रोल्पामा जीर्ण भवनबाट जोखिमपूर्ण स्वास्थ्य सेवा

rolpa
(उमा के सी) रोल्पा, १४ भदौ –  हस्तान्तरण नहुँदै रोल्पा जिल्ला अस्पताल जीर्ण भएको छ । निर्माण भएको २८ वर्षसम्म पनि सो अस्पताल सरकारलाई हस्तान्तरण गरिएको छैन ।

भवन जीर्ण अवस्थामा रहेपनि जिल्ला अस्पतालले केही वर्ष पहिलेदेखि सोही स्थानबाट जोखिमपूर्ण अवस्थामा स्वास्थ्य सेवा प्रवाह गर्दै आएको छ ।

यसले बिरामी मात्र होइन उपचाररत स्वास्थ्यकर्मी समेत उच्च जोखिममा रहेका छन् । भवन कुन बेला भत्कन्छ भन्ने त्रासबीच चिकित्सकले सो जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह गरिरहेको उपचारमा संलग्न स्वास्थ्यकर्मी कुलबहादुर डाँगीले बताए ।

निर्माणकार्य सम्पन्न भएको २८ वर्षसम्म पनि हस्तान्तरण नभए पनि यसबारे सरोकारवालामा चासो नदेखिएपछि आफूहरुको पहलमा अस्पतालको सेवाप्रवाह सुरु गरिएको स्थानीय खिमबहादुर घर्तीले बताए ।

गुणस्तरीय स्वास्थ्य सेवाका लागि सुविधासम्पन्न भवन तथा अन्य स्रोतसाधनको आवश्यकता पर्ने भएपनि रोल्पा जिल्ला अस्पताल भने भित्ताभरि प्वालैप्वाल एवम् छानामा प्रयोग भएका काठ समेत गलेका कारण कतिखेर भत्कने हो भन्ने चिन्ताले बिरामी त्रसित भएको महिला स्वास्थ्य स्वयम्सेविका भावना शर्माले बताए ।

विसं २०४५ मा तत्कालीन निर्माण व्यवसायी डिल्लीबहादुर सुवेदीले ठेक्का लिएर निर्माण गरेको सो अस्पताल लामो समयसम्म बेवारिसे अवस्थामा थियो । सुवेदीले अहिलेसम्म पनि अस्पताल भवन सरकारलाई हस्तान्तरण नगरेको भएतापनि सरकारले भने सोही स्थानबाटै सेवा प्रदान गरिरहेको छ ।

भवन हस्तान्तरण नहुँदै क्षतविक्षत र रुग्ण अवस्थामा छ । अस्पतालले सामान्य र जटिल दुवै खालको प्रसूति सेवा समेत उपलब्ध गराएको छ । जटिल प्रसूति सेवा नयाँ भवनबाट प्रदान गर्ने गरिएपनि सामान्य प्रसूति सेवा भने पुरानै भवनबाटै दिइँदै आएका कारण यस्तो नियति भोग्नुपरेको हो । स्वास्थ्य केन्द्रमा प्रसूति गराउँदा नवजात शिशुलाई समेत बाह्य किरा, फट्याङ्ग्राले टोक्ने उत्तिकै खतरा रहेको प्रसूति सेवाका लागि अस्पताल पुगेकी दीपा विकले बताए।

अस्पताल हस्तान्तरण हुन नसक्नुको कारणबारे जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनश्याम आचार्यसँग प्रतिक्रिया लिँदा सरकार र निर्माण व्यवसायीबीचको समस्या भएको बताए। अस्पतालका पुराना भवन पुनःनिर्माण गर्न सम्भव नभएको हुदा नयाँ भवन निर्माणका लागि टेन्डर आह्वान गरिएको समेत उनले बताए ।

पचास श्ययाको सुविधासहित नयाँ भवन निर्माणका लागि रु ३१ करोड विनियोजन भइसकेको हुँदा तत्काल सोको टेण्डर प्रक्रियामा जान लागेको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा भवानीप्रसाद शर्माले बताए । पुरानो भवन हस्तान्तरण नहुनुको मूल कारण खोज्न निर्माण व्यवसायीसँग सम्पर्क गर्न खोज्दा फेला पार्न नसकिएको समेत उनले बताए ।

पुरानो भवन हस्तान्तरण नभएकै कारण नयाँ भवन निर्माणमा कुनै समस्या नहुने समेत शर्माको भनाइ छ । जटिल प्रकृतिका प्रसूति शल्यक्रिया समेत दिँदै आएको जिल्ला अस्पताल, रेउघामा तालिमप्राप्त थप डाक्टर नहुँदा सेवा बन्द हुने गरेको छ ।

प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक नयाँ संविधानले दिएपनि रोल्पाका नागरिकले भने जोखिमपूर्ण अवस्थामा स्वास्थ्य सेवा लिइरहेका छन् ।

हात्तीपाइले रोगको सर्भेक्षण गरिने

यसैबीच, जिल्लाका विभिन्न १० विद्यालयमा हात्तीपाइले रोगको प्रकोप सर्वेक्षण गरिने भएको छ । कक्षा १ र २ का सातदेखि आठ वर्ष उमेर समूहका विद्यार्थीमा रगत परीक्षण गरी सो रोगको अवस्था सर्वेक्षण गरिने भएको हो ।

सरकारले विसं २०६७ देखि सुरु गरेको हात्तीपाइलेको औषधि सेवन कार्यक्रम गत वर्ष छैटौँ चरण पार गरिसकेको छ । छैटौँ चरण पार गर्दासम्म औषधिको मात्र थप गर्नुपर्ने वा नपर्ने भन्ने विषयको अनुसन्धानका लागि यस्तो सर्भे गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका ईश्वरीप्रसाद पोख्रेलले जानकारी दिए ।

स्कुल अफ पिएमइआरका अनुसन्धानकर्ता राजु खनाल र ल्याब टेक्निसियन मनोजबाबु अधिकारीले आजदेखि सर्भे गर्ने भएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *