अधिकारसम्पन्न चिकित्सा शिक्षा आयोगले आजबाट काम सुरु गर्दै , डा. केसी अल्मलिए

dr bhagawanनेपाली हेल्थ /काठमाडौँ -सरकारले शुक्रबार गठन गरेको उच्चस्तरीय चिकित्सा शिक्षा आयोगले सोमबार(आज)बाट औपचारिक रुपमा काम थाल्ने भएको छ । आयोगका पदाधिकारीलाई सरकारले हिजो आइतबार नियुक्तिको पत्र दिएपछि आजबाट काम सुरु गर्न लागेको हो ।

आयोगका कार्यकारी निर्देशक प्राडा भगवान कोइरालाले आज दिउसो शिक्षा मन्त्रालयमा आयोगको पहिलो औपचारिक बैठक बस्न लागेको जानकारी दिए । नेपाली हेल्थसंग कुरा गर्दै उनले बैठकको एजेण्डा ऐन तथा नियम बनाउने कार्यमा केन्द्रीत रहने बताए ।

‘हामीलाई धेरै अधिकार दिइएको छैन । नीति बनाउने जिम्मेबारी दिइएको छ । हामी त्यसैमा केन्द्रीत हुन्छौँ । हिजो अनौपचारिक छलफल भयो आज औपचारिक बैठक बस्दैछ । आयोगले आजैबाट कामको थालनी गरयो भन्दा हुन्छ ‘  नेपाली हेल्थसंग डा कोइरालाले भने ।

उनले आयोगको कार्यालयको खोजी भइरहेको भन्दै तत्कालका लागि शिक्षा मन्त्रालयमा बसेर काम गर्न लागेको जानकारी दिए । ‘हामी कार्यालयको खोजी सुरु गरेका छौँ । त्यो नहुँदासम्म शिक्षामन्त्रालयबाट काम सुरु गर्नेछौँ ।’

डा केसी अल्मलिए

सोमबारबाट आमरण अनसन बस्ने घोषणा गरेका प्राडा गोविन्द केसीले अनसन सुरु गर्ने कि नगर्ने भन्ने विषयमा अझै निर्णय लिएका छैनन् । आइतबार मात्रै ४४ जना नागरिक अगुवाले सरकार र संसदलाई प्रतिष्ठान विधेयक फिर्ता लिन र डा केसीलाई पनि तत्कालको अनसन कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए । सो आग्रह पछि केसीले अनसन जारी सुरु गर्ने आफ्नो पूर्वघोषित कार्यक्रममा पुर्नविचार हुन सक्ने बताएका छन् ।

सोमबार विहान नेपाली हेल्थसंग कुरा गर्दै डा केसीले बेलुका चार बजेसम्म निर्णय लिने बताए । उनले भने, ‘स्वतन्त्र बुद्धिजिवी तथा नागरिक अगुवाहरुले हिजो विज्ञप्ती निकालेर अनसन तत्कालका लागि स्थगित गर्न भन्नु भएको छ । यसले गर्दा म अहिले छलफलकै क्रममा छु । अनसन बस्ने वा नबस्ने भन्ने विषयमा चार बजे निधो हुनेछ ।’

मनमोहनमा बैठक

प्रतिष्ठान बनाउने विधेयकमा समेत चर्को विरोध भएपछि प्रस्तावित मनमोहन मेडिकल कलेज शिक्षण अस्पतालले सबै सेयर सदस्यलाई आकस्मिक बैठक बोलाएको छ ।

सितापाइलास्थित अस्पतालमा हुने बैठकमा विधेयकको विरोधको अवस्थालाई कसरी सामना गर्ने भन्ने विषयमा सेयर सदस्यसंग छलफल गर्ने तयारी गरको छ ।

आज बैठक बस्दैछ त्यसपछि त्यसपछि मात्रै के गर्ने कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुन्छ । एक सदस्यले नेपाली हेल्थलाई बताए । सहकारीको रुपमा सञ्चालन गर्न लागेको प्रस्तावित कलेजमा २ हजार ४ सय बढी सेयर सदस्य छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *