यी हुन् मुटुको इमर्जेन्सी अवस्थाहरू

- नेपाली हेल्थ
डा प्रकाशराज रेग्मी (बरिष्ट मुटुरोग विशेषज्ञ)
डा. प्रकाशराज रेग्मी
(बरिष्ट मुटुरोग विशेषज्ञ)

नेपाली हेल्थ – मुटुको इमर्जेन्सी भन्नाले त्यस्तो अवस्थालाई बुझिन्छ जुन अवस्थामा तत्काल उपचार नगरेको खण्डमा ज्यान जाने खतरा रहन्छ । मुटुले दिमाग (गिदी) लगायत शरीरका विभिन्न अङ्गहरूमा रगतको साथमा अक्सिजन, ग्लुकोज र पोषण तत्वहरूको आपूर्ति गर्छ । शरीरका लागि अत्यावश्यक वस्तुहरूको आपूर्ति रोकिएको खण्डमा सबैभन्दा पहिले दिमागमा असर पर्छ । ५ मिनेटसम्म दिमागमा अक्सिजन र ग्लुकोजको आपूर्ति बन्द भएको खण्डमा दिमागको मृत्यु हुन्छ । दिमाग मरेपछि ज्यान सकिएको मानिन्छ ।

मुटुको इमर्जेन्सी अवस्था उत्पन्न हुँदा रक्तसञ्चालनमा अवरोध उत्पन्न हुन्छ र दिमागलगायत अन्य अङ्गहरूमा अक्सिजन र ग्लुकोजको आपूर्ति घट्छ । यसप्रकार आवश्यक वस्तुहरूको आपूर्ति घट्दै जाँदा ज्यान खतरामा पर्छ । इमर्जेन्सी अवस्थामा तत्काल उपचार गर्नुपर्छ । उपचारमा कत्ति पनि ढिलाइ गर्नुहुँदैन । ढिलाइ गर्दा पछुताउनुपर्ने हुन्छ । एक पटक दिमाग मरेपछि यसलाई फेरि ब्यूँताउन सकिंदैन । ५ मिनेटअघि वा पछि भन्ने कुराले धेरै फरक पार्छ । अस्पताल पु¥याउन ढिला भएर अकालमै ज्यान गुमाउनुपरेका धेरै घटनाहरू हामीले देखेका छौं । अस्पताल समयमै पु¥याएर पनि उपचारमा ढिलाइ भई ज्यान गुमेका दुःखदायी घटनाहरू पनि हामीले देखेका छौं ।

heart_attack

यसकारण इमर्जेन्सी अवस्थामा तुरुन्त अस्पताल जानुपर्छ र अस्पतालमा पनि तुरुन्तै उपचारको सुरुआत गरिनुपर्छ भन्ने कुरा सबैले बुझ्नुपर्छ । यसैका लागि अस्पतालहरूमा इमर्जेन्सी विभाग खोलिएका हुन् । इमर्जेन्सी अवस्थामा बिरामी टिकट काटेर, लाइन बसेर डाक्टरलाई जँचाउनेतर्फ लाग्यो भने लाइन बस्दाबस्दै उसको मृत्यु हुन्छ । इमर्जेन्सी विभागको काम भनेकै यस्ता तत्काल उपचार गरिहाल्नुपर्ने रोगीहरूलाई सेवा पु¥याउने हो ।

खुट्टा वा हातको नसा काटिएर रक्तस्राव भइरहनु, झाडा–बान्ता भएर शरीरमा रक्तचाप घट्नु, पानी र लवणहरूको कमी हुनु, शरीरमा कुनै कारणवश असह्य पीडा उत्पन्न हुनु, उल्टी हुने र बेहोस हुने गरी टाउकोमा चोट लाग्नु, पेटभित्र आन्द्रा फुट्नु वा बटारिनु आदि सबै इमर्जेन्सी अवस्थाहरू हुन् ।

मुटुका इमर्जेन्सी अवस्थाहरूबारे थाहा पाइराख्नु जरुरी छ । मुटुका इमर्जेन्सी अवस्थाहरूबारे धेरैलाई जानकारी छैन । यसकारण बेस्सरी छाती दुख्दा अस्पताल जानुको सट्टा डाक्टरलाई घरमा बोलाएर जँचाउने, तातो पानी वा डाइजिनको झोल खाई एकैछिन्पछि सन्चो हुन्छ कि भन्ने आशमा घरमै आराम गरी समय बरबाद गर्ने, हातको नाडी बिस्तारै चल्ने र बेहोस हुने अवस्थामा पनि कमजोरीले हो कि भनी घरमै आराम गरी बस्ने, रक्तचाप धेरै नै बढी हुँदा पनि मलाई टाउको दुखेकै छैन भनी उपचार गर्न नमान्ने चलन आजसम्म पनि हाम्रो समाजमा व्याप्त छ । मुटुका इमर्जेन्सी अवस्थाहरूको समयमै पहिचान गरेर प्राथमिक उपचार विधि अपनाई सक्दो चाँडो अस्पतालको इमर्जेन्सी विभागमा पुग्नुपर्छ भन्ने जानकारी सबैलाई हुनु जरुरी छ । निम्नलिखित अवस्था मुटुका इमर्जेन्सी अवस्थाहरू हुन् :

१. छातीको बीच भागमा धेरै पीडा हुने

मुटु छातीको बीच भागमा हुन्छ । यस भागमा धेरै नै दुख्यो भने हृदयघातको शंका गर्नुपर्छ । हृदयघात हुँदा छातीको बीच भागमा छुरीले रोपेजस्तो, डोरीले कसेजस्तो वा ढुंगाले थिचेजस्तो पीडा हुन्छ र मरी पो हाल्छु कि भन्ने डर उत्पन्न हुन्छ । कसै–कसैलाई आगोले पोलेको जस्तो पनि हुन्छ । यो पीडा केही गर्दा पनि ठीक हुँदैन । साथमा खलखल्ती पसिना आउने र वाकवाकी लाग्ने हुन्छ ।

मुटुभित्र रगत पु¥याउने नसा बन्द भयो भने यस्तो पीडा उत्पन्न हुन्छ । यो इमर्जेन्सी अवस्था हो । छातीमा पीडा उत्पन्न हुनेबित्तिकै यसको उपचार शुरू गर्नुपर्छ । बन्द भएको नसालाई खुलाउनेतर्फ उपचार केन्द्रित हुनुपर्छ । यस्तो उपचार अस्पतालको आईसीयू÷सीसीयूमा मात्र सम्भव हुन्छ । बन्द भएको नसालाई जति चाँडो खुलाउन सकियो त्यति राम्रो हुन्छ ।

छातीमा पीडा उत्पन्न भएको १ घण्टाभित्र अस्पताल पु¥याएर उपचार शुरू गर्नु सबैभन्दा उत्तम हुन्छ । यो पहिलो १ घण्टालाई स्वर्ण घण्टा (गोल्डेन आवर) भनिन्छ । यो समयमा बन्द भएको नसा खुल्यो भने हृदयघात भए तापनि मुटुलाई क्षति पुग्नबाट पूर्णरूपले बचाउन सकिन्छ । ६ घण्टाभित्र नसालाई खुलाउन सक्यो भने सानो क्षति मात्र हुन्छ । यो भन्दा ढिला भयो भने धेरै नै ठूलो क्षति पुग्छ, मुटुको मांसपेशीको केही भाग मर्छ र मुटु सदाका लागि कमजोर भएर जान्छ । ढिला गरिएको उपचारको महत्व रहँदैन । एक पटक मुटुको मांसपेशी मरेपछि त्यो फेरि ब्यूँतिंदैन ।

heart attacke

यसकारण छाती दुख्नेबित्तिकै अस्पतालको इमर्जेन्सी विभागमा पुग्नुपर्छ । घरमै आराम गर्ने, डाक्टर घरमा बोलाउने, तातो पानी, डाइजिनको झोल खाई विचार गर्ने, तातो पानीको ब्याग छातीमा राखी विचार गर्ने, भिक्स छातीमा दल्ने आदि कार्यमा समय खर्च गर्नुहँुदैन । जतिसक्यो चाँडो अस्पताल पुग्नुपर्छ । हिँडेर वा सवारीसाधन आफैंले चलाएर अस्पताल जानुहँुदैन । यसो गर्दा खतरा हुन सक्छ । यसकारण अरूको सहयोग लिएर मोटरमा बसी अस्पताल जानुपर्छ । एम्बुलेन्स बोलाउन धेरै समय लाग्ने देखियो भने अरू नै सवारीसाधन प्रयोग गर्नु बेस हुन्छ । किनकि हृदयघातको उपचारमा समयको एकदमै ठूलो महत्व छ । मर्ने, बाँच्ने समय ढिलो–चाँडोेले निर्धारण गर्छ । घडीको सुई जति धेरै घुम्छ त्यति नै मर्ने सम्भावना बढ्दै जान्छ ।

अस्पताल जाने क्रममा रहँदा केही प्राथमिक उपचार विधिहरू अपनाउँदा बेस हुन्छ । जस्तै– एक चक्की एस्पिरिन औषधि मुखमा हालेर चुस्ने, कस्सिएको कपडा, कमर पेटी आदि फुकालेर जीउ हलुका बनाउने, टाउकोलाई केही उठाउने गरी सिरानी राखेर आरामसँग पल्टने, झ्याल–ढोका खोलेर खुला हावामा सास फेर्ने, ५ मिलिग्राम सोरविट्रेट वा आयसोड्रिल चक्की जिब्रोमुनि राख्ने, खानेकुरा केही पनि नखाने आदि । अस्पताल नपुग्दासम्म हातको नाडी छाम्दै गर्नुपर्छ । नाडी पूर्णतया बन्द भयो, हरायो र बिरामी बेहोस भयो भने छातीको मसाज र कृत्रिम श्वास दिनुपर्छ । यसो गरेर पनि बिरामीलाई ३०–४० मिनेटसम्म बचाइराख्न सकिन्छ । अस्पताल नपु¥याउँदासम्म यो कार्य जारी राख्नुपर्छ ।

२. दम धेरै बढ्ने :

मुटु फेल हुँदा दम बढ्छ । मुटुरोगीको दम बढ्नु भनेको मुटु फेल हुनु हो । दम खतराको घण्टी हो । यो आफैंमा रोग होइन । दम हार्ट फेलको महत्वपूर्ण लक्षण हो । मुटु फेल भयो भने ज्यान जान सक्छ । अलि–अलि मात्र दम बढ्ने भएको छ भने यो इमर्जेन्सी अवस्था होइन । दम धेरै नै बढ्ने भएको छ भने यो इमर्जेन्सी अवस्था हो ।

आरामसाथ बस्दा वा दुई–चार पाइला मात्र हिँड्दा पनि दम बढ्ने हुन्छ भने यसलाई हार्ट फेलको माथिल्लो अवस्था मानिन्छ । कसै–कसैलाई सुतेको केही समयमै निसास्सिएर उठ्ने, स्याँ–स्याँ हुने, बसेपछि ठीक हुने हुन्छ । पल्टिंदा दम बढ्ने, बस्दा घट्ने पनि हार्ट फेलको माथिल्लो अवस्था हो ।

यस्तो हुँदा अस्पतालको इमर्जेन्सीमा उपचारका लागि जानुपर्छ । हार्ट फेल हुँदा दमको साथमा खोकी लाग्ने, कहिलेकाहीँ कफमा रगत देखा पर्ने, दुवै खुट्टा सुन्निने हुन्छ । हार्ट फेल भएको अवस्थामा खुट्टा तल झार्ने र टाउको माथि उठाउने पोजिसनमा बस्नुपर्छ । टाउकाको पोजिसन जीउ र खुट्टाहरूको भन्दा जतिसक्दो माथि पार्नुपर्छ । २–३ वटा तकियामा आड लागेर बस्नु उत्तम हुन्छ । झोल पदार्थ पिउनुहुँदैन । पिसाब बढाउने औषधि लिनुपर्छ । अक्सिजन लिनुपर्छ र जति सक्दो चाँडो उपचारका लागि अस्पताल जानुपर्छ ।

३. मुटु धेरै छिटो वा धेरै ढिलो चल्ने :

मुटुको गति प्रतिमिनेट ६० देखि १०० हुनुपर्छ । यदि कसैको मुटु प्रतिमिनेट ४० भन्दा कम वा १५० भन्दा बढी भयो भने यो इमर्जेन्सी अवस्था हो । यस्तो अवस्थामा चक्कर लाग्ने र बेहोस हुने हुन्छ । मुटु धेरै ढिलो वा धरै छिटो चल्यो भने मुटुले राम्रोसँग पम्प गर्न सक्दैन, जसका कारण दिमागमा पर्याप्त मात्रामा रगत पुग्दैन । यसो हुँदा दिमागलाई क्षति पुग्छ । धेरै क्षति पुग्यो भने दिमाग मर्न सक्छ । जति सक्यो चाँडो मुटुको धड्कन ठीक पार्ने उपचार शुरू गर्नुपर्छ ।

प्राथमिक उपचारका रूपमा मुटु छिटो चल्दा गहिरो श्वास तानेर भित्रै रोक्ने, आँखामा चिसो पानीले भिजेको रूमाल राख्ने, घाँटीको दायाँतर्फको ठूलो नसा (केरोटिड नसा) मा मालिस गर्ने, हातका औंलाहरूलाई मुखभित्र छिराएर घाँटीसम्म पु¥याई उल्टी हुने गरी वाकवाक गराने आदि गर्नुपर्छ । यसो गर्दा छिटो–छिटो चलेको मुटु ठीक गतिमा चल्ने हुन सक्छ । मुटु धेरै छिटो चलेर बिरामी बेहोस भयो, रक्तचाप धेरै नै घट्यो, मृत्युको सम्भावना जस्तो देखियो भने ढिला नगरी दायाँ हात मुठी कसेर बेस्सरी बिरामीको छातीमाथि एक पटक बजार्नुपर्छ । यसले करेन्ट (सक) दिएजस्तै काम गर्छ । एक पटकमा नभएमा फेरि मुठीले छातीमा हिर्काउने काम दोहो¥याउनुपर्छ ।

यो कार्य निर्दयीजस्तो देखिए पनि मुटु धेरै छिटो वा ढिलो चली बेहोस भएको अवस्थामा ज्यान बचाउन सक्ने एकमात्र प्राथमिक उपचार हो । अस्पतालमा मेसिनबाट विद्युतीय झड्का मुटुमा लगाइन्छ । अस्पताल पु¥याउनुभन्दा अगाडि जोडले छातीमा बजारेको मुक्काले विद्युतीय झड्कासरह सञ्जीवनीको काम गर्न सक्छ ।

मुटुको गति बन्द हुन नदिन बिरामी आफैंले अपनाउन सक्ने महत्वपूर्ण उपाय :

हृदयघात वा अन्य कारणले मुटुको गति बन्द हुने अवस्था आयो भने चक्कर लाग्छ, बेहोस हुने स्थिति आउँछ । १० सेकेन्डभित्र प्राथमिक उपचार नगरे बेहोस भइन्छ । बिरामी एक्लै भएको समयमा यस्तो परिस्थिति आयो, साथमा कोही छैन, औषधि पनि केही छैन, तर अस्पताल धेरै टाढा छैन भने अस्पताल जाँदाजाँदै (आफैं सवारी चलाएर) एक प्रभावकारी र महत्वपूर्ण उपाय अपनाउन सकिन्छ ।

यसरी प्राथमिक उपचार गर्दा आत्तिनुहुँदैन । जोडसँग खोक्न शुरू गर्नुपर्छ । खोकी कफ निकाल्न सक्ने जति जोडका साथ हुनुपर्छ । प्रत्येक २–२ सकेन्डमा एक पटक गहिरो सास लिने र जोडसँग खोक्ने प्रयास गर्नुपर्छ । यसो गर्दा कृत्रिम श्वास र मुटुको बाहिरी मालिस (हार्ट मसाज) गर्दाको जस्तै लाभ मिल्छ । अस्पताल पुगेर उपचार शुरू नहुन्जेल सास तान्ने, जोडले खोक्ने कार्य जारी राख्नुपर्छ ।

४. रक्तचाप धेरै बढ्ने :
यदि रक्तचाप १८०/११० मि.मि. वा सोभन्दा बढी पुग्यो र साथमा चक्कर लाग्ने, छाती दुख्ने, दम बढ्ने, आँखा धमिलो देख्ने, हातखुट्टा लुलो हुने आदि कुनै पनि लक्षण देखा प¥यो भने यो इमर्जेन्सी अवस्था हो । यस्तो अवस्थामा तुरुन्त अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ । यदि रक्तचाप धेरै बढेको छ तर लक्षणहरू केही पनि छैन, बिरामीलाई कुनै तकलिफ छैन भने पनि तत्काल रक्तचाप घटाउने औषधि गर्नु जरुरी हुन्छ ।

बिरामीलाई लक्षण छैन भने घरमै बसेर डाक्टरको सल्लाहअनुसार औषधि गरे पनि हुन्छ । यदि लक्षण छ, बिरामीलाई अप्ठेरो अनुभव भइराखेको छ भने अस्पताल भर्ना भएर उपचार गर्नुपर्छ । यसकारण रक्तचाप धेरै बढ्यो भने तत्काल उपचार गर्नेतर्फ लाग्नुपर्छ, अन्यथा हृदयघात, मस्तिष्कघात, अन्धोपन, मिर्गौला फेल आदि परिणाम भोग्नुपर्ने हुन सक्छ ।

रक्तचाप बढ्दा तल उल्लिखत प्राथमिक उपचार विधि अपनाउनु उत्तम हुन्छ :

तातो पानी पिउने, नुन नखाने, खुट्टा झुन्ड्याउने र टाउको माथि पारेर २–३ वटा तकियाको आड लागेर आरामसँग बस्ने, आँखा बन्द गर्ने, निधारमा चिसो रुमाल भिजाएर राख्ने, कोठाको रेडियो, टिभी आदि हल्ला हुने चीज जति सबै बन्द गर्ने, रक्तचाप घटाउने कुनै औषधि, पिसाब बढाउने औषधि वा निद्रा लगाउने ट्रयाङ्कुलाइजर साथमा भए १ चक्की खाने आदि कार्य गर्नुपर्छ । रक्तचाप घटाउनका लागि भने डिपिन ५ मि. ग्रा. औषधि मुखमा राखेर चुस्ने गर्नु लाभदायक मानिन्छ ।

Loading...