तीन वर्षमा २२ हजार गरिबले लगे राज्यबाट उपचार खर्च

काठमाडौँ १० असोज  – सरकारले उपलब्ध गराउँदै आएको विपन्न नागरिक उपचार कोषबाट तीन वर्षमा २२ हजार तीन सय ४१ जनाले उपचार गराएका छन् । आर्थिक वर्ष ०७०/७१ मा आठ हजार दुई सय १३, ०७१/७२ मा ६ हजार ९५ र ०७२/७३ मा आठ हजार ३३ जनाले सरकारी उपचार खर्च पाएका हुन् ।

सबैभन्दा धेरै उपचार खर्च लानेमा क्यान्सर बिरामी

सरकारले छुट्याएका आठ प्रकारको गम्भीर रोगमध्ये सबैभन्दा बढी क्यान्सरका बिरामीले विपन्न नागरिक उपचार कोषबाट उपचार गराएका छन् । कोषअन्तर्गतको व्यवस्थापन महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार तीन वर्षमा नौ हजार तीन सय ७० जनाले क्यान्सरको उपचार गरेका छन् ।

०७०/७१ मा चार हजार ४९ जनाले उपचार खर्च लगेकोमा ०७१-७२ मा २७ सय ४४ जना र गत वर्ष २५ सय ७७ जनाले उपचार खर्च लगेका छन् । अन्य रोगको उपचार खर्च लैजानेमा घटबढ भए पनि क्यान्सरको उपचारका लागि पैसा लैजानेको संख्या क्रमशः बढ्दै गएको सचिवालयका जनस्वास्थ्यकर्मी  प्रकाश घिमिरे बताउँछन् । सरकारले क्यान्सर रोगको उपचार गराउन एक व्यक्तिलाई एकपटकका लागि एक लाख दिँदै आएको छ ।

दोस्रोमा मिर्गौला बिरामी

 विपन्न नागरिक उपचार कोषबाट उपचार खर्च लैजानेमा दोस्रो नम्बरमा मिर्गौलाका बिरामी रहेका छन् । तीन वर्ष अवधिमा ६ हजार दुई सय ६६ जना मिर्गौला रोगीले सरकारबाट पाउँदै आएको उपचार खर्च लगेका छन् ।

अघिल्लो तेस्रो वर्षमा दुई हजार ६ सय २५ जनाले उपचार खर्च लगेका थिए, त्यसैगरी दोस्रो वर्षमा त्यो संख्या घटेर एक हजार तीन सय ५४ जनामा झरेको थियो, तर गत वर्ष बढेर दुई हजार दुई सय ८७ जना पुगेको छ ।

सरकारले मिर्गौलाका बिरामीलाई तीन तहमा खर्च उपलब्ध गराउँदै आएको छ । अघिल्लो वर्षसम्म साताको दुई दिन होमोडायलोसिस सेवा निःशुल्क दिँदै आएकोमा यस वर्षदेखि आजीवन निःशुल्क गरेको छ । तर, सातामा दुईपटकभन्दा बढी गर्नेले थप व्ययभार आफैँले व्यहोर्नुपर्नेछ ।

त्यसैगरी, मिर्गौला प्रत्यारोपण गर्न चाहनेका लागि प्रत्यारोपण खर्चस्वरूप दुई लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । प्रत्यारोपणपछि सेवन गर्नुपर्ने औषधिका लागि भने एकपटकलाई एकमुष्ट एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

table1

 बढ्दै छन् मुटुका बिरामी

नेपालमा प्रत्येक वर्ष मुटुका बिरामीको संख्या बढ्दै गएको छ । महाशाखाको तथ्यांकमा प्रत्येक वर्ष मुटुरोगीको संख्या बढ्दै गएको देखिएको छ । तीन वर्षको अवधिमा ६ हजार एक सय ५८ जना मुटुका बिरामीले सरकारबाट उपचार खर्च लगेका छन् ।

आर्थिक वर्ष ०७०/७१ मा १४ सय ७८ जना मुटुका बिरामीले उपचार खर्च लगेकोमा ०७१/७२ मा १९ सय र गत वर्ष २५ सय ७७ जनाले लगेका छन् । मुटुको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई सरकारले एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ ।

१५ वर्षमुनि र ७० वर्षमाथिका बिरामीका लागि भने सरकारले औषधिसहित निःशुल्क उपचार दिँदै आएको छ ।

 सिकलसेल एनिमियाका बिरामी बढे

सरकारले आव ०७१/७२ बाट सिकलसेल एनिमियाका बिरामीलाई पनि उपचार खर्च दिन थालेको छ । पहिलो वर्ष ३९ जनाले खर्च लगेका थिए । गत वर्ष यो संख्या बढेर तीन सय ३१ जना पुगेको छ ।

हेड इन्जुरी भएका ८७, स्पाइनल इन्जुरी २७, पार्किन्सन्स १६ र अल्जाइमर्स भएका १७ बरामीले उपचार खर्च लिएका छन् ।

बढ्दै आर्थिक भार

आर्थिक वर्ष ०७१-७२ मा सरकारले कडा रोगको उपचारका लागि भनेर ४७ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, त्यति बजेटले नपुगेको भन्दै अर्को वर्षको बजेटबाट तिरेको थियो ।

गत वर्ष ७५ करोड छुट्याएकोमा नपुगेपछि थप २८ करोड माग गरेको थियो । जसमा एक अर्ब एक करोड रुपैयाँ विपन्न नागरिक उपचारका लागि खर्च भएको घिमिरे बताउँछन् ।

यस वर्षदेखि मिर्गौलाको डायलोसिस आजीवन निःशुल्क गरेकाले संख्या झनै बढ्ने उनको भनाइ छ । चालू आवका लागि सरकारले विपन्न नागरिक उपचारका लागि भनेर एक अर्ब रुपैयाँ छुट्याएको छ । यसबाहेक सरकारले पहुँचका आधारमा क्याबिनेटबाट सीधै उपचार खर्च दिँदै आएको छ ।

  • आजको नयाँ पत्रिकामा भिषा काफ्लेको समाचार
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *