प्रोष्टेट ग्रन्थी आफै जाँच्न डा. दीपक रौनियारको १७ प्रश्न !

dr-dipak-rauniyar
डा. दीपक रौनियार, कन्सलटेन्ट युरोलोजिष्ट

प्रोष्टेट ग्लाण्डमा भएको संक्रमण समयमै उपचार भएन भने लामो समयसम्म रहन्छ । त्यसलाई हामी क्रोनिक प्रोष्टाटाइटिस भन्दछौँ । त्यसको पनि सहि उपचार भयो भने ठूलो समस्या होइन तर सहि र समयमै उपचार भएन भने संक्रमण बढ्दै गएर क्यान्सरको रुप लिन सक्छ ।

पुरुष ग्रन्थी वा प्रजनन् ग्रन्थी समेत भनेर चिनिने प्रोष्टेट ग्लाण्डको समस्या दिनानुदिन बढ्दै गइरहेको छ । केही दिन अघि प्रोष्टेट ग्लाण्डमा समस्या र समाधानका उपाय बारेको जानकारी मुलक मेरो लेख नेपाली हेल्थमा प्रकाशित भएपछि यसबारेमा थुप्रै जिज्ञासाहरु प्राप्त भएका छन् ।

यसबीचमा नेपालका पूर्वराष्ट्रपति डा रामबरण यादवलाई समेत प्रोष्टेट क्यान्सर भएको खबर सार्वजनिक भयो । यसले प्रोष्टेट प्रतिको जनचासो अझ बढेर गएको पाएको छु । त्यसैले आज मैले तपाईँलाई प्रोष्टेटको बारेमा सजिलो ढंगले बुझाउने कोशिश गर्नेछु । र तपाईँलाई सोध्नेछु १७ प्रश्न । तपाईँलाई सोधिएका प्रश्नको उत्तर खोज्नुहोर प्रोष्टेटको शंका छ कि छैन् आफूलाई जाँच्नुहोस् ।

१७ प्रश्न यसप्रकार छन् :  

प्रश्न नं १. के तपाईँलाई पिसाव चाँडै चाँडै लाग्छ ?
प्रश्न नं २. तपाईँको पिसावको धारा मोटो छ कि मसिनो छ ?
प्रश्न नं ३. तपाईँको पिसावको धारा एउटै जान्छ कि छरिएर जान्छ ?
प्रश्न न ४. पिसाव पोल्छ कि पोल्दैन ?
प्रश्न नं ५. राती तपाईँ पिसाव फेर्न पटक पटक उठन पर्छ कि पर्दैन ?
प्रश्न नं ६. पिसाव लाग्ने वित्तिकै फेरिहाल्नु पर्छ कि एकछिन रोक्न सकिन्छ ?
प्रश्न नं ७. पिसाव गर्नलाई बल गर्न पर्छ कि पर्दैन ?
प्रश्न नं ८. पिसाव फेरिसकेपछि पिसाव बाँकी रहेजस्तो महसुस हुन्छ कि हुँदैन ?
प्रश्न नं ९. पिसाव लागेको जस्तो हुने तर फेर्न जाँदा कम कम हुने हुन्छ कि हुँदैन ?
प्रश्न नं १०. पिसावको रंग रातो छ कि छैन ?
प्रश्न नं ११. पिसाव गनाउछ कि गनाउदैन ?
प्रश्न नं १२. अण्डकोष दुख्छ कि दुख्दैन ?
प्रश्न नं १३. नाइटोमुनि दुख्छ कि दुख्दैन ?
प्रश्न नं १४.नाइटो देखि अण्डकोषको भाग दुख्छ कि दुख्दैन ?
प्रश्न नं १५. मलद्धार देखि अण्डकोष सम्मको भाग दुख्छ कि दुख्दैन ?
प्रश्न नं १६. बीर्य खस्दा पोल्छ कि पोल्दैन?
प्रश्न नं १७. के तपाईँलाई आफ्नो यौन शक्तिमा कमी आएको महसुस हुन थालेको छ ?

proted

अब गरौँ विषय प्रवेश , पुरुषहरुमा प्रजनन् ग्रन्थी हुन्छ । प्रजनन् ग्रन्थीलाई अग्रेजीमा प्रोष्टेट ग्लाण्ड भनिन्छ । प्रजनन् ग्रन्थी होस या प्रोष्टेट ग्लाण्डमा समस्या आयो भने माथिका १७ प्रश्नमा सोधिए जस्ता लक्षण देखिन सक्छन् । तर सबै देखिन पनि पर्दैन । माथि उल्लेख भएका दुई चारवटा लक्षण देखा परयो भने पनि प्रोष्टेटको समस्या हो कि भनेर सतर्क हुनुपर्छ ।

विदेशमा बस्नेलाई किन बढी समस्या ?

घरपरिबार छोडेर करीब ३० लाख नेपाली युवा बैदेशिक रोजगारीमा विदेशमा रहेको बताइन्छ । र प्रोष्टेटको समस्या तथा असर तिनै विदेशमा रहेका युवाहरुमा समेत देखिन थालेको छ । पाको उमेरका व्यक्तिमा हुने भनेको यो समस्या पछिल्लो समय ३०-४० बर्षकै उमेरका युवामा समेत देखिन थालेको छ । अझ भनौ प्रोष्टेटको समस्याले गर्दा हुने मुख्य असर यौन दुर्वलता युवामा बढी देखिन थालेको छ ।

प्रोष्टेटले बीर्य स्वस्थ राख्न र हुर्काउन मद्धत गर्छ ।  बीर्य त्यतिवेला नियमित रुपमा उत्पादन भइरहन्छ जतिवेला खर्च भइरहन्छ । जब बीर्य खर्च हुन छाडछ अर्थात बीर्य स्थिर रुपमा रहन्छ । र त्यसपछि मात्रै समस्या उत्पन्न हुन थाल्छ ।

यसलाई यसरी अझ यसरी बुझौँ  दुईवटा बाल्टीमा भरी भरी पानी राखिएको छ तर एउटामा दिन दिनै पोखिन्छ र नयाँ पानी हालिन्छ तर अर्कोमा पुरानो पानी परिवर्तननै गरिदैन् । अब एक महिना पछि ती दुई बाल्टीका पानी हेरौँ , दिनहुँ पानी परिवर्तन गरेको बाल्टीमा सफा हुन्छ । तर पानी परिवर्तन नगरिएको बाल्टीमा लेउ लाग्न थाल्छ । हो त्यस्तै हो बीर्य र प्रोष्टेड ग्लाण्डको सम्वन्ध पनि । जति बीर्य निस्कियो प्रोष्टेटलाई उती नै फाइदा हुन्छ ।

कसरी निस्कन्छ बीर्य ?

सामान्य त हप्ताको तीन पटक यौन स्वस्थकर मानिन्छ । त्यसबाहेक हप्ता वा दुई हप्तासम्म शारीरिक सम्पर्क गर्नुलाई पनि नराम्रो मानिहाल्नु पर्दैन तर त्यसपछि पनि भएन भने चाही प्रोष्टेटग्रन्थीको काम अबरुद्ध हुन थाल्छ ।

जब महिनौ र बर्षौसम्म सम्पर्क हुँदैन त्यसपछि ग्लाण्डमा समस्या उत्पन्न हुन थाल्छ । लामो समय बीर्य ननिस्किदा बीर्यको थैलीमा लेदो लाग्न थाल्छ ।प्रोष्टेटनजिकैको बीर्यमा जव समस्या हुन्छ त्यो समस्या तत्काल प्रोष्टेडमा सर्न सक्छ । अर्थात प्रोष्टेट ग्लाण्डमा संक्रमण हुन्छ । यदि प्रोष्टेटमा समस्या देखियो भने माथिका १७ वटा लक्षणहरुमध्ये केही न केही लक्षणहरु देखिन थाल्छ ।

तपाईलाई प्रोष्टेट ग्लाण्डमा संक्रमण अर्थात प्रोष्टाटाइटिस भयो भने तत्काल उपचार गर्नु निको मानिन्छ । किनकी यसको संक्रमण बढ्दै जाँदा क्यान्सरको खतरा पनि हुन्छ भने धेरैजसोमा यौन दुर्वलताको सम्भावना हुन्छ ।

कसरी हुन्छ प्रोष्टेट ग्ल्याण्डमा संक्रमण ?

ग्याष्ट्रिक सामान्य रोग हो यदि समयमै उपचार भयो भने तर यो रोगलाई छिप्पिन दिइयो भने त्यसले अल्सर हुँदै क्यान्सर समेत गराउछ । त्यस्तै हो प्रोष्टेट ग्ल्याण्डको समस्या पनि ।

पहिले सामान्य संक्रमण हुन्छ, समयमै उपचार भएमा सहजै निको भइहाल्छ तर गरिएन भने यो फैलदै जान्छ र अन्तमा क्यान्सर समेत निम्त्याउन सक्छ ।

लामो समयसम्म प्रोष्टेड ग्लाण्डमा संक्रमण भएर बस्छ त्यसलाई हामी क्रोनिक प्रोष्टाटाइटिस भन्दछौँ त्यो पनि ठूलो समस्या होइन यदि समयमै उपचार भयो भने । तर त्यसको पनि उपचार भएन भने पछि गएर प्रोष्टेट क्यान्सर हुन्छ ।

प्रोष्टेट ग्लाण्ड जोगाउने उपाय के के हुन ?

प्रोष्टेट ग्लाण्ड वा प्रजनन् ग्रन्थी बचाउनका लागि विभिन्न तरिका छन् र उपाय पनि छन् । शारीरिक क्रियाकलाप र फेरिएको जीवन शैलीले यसमा असर वा फाइदा पुरयाउछ । त्यसका लागि केही घरेलु उपाय पनि अपनाउन सकिन्छ ।

नियमित शारीरिक सम्पर्क (यौन सम्पर्क) : केही निश्चित समयमा बीर्य निस्कियो भने त्यसले प्रोष्टेट ग्लाण्डमा हुनसक्ने असरको सम्भावना कम गर्छ । त्यसैले नियमितरुपमा शारीरिक सम्पर्क (यौनसम्पर्क) गर्नु राम्रो मानिन्छ । मैले माथि नै भनिसके नि बाल्टी सकेसम्म दैनिक रुपमा पखाल्नुपरयो ।

२४ घण्टामा पाँच लिटर पानी : जसरी विरुवालाई हुर्काउन नियमित गोडमेल, पानी मल हालिन्छ, त्यस्तै पुरुषग्रन्थीलाई जोगाउन पनि निश्चित उपायहरु गर्नुपर्छ । त्यसका लागि नियमित पानी पिउनुस । पानी यति पिउनुसकी तपाईँको शरीरलाई जति आवश्यक हुन्छ । आवश्यकता कसरी मापन गर्ने भन्ने पनि प्रश्न उठन सक्छ ।

त्यसैले म भन्छुु सामान्य त २४ घण्टामा दुई लिटर पानी पिसावबाट जान्छ । एक लिटर पानी स्वास फेर्दा बाफ भएर जान्छ ।एक लिटर पानी छालाबाट पसिना भएर जान्छ । एक लिटर पानी दिशा गर्दा जान्छ । हो यसरी जति पानी बाहिरिन्छ त्यत्तिनै पानी हामीले पिउनुपर्छ । भनेपछि सामान्यत २४ घण्टामा पाँच लिटर खानुपरयो यदि हामी नेपालमा छौ भने । तर खाडी मुलुकमा गर्मी छ छालाबाट बढी पसिना जान्छ भने त्यहाँ बस्नेले अझै धेरै पानी खानुपरयो ।

पिसावको रङ हेरेर पनि पानीको आवश्यकता अडकल गर्न सकिन्छ । सामान्य अवस्थामा पिसावको रङ हल्का पहेलो अर्थात पानी जस्तो हुन्छ । तर त्यहि पिसावको रङ गाढा पहेलो हुन थाल्यो, धमिलो हुन थाल्यो, गन्ध देखिन थाल्यो । रातो देखिन थाल्यो भने के बुझ्नु परयो भने हामीले पानी खाएको पुगेको छैन् । पानी बढाउन आवश्यक छ । यदि तपाईँले पानी थपगर्नु भयो भने त्यसपछि पिसावको रङ पुरानै अवस्थामा आइहाल्छ । यसले पानीको मात्रा ठिक छ भन्ने बुझ्न सकिन्छ ।

पिसावको जाँच : तेस्रो, हामीले पिसावमा संक्रमण हुन दिनु भएन । कुनैपनि व्यक्टेरिया पिसावको बाटो हुँदै प्रोष्टेट ग्लाण्डसम्म पुग्यो भने प्रोष्टेड ग्लाण्डमा पनि संक्रमण हुन सक्छ । त्यो हुन नदिन बेला बेलामा पिसावको जाँच हुनुपरयो । यदि पिसावको जाँचमा व्याक्टेरिया देखियो भने तुरुन्तै व्याक्टेरिया निर्मुल पार्ने जाँच गर्नुपरयो ।

म्याग्नेसिययुक्त खानेकुरा : प्रोष्टेट ग्लाण्डका स्वस्थ राख्न केही डाइटहरु छ । प्रोष्टेट ग्लाण्डलाई हुर्काउन वा स्वस्थ राख्न म्याग्नेसियम तत्व चाहिन्छ । त्यस्तै जिंक तत्व चाहिन्छ । त्यो तत्व कहाँ केमा पाइन्छ ? ड्राईफुट्समा ।

के हो ड्राईफुट्स ? काजु, पिस्ता बदाम, एल्मण्ड, ओखर, लगायत खाद्य पदार्थ हो । त्यसैले खाडी मुलुकमा बस्ने हाम्रा दाजु भाईहरुले काजु दिनको चारपाँच वटा, पिस्ता बदाम दिनमा १० १५ वटा, ओखर दिनमा तीनवटा, र एल्मण्ड राती पानीमा भिजाउने र विहान १५ वटा खाईदिने । यी खानेकुरामा प्रसस्त म्याग्नेसियम र जिंक तत्व हुन्छ । जसले हाम्रो प्रोष्टेट ग्लाण्डलाई स्वस्थ राख्न मद्धत गर्छ ।

अर्कोकुरा बर्गर, चीज, तौलेको झानेको चिल्लो पदार्थ बढी नखाने । त्यसको सट्टा फलफुल र तरकारी खानामा जोड दिने । खाडीमा जाने नेपालीहरुको तौल बढ्नुमा खानामा बढी बोसोजन्य पदार्थ भएर पनि हो । त्यसलाई सकेसम्म नखाने र खानैपरेमा पनि कम खाने गर्नुपर्छ ।
बोइलर कुखुरा पनि सकेसम्म नखाने किनकी त्यसमा पनि औषधिको प्रयोग बढी हुन्छ ।

पिसाव स्वस्थ छ जस्तो लागेपनि एउटा जाँच गराउने र मृगौला तथा पेटको भिडियो एक्सरे पनि प्रत्येक तीन तीन महिनामा गराउने गर्नु राम्रो हुन्छ ।
प्रोष्टेट ग्लाण्ड जोगाउने घरेलु व्यायम :

प्रोष्टेट ग्लाण्ड जोगाउने अर्को घरेलु व्यायम पनि छ । त्यो कसरी गर्ने भने मलद्धारलाई माथितिर तानेर १५ सम्म गन्ने अनि छोडिदिने फेरी त्यसैगरी तान्ने अनि गनेर छाडिदिने ।

यो दिनमा ५ सय पटक भन्दा बढी गर्ने । यसो गर्दा के हुन्छ भने प्रोष्टेड ग्लाण्डमा कहिलेकाही रक्तसञ्चार राम्रो हुँदैन् । त्यो भएर यो एक्ससाइजले रक्तसञ्चार राम्रो हुन्छ । त्यहाँ अक्सिजन पुग्छ र विकारहरु हुन दिदैन । यो एक्ससाईज जतिवेला पनि गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “प्रोष्टेट ग्रन्थी आफै जाँच्न डा. दीपक रौनियारको १७ प्रश्न !

Leave a Reply

Your email address will not be published. Required fields are marked *