखत सुन्न पाइन्छ । ब्लड प्रेशरले असर गरेको खण्डमा पक्षघात, अन्धोपन, हृदयघात, मिर्गौला फेल आदि हुन सक्छ ।

हुन त ब्लड प्रेशरको नाम नसुनेका मानिसहरु अहिले कमै होलान् । अहिले पनि संसारभर ३० वर्ष काटेका ३०% भन्दा बढी जनसंख्या ब्लडप्रेशर बढ्ने रोगबाट पीडित छन् ।

नेपालका गाउँघरहरुमा १८ वर्ष काटेका २०% जनता यो रोगबाट पीडित भएको बताइन्छ । शहर बजारको कुरा गर्ने हो भने १८ वर्ष काटेका २५–३० प्रतिशत जनतालाई ब्लड प्रेशर बढ्ने रोग छ । यसैबाट यो प्रमाणित हुन्छ कि यो रोग धेरै मानिसहरुमा छ र यस बारे सबैले थाहा पाउनु जरुरी छ ।

उच्च रक्तचाप यो यूगकै ठूलो स्वास्थ्य समस्या हो । औद्योगिकीकरण, सहरीकरण र सामाजिक आर्थिक विकासको गतिका साथ यो रोग पनि बढ्दै गएको छ । धेरै जसो अवस्थामा यो रोग आधुनिक सभ्यताद्वारा सिर्जित मानसिक तनाव र जीवनशैलीमा आएको परिवर्तनको नतिजा हो ।
यस रोगले कुनै पनि लक्षण नदेखाई शरिरका प्रमुख अंगहरु जस्तै मुटु, मिर्गौैला, दिमाग, आँखा आदिलाई एकै पल्ट झड्का दिएर क्षतिग्रस्त पार्दछ र विरामीलाई मृत्युको मुखमा पु¥याउँदछ । थाहै नदिइकन, कुनै पनि लक्षण नदेखाइकन मृत्युको मुखमा पु¥याउने भएको हुनाले उच्च रक्तचापलाई सुशुप्त हत्यारा अर्थात साइलेन्ट किलर (थाहै नदिई मार्ने रोग) को संज्ञा दिइएको हो ।

मुटु शरीरको एक महत्वपूर्ण अङ्ग हो । यो नियमित रुपले खुम्चिने र फुकिने गर्दछ । यस प्रक्रियालाई हामी मुटुको धड्कन भन्दछौं । शरीरमा रक्त संचारका लागि मुटुले एउटा पम्पको काम गर्दछ । मुटु खुम्चिने र फुकिने गर्दा रक्तनलीहरुमा उत्पन्न हुने चापलाई “रक्तचाप” अर्थात “ब्लड प्रेसर” भनिन्छ ।

स्वस्थ मानिसमा रक्तचाप १२०/८० मि.मि. वा सो भन्दा कम हुनु पर्दछ । रक्तचाप बढी भएमा रक्तनलीहरु बढी तन्किन गई फुट्न सक्छन् ।दिमाग भित्रको रक्तनली फुटे पक्षघात हुन्छ, मुटुको रक्तनली फुटे हृदयघात हुन्छ, आँखाको फुटे अन्धोपन र मिर्गौलको फुटे मिर्गौला फेल हुन्छ ।

उच्च रक्तचाप रोग भएकाहरुले कुनै पनि समयमा, विशेष गरी मानसिक तनाव भएको वेला, धेरै खुशी वा दुुःखी भएको वेला, धेरै शारिरीक श्रम गरेको वेला, धेरै रक्सी वा चुरोट पिएको वेला, धेरै चिसो हावामा हिंडेको वेला एकाएक रक्तचाप धेरै बढ्न गई माथि उल्लेख गरिएका खतरनाक अवस्थाहरु उत्पन्न हुन सक्छन् जसबाट मानिसको मृत्यु समेत हुन सक्छ ।

ब्लड प्रेशरले महिला र पुरुष भनेर भेदभाव गर्दैन । दुवैलाई यसले आफ्नो  प्रभावमा पार्छ तर महिलाहरुमा हुने उच्च रक्तचाप तथा मुटुका रोगहरु पुरुषहरुमा भन्दा केहि भिन्न भएको कुरा विशेषज्ञहरु वताउछन् । यसबारे सबैले, अझ विशेष गरी महिलाहरुले थाहा पाउनु जरुरी छ ।

नेपाली महिलाहरु अहिलेपनि धेरैजसो स्तन र पाठेघरको क्यान्सरबाट तर्सिने र यसबारे बढी सचेत हुने गरेको पाइन्छ । तर मुटुरोग बारे त्यति सचेत देखिदैनन् । वास्तवमा भन्ने हो भने महिलाहरुमा क्यान्सर भन्दा मुटु रोगको समस्या बढी छ । जति संख्यामा महिलाहरुको मुत्यु स्तन र पाठेघरको क्यान्सरबाट हुन्छ यो भन्दा १० गुना बढी संख्यामा महिलाहरुकोे मृत्यु मुटु रोगबाट हुने गरेको पाइन्छ ।

महिनावारी (मासिक रक्तश्राव) नरोकिंदा सम्म अर्थात करिव ५०–५५ वर्षको उमेरसम्म महिलाहरुको शरीरमा इस्ट्रोजेन नामक रसायन तत्व (हर्मोन) को मात्रा धेरै हुन्छ । यस रसायन तत्वले जवान महिलाहरुलाई हृदयघात हुनबाट बचाउँछ । महिनावारी रोकिए पछि महिलाहरुको शरीरमा इस्ट्रोजेन हर्मोनको मात्रा धेरै नै घट्दछ जसका कारण यस्ता महिलाहरुलाई हृदयघात हुने संभावना बढी हुन जान्छ ।

महिनावारी रोकिए पछि महिलाहरुमा मुटुसंग सम्बन्धित थुप्रै स्वास्थ्य समस्याहरु देखिन थाल्छन् । जस्तै उच्च रक्तचाप, हृदयघात, मधुमेह, उच्चरक्तकोलेस्टेरोल, मोटोपन आदी । ५५ वर्ष उमेर भन्दा माथीका धेरै महिलाहरुलाई उच्च रक्तचाप भएको देखिन्छ । यो उमेरका महिलाहरुको शरिरको तौल बढी छ, धुम्रपान गर्ने वानी छ, शारिरीक निष्कृयता छ भने उच्चरक्तचाप हुने र यसका खतरानाक नतिजाहरु देखिने संभावना अत्यधिक रहन्छ ।

अध्ययन अनुसन्धानबाट यो प्रमाणित भैसकेको छ कि पुरुषहरुमा भन्दा महिलाहरुमा मुटुरोगको आक्रमण कडा हुन्छ र यसबाट मृत्यु हुने संभावना पनि पुरुषमा भन्दा महिलामा बढी रहन्छ ।

महिला गर्भवती भएको अवस्थामा मुटु र रक्तसंचालनमा विभिन्न परिवर्तनहरु देखा पर्दछन् । यि परिवर्तनहरु गर्भधारण गरेको ५ देखि ८ हप्तामा शुरु हुन्छ, २४ हप्ता सम्ममा यी परिवर्तनहरुको असर अत्यधिक रहन्छ र वच्चा जन्मिए पछिको १ महिना सम्म कायमै रहन्छ ।

गर्भवती महिलाहरुमा रक्तसंचालनको गति बढ्छ, मुटुको धडकनको गति बढ्छ, रगतको मात्रा बढ्छ तर रक्तकणहरुको मात्रा भने घट्छ । पहिलो ३ महिनामा रक्तचाप घट्न थाल्छ, ४–५ महिना सम्ममा न्यून रहन्छ त्यसपछि रक्तचाप फेरि बढ्दै गएर ९ महिना सम्ममा पुरानै स्थितिमा फर्किन्छ ।

गर्भवती महिलाको रक्तचाप आवश्यक भन्दा बढी देखियो भने यसलाई असामान्य मानिन्छ । कतिपय स्वस्थ महिलाहरुमा गर्भधारणकै कारण रक्तचाप बढ्ने समस्या देखिन्छ । यस्ता महिलाहरुमा गर्भधारणा गरेपछि, गर्भवती अवस्था भरी, बच्चा जन्माउने वेलामा र वच्चा जन्माएको केही दिन सम्म रक्तचाप बढ्छ तर पिसावमा प्रोटिन देखिंदैन र जीउमा सूजन पनि हुंदैन । यस्तो उच्चरक्तचाप बच्चा जन्माएको १०–१५ दिन भित्र ठीक भएर जान्छ ।

उच्च रक्तचाप रोगद्वारा पीडित महिलाहरुले गर्भधारण गरेमा धेरै होस पु¥याउनु पर्ने हुन्छ किनकी गर्भवती अवस्थामा रक्तचाप धेरै बढ्यो, पिसावमा प्रोटिन देखा प¥यो र शरीर सुन्नियो भने यस्तो अवस्था बढ्दै गई छारे रोगमा जस्तै महिलाको सम्पूर्ण जीउ बटारिने र वेहोस् हुने स्थिति आउँछ । यस्तो अवस्थामा गर्भवती महिला वा पेट भित्रको वच्चा वा दुवैको मृत्यु हुन सक्छ । यो अत्यन्तै खतरनाक अवस्था हो । यसकारण उच्च रक्तचाप द्वारा पीडित महिलाहरुले गर्भधारण अगाडि र पछाडि निम्न लिखित कुराहरुमा ध्यान पु¥याउनु आवश्यक हुन्छ ।

१) उच्च रक्तचाप र गर्भधारण दुवैले मुटु र मिर्गौलालाई असर पार्ने भएको हुनाले उच्च रक्तचापद्वारा पीडित महिलाहरुले गर्भधारण अगाडी मुटु र मिर्गौलाको स्थिती कस्तो छ जंचाएर यदि ठीक छ भने मात्र गर्भधारण गर्नु उचित हुन्छ । यदि ठीक छैन भने ती अंगहरुको उपचार गराई गर्भधारणका लागि सुरक्षित अवस्थामा आएपछि मात्र गर्भधारण गर्नु पर्छ । यदि उपचार पछि पनि मुटु र मिर्गौलाको अवस्थामा सुधार आएन भने गर्भधारणा गर्नु हुंदैन ।

२) उच्च रक्तचाप नियन्त्रण गर्ने औषधी सेवन गरिरहेका महिलाहरुले गर्भधारण गर्ने वित्तिकै आफुले खाई राखेको औषधी गर्भका लागि सुरक्षित छ कि छैन चिकित्सकसंग बुझ्नु पर्ने हुन्छ। गर्भको पहिलो ३ महिना भरी कुनै पनि औषधीको सेवन नगर्नु उचित हुन्छ किनकी औषधीले भू्रणको अंग निर्माणमा नकारात्मक असर पारी जन्मजात बिकृती सहितको वच्चा जन्मिन सक्छ । यस अवधीमा औषधी नखाई रक्तचाप घटाउने उपाएहरु जस्तैः नून कम खाने, साग सब्जी, फलफुल बढी खाने, हलुका ब्यायाम गर्ने आदि विधी अपनाउनु उचित हुन्छ । यदि यसो गर्दा पनि रक्तचाप धेरै बढ्न गयो भने चिकित्सकको सिफारिसमा औषधीको सेवन गर्नु पर्दछ ।

३) गर्भावस्थामा उच्च रक्तचाप नियन्त्रण गर्ने औषधीहरु प्रयोग गर्दा ति औषधीहरु गर्भका लागि सुरक्षित छन् कि छैनन् बुझेर मात्र प्रयोग गर्नु पर्दछ ।

४) उच्च रक्तचापद्वारा पीडित महिलाले गर्भवती भएपछि कम्तिमा महिनामा १ पल्ट रक्तचाप जचाउनु पर्दछ ।

५) उच्च रक्तचापद्वारा पीडित गर्भवती महिलाको जीउ सुनिएर आयो, पिसाव कम भयो, आँखाले धमिलो देखियो भने तुरुन्त जचाउनु पर्दछ । यो अत्यन्त खतरनाक अवस्था हो ।

उच्च रक्तचाप भयो भन्दैमा कोही पनि आत्तिनु पर्दैन । यो सजिलै नियन्त्रण गर्न सकिने समस्या हो । यसको उपचार ठीक तरिकाले ग¥यो भने कुनै खतरा छैन । कतिपय उच्चरक्तचाप भएका रोगीहरु बानी पर्छ, साइड इफेक्ट हुन्छ, मिर्गौला विग्रिन्छ भनी औषधीको सेवन गर्न मान्दैनन् । उनीहरु हाम्रो समाजमा आजकाल कसैले फैलाएको गलत सूचनाबाट प्रभावित छन् । कतिपयले औषधी सेवन गरी हाले भने पनि रक्तचाप नियन्त्रणमा आए पछि औषधी सेवन बन्द गर्छन् । यसैको फलस्वरुप कसैलाई हृदयघात हुन्छ त कसैलाई पक्षघात, कसैलाई किड्नीफेल त कसैलाई अन्धोपन । यो सब लापर्वाहीका नतिजाहरु हुन् ।

नून कम खाएर, ब्यायाम गरेर, लौकाको रस, घ्यूकुमारीको रस पिएर, योग–प्राणयाम गरेर मात्र उच्च रक्तचाप नियन्त्रणमा नआउन सक्छ । यस्तो अवस्थामा औषधीको सेवन जरुरी हुन्छ ।

उपचारबाट उच्च रक्तचाप नियन्त्रणमा आउँछ तर निर्मुल भने हुंदैन । यसकारण यसको उपचार जीन्दगीभर गर्नु पर्दछ । नियमित औषधीको सेवन र स्वस्थ जीवनशैलीको अवलम्वन उच्च रक्तचापका कारण हुन सक्ने संभावित मुत्युबाट बच्नका लागि हो र सुखी जीवनयापनका लागि हो भन्ने तथ्य सबैले बुभ्mनु जरुरी छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *